घोराहीमा रात्रीकालिन व्यवसायको औचित्य, महत्व र आवश्यकता

सविन प्रियासन
दाङको दशवटै पालिका मध्य लमहीको बसपार्क क्षेत्रमा अहिले पनि रात्रीकालिन व्यवसाय चलि रहेको छ । विशेष गरी बसमा सवार यात्रुहरुलाई लक्षित गरेर रातैभर त्यहाँ व्यवसाय हुने गर्दछ । यस बाहेक दाङका अधिकांश बजारहरु समसाझै बन्द हुने गर्दछन् । शान्ति सुरक्षाको दृष्टिकोणलाई देखाउँदै होटल, बारहरु राती दशबजेसम्म सञ्चालन भएपनि यसको सञ्चालनको सवालमा सम्बन्धित व्यवसायीहरुले थुप्रै चुनौतीहरु सामना गर्नुपरिरहेको छ ।

यी र यावत कुराहरुलाई मध्यनजर गर्दै घोराहीको १४ र १५ वडामा निमाहल रोडमा रहेको सिद्धार्थ गौतम नगर टोल विकास संस्थाले रात्रीकालिन व्यवसायको सुरुवात गर्नका लागि तीनदिने कार्यक्रमको आयोजना गरेको छ । शनिबार साँझ कार्यक्रमको उद्घाटन भव्यरुपमा भएको छ । घोराही नगरका प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा डिसीलगायतका शिष्ट, विशिष्ठहरुको सहभागिता रहेको कार्यक्रमको निष्कर्ष रात्रीकालिन व्यवसायलाई व्यवस्थित, मर्यादित बनाउँदै सञ्चालन गर्न सकियो भने यसले समृद्धि र विकासमा ठूलो अर्थ राख्ने निकालिएको छ ।

सिद्धार्थ गौतम नगर टोलले समाजमा आफूलाई नयाँ ढंगबाट स्थापित गरिरहेको छ । यस अगाडी पनि प्रदेशको राजधानी दाङमै हुनुपर्छ भनेर औपचारिक निर्णय गरेको यही टोल विकास संस्था हो । उसले निर्णय गरेपछि दाङ प्रादेशिक राजधानी सरोकार समिति गठन गरेर यो अभियानलाई अगाडी बढाइएको थियो । सरोकार समितिको सदस्य सचिवको हैसियतले यो टोल विकास संस्थासँग राजधानी दाङलाई बनाउन सवालमा धेरैपटक छलफल भएको छ । अभियानले जेजस्तो भएपनि बुटवलमा भएको अस्थायी मुकामलाई दाङ देउखुरी भ्यालीमा तोक्नका लागि राजनीतिक नेतृत्वलाई आफ्नो तर्फबाट सहयोगी भूमिका खेलेको थियो ।

सधैभरी नयाँ नयाँ विषयको उठान गर्न सफल सिद्धार्थ गौतम नगर टोल विकास संस्थाले यस पटक यस क्षेत्रकै आवश्यक वषय बनेको रात्रीकालिन व्यवसाय सञ्चालन हुनुपर्छ भन्ने महत्वपूर्ण कुरालाई सुरुवात गरेको छ । यस विषयमा सबै सकारात्मक बनेर ठोस योजना बनाउन सकियो भने रात्रीकालिन व्यवसायलाई मूर्तरुपम दिन सकिनेछ । आम्दानीसँग जोडिएको यो विषयले घोराही क्षेत्रलाई चलायमान बनाउनका लागि पनि महत्वपूर्ण कार्य गर्नेछ । यसको लागि स्थानीय पालिका, यहाँका सरोकारवाला निकाय सबैले हातेमालो गर्न जरुरी देखिन्छ । यतिबेला व्यक्तिगतरुपमा म घोराही बनाऔं अभियान सञ्चालन गरेर अगाडी बढेकाले घोराहीको समग्र विकास त्यतिबेला सम्भव छ, जतिबेला यहाँ रातदिन निर्वाद रुपमा व्यापार व्यवसाय हुन पाउँछ । विदेशका विकसित शहरहरु पनि दिउँसो मात्र व्यवसाय गरेर समृद्ध बनेका होइनन् । यसको लागि रातदिन श्रम, अनि व्यवसाय अनिवार्य छ । नयाँ विषयको उठान गरेकोमा घोराही बनाऔं अभियानको तर्फबाट सिद्धार्थ गौतम नगर टोल विकास संस्थालाई धन्यवाद ।

