भिआइपीहरुको विदेश भ्रमण, उपलव्धी कि आर्थिक भार ?

सविन