गुट्खा, सुर्तीमुक्त टोल अभियान सकारात्मक

घोराही–१५ स्थित विकास नगर टोल विकास संस्थाले आफ्नो टोललाई गुटखा, सुर्तीजन्य मुक्त टोलकारुपमा घोषणा गरेको छ । टोलभित्र यसको बेचबिखन देखि प्रयोगसम्मका कार्यलाई पूर्णरुपले सफल बनाउने उद्देश्यले विकास नगर टोलले विभिन्न योजना समेत बनाएको छ । टोलको समग्र विकासका लागि उदाहरणीय निर्णय गर्न सफल विकास नगर टोल विकास संस्थालाई नमूना योग्य कार्यको सुरुवात गरेकोमा शुभकामना छ ।

यसलाई कार्यान्वयन गर्ने सवालमा टोल विकास संस्था र यसमा बसोबास गर्ने नागरिकले पूर्णरुपमा तदारुकता देखाएको खण्डमा यो अभियान केही समयमा नै नगर, जिल्ला, प्रदेश हुँदै मुलुकभर फैलनेछ भन्नेमा दुईमत छैन ।

गुट्खा र सुर्तीजन्य बस्तु सेवन मानव शरिरका लागि मन्दविष हो । यसको प्रयोगले मान्छेमा अनेकन रोगहरु लाग्न सुरु गर्दछ । पछिल्ला दिनहरुमा क्यान्सर रोगबाट पीडितहरुको संख्या बढि रहेको छ । यो पनि यी र यस्तै बस्तुको प्रयोगले बढ्न सुरु गरेको हो । गुट्खा र सुर्ती सेवन स्वास्थ्यका हिसाबले मात्र होइन सरसफाईका दृष्टिकोणले पनि हानिकारक छ ।

सडक, गल्ली, बजार, गाउँ चारैतिर यतिबेला गुट्खा सुर्तीकै खोलहरुका कारण फोहोरी बनेका छन् । गुट्खा सुर्तीका खोलहरुले खेती योग्य जमीनको उर्वराशक्ति समेत ह्रास बनाएको अवस्था छ । व्यापकरुपमा यसको प्रयोग बढ्दै गएकाले वातावरण प्रदुषण, जलवायु परिवर्तनलगायतका कार्यमा पनि गुट्खा, सुर्तीजन्य बस्तुको खोलले काम गरेको छ ।
सबै तरहले हानि पु¥याउने गुट्खाको प्रयोग सबै कुराले हानिकारक छ ।

यसलाई निरुत्साहित गर्न जरुरी छ । बिक्री वितरणको हिसाबले यसमा लगानी लागेको हुन सक्छ, फाइदा पनि जोडिएको हुन्छ । तर मृत्यु बेचेर गरिएको फाइदले मनलाई कति सन्तुष्टि दिन्छ भन्ने कुराको पनि हेक्का राख्नुपर्छ । पैसा नै सबै कुरा होइन । व्यवसाय गर्नेले अरु क्षेत्रमा पनि लागनी लाउन सक्छ । तसर्थ सुर्ती गुट्खा उत्पादन गर्ने उद्योग छ भने यसलाई मुवाव्जा दिएर भएपनि बन्द गर्ने काम सरकारले नै गर्नुपर्छ ।

घोराहीको विकास नगर टोल विकास संस्थाले सुरु गरेको गुट्खा मुक्त अभियानलाई सबै टोलले अनुसरण गर्न अब ढिलाई गर्नु हुँदैन । यसलाई घोराही नगरले पनि क्रमशः टोल विकास संस्थाहरुसँग छलफल गरेर नगरमा लागु गर्नुपर्छ । कुनै पनि कार्यको सुरुवात पहिलो पाइलाबाट नै हुने गर्दछ ।

यस मानेमा आज विकास नगर टोलले सुरु गरेको यो कार्य भोलिका दिनमा सिंगो नगरको महाअभियान बन्न सक्छ, बन्नुपर्छ । नयाँ कार्यको सुरुवात गर्दा कहिले काँही समस्याहरु आउँछन्, चुनौती पनि हुन्छ, तर आत्तिने र थाक्ने काम अभियानकर्मीहरुले कहिल्यै गर्नु हुँदैन । सकारात्मक दृष्टिकोणबाट सुरु भएको अभियान सार्थक हुनेछ भन्नेमा कुनै दुबिधा छैन ।

मृत्यु बाँडि रहेको कार्य रोक्नका लागि आँट, साहस अनि कर्तव्य सम्झने विकास नगर टोल बधाईको पात्र छ । यो अभियानको सार्थकता अनि सफलताको शुभकामना ।
सविन प्रियासन
(संयोजक)
घोराही बनाऔं अभियान