घोराही उपमहागरपालिका देशकै ठूलो उपमहागर मध्यको एक हो । यसको जनसंख्या पनि २ लाख बढि छ । जनसंख्याको हिसाबमा पनि यो अधिक हो । १९ वटा वडामा फैलिएको घोराही उपमहागर पछिल्ला दिनहरुमा कामकाजी उपमहागरमा पर्दछ । केही रोडहरु बाहेक यहाँका बजार अनि बजारसँग जोडिएका धेरैजसो गाउँसम्म पुग्ने सडकहरु भाइरल रोडकारुपमा चर्चित छन् । घोराही बजारभित्रै पर्ने फोरलेन सडक भने उपमहागरको मातहतमा नभएका कारण अहिले पनि बिजोग अवस्थामा छ । कुइरेपानी देखि सर्रा निस्कने दामोदर मार्ग प्रदेश सरकारले निर्माण आरम्भ गरेको भएपनि अहिलेसम्म पुरा हुन सकेको छैन । यस बाहेक घोराही बजारभित्रका केही सडकहरुको निर्माण कार्यमा पालिकाले तदारुकता देखाउन सकेमा घोराहीको मुहार धेरै हदसम्म राम्रो हुनेदेखिन्छ ।

घोराहीको ट्राफिकचोक देखि निमाहल रोड र वरपरका सहायक बाटोहरुसँग जोडिएको सिद्धार्थ गौतम नगर टोलले यतिबेला आफ्नो क्षेत्रलाई घोराहीकै नमूना सडककारुपमा विकास गर्न खोजि रहेको छ । यतिबेला उक्त टोल विकास संस्थामा रहेका सडकहरु दिउँसो होस वा साँझ हिँड्दा सबैलाई आकर्षण गर्न सफल छन् । तर यो आकर्षण र सौन्दर्यतालाई व्यवस्थित गर्दै उत्पादन र आयसँग जोड्नकै लागि टोल विकास संस्थाले रात्रीकालिन व्यवसायको परिकल्पना गरेको होला ? तसर्थ उक्त टोल विकास संस्साले गरेको परिकल्पनालाई स्थानीय पालिकाले नीतिगतरुपमा निर्णय गर्दै घोराहीकै आवश्यकता बनेको रात्रीकालिन व्यवसायको प्रवद्र्धनमा जोड दिनैपर्छ ।

घोराहीको ट्राफिक चोकदेखि बसपार्कसम्मको क्षेत्र रात्रीकालिन व्यवसाय सहजरुपमा सञ्चालन सकिने अवस्थामा छन् । भूगोलका हिसाबले पनि यी क्षेत्रहरुमा विशेष योजना निर्माण गरी पालिका अगाडी बढेको खण्डमा घोराहीमा समसाझै सुनसान हुने अवस्थाबाट मुक्ति पाइनेछ । रातदिन मान्छेहरुको चहलपहल हुने गरी व्यवसायीक कदम अगाडी बढाउन सकेमा यहाँका मानिसहरुको आम्दानी पनि बढ्नेछ । यस्तो भयो भने घोराहीको आकर्षण पनि अन्य क्षेत्रमा पर्नेछ ।

सिद्धार्थ गौतम नगर टोल विकास संस्थाले नयाँ विषयको उठान गरिरहँदा यहाँ व्यवसायीक क्षेत्रको नेतृत्व गर्ने दाङ जिल्ला उद्योग वाणिज्य संघ र च्याम्बरहरुले उक्त टोल विकास संस्था ले अगाडी बढाएको कदममा सार्थक योजना ल्याएर अगाडी बढ्न जरुरी देखिन्छ । बजार क्षेत्रको सौन्दर्यता बढाउने, बजार व्यवस्थित गर्ने, सरसफाईयुक्त बनाउने, बजारलाई स्मार्ट बनाउनका लागि अपनाउनुपर्ने सबै खाले कार्यहरु गर्ने, सिसीटिभीलगायतका अत्यावश्यक उपकरणहरु अनिवार्य जडान गर्ने, निगरानी गर्ने, शान्ति सुरक्षा कायम गर्न व्यवसायीहरुको संस्थाहरुले स्थानीय पालिका, यहाँको प्रहरी प्रशासनसँग समन्वय गरेर अन्य सरोकारवाला निकायहरुसँग पनि हातेमालो गर्दै प्रभावकारी योजना बनाउन सकेमा घोराहीमा आवश्यक बनेको रात्रीकालिन व्यवसायलाई अगाडी बढाउन सकिन्छ ।

विभिन्न कारणले मुलुकको आर्थिक अवस्था यतिबेला सन्तोष जनक छैन । व्यापार व्यवसाय एकप्रकारले मन्द छ । समाज निराशाको भुमरीमा पिल्सदै गएको छ । निराशा सबै थोकको समाधान होइन । निराशाको अन्धकारबाट आशाको दियो बाल्नका लागि अब सबै जुरमुराउने समय आएको छ । चारैतिर उत्साहको किरण फैलाउनका लागि टोलटोलबाट नयाँ अनि सिर्जनशील सोँचहरु अगाडी सार्दै समाजमा उत्साह थप्ने किसिमका कार्यहरु गर्न सकेमा मुलुक नयाँ ढंगबाट विकास र समृद्धिको मार्गमा अगाडी बढ्नेछ । कसैलाई गाली गरेर समाजलाई चलाएमान बनाउन सकिदैन । समाजमा रहेका सबै तह र तप्तका आ–आफ्नो ठाउँबाट उत्साहित भएर सतकर्ममा लाग्ने हो भने समाज स्वतह प्रगतिपथमा लम्कन्छ ।

मुलुकको समृद्धि र विकासका लागि तीनै तहका सरकारहरु कामकाजी बन्न जरुरी छ । हामीले जिताएर पठाएका जनप्रतिनिधिहरुलाई जिम्मेवार बनाउने सवालमा पनि अब यहाँका सबै टोल विकास संस्थाहरुले दबाब अनि जागरणको भूमिका खेल्नुपर्छ । समाजलाई चलाएमान बनाउनका लागि सबैले आफ्नो तर्फबाट काम गर्ने हो भने घोराहीलाई भोलिका दिनमा हामीले चौबिसै घण्टा व्यापार व्यवसाय हुने व्यवसायीक हबकारुपमा विकास गर्न सक्छौ ।

सिद्धार्थ गौतम नगर टोल विकास संस्थाले सामाजिक कार्यहरुमा पनि आफूलाई सधैभरी जोडि रहेको छ । यसका लागि यो टोल विकास संस्था बधाईको पत्र छ । घोराही बनाऔं अभियानले खोजेको पनि यहाँका सबै नागरिक, टोल, समाज, वडाहरु जागरुक बनुन्, पालिका समृद्ध, विकसित अनि सुशासनसहितको बनोस् भन्ने नै हो ।

यसका लागि नगरप्रमुख देखि यहाँका सर्वसाधारण नागरिक, संस्थाहरुले पनि आफ्नो कर्तव्य र जिम्मेवारीलाई इमान्दारिताका साथ बोध गर्दै अगाडी बढि रहनुको विकल्प छैन ।
(संयोजक, घोराही बनाऔं अभियान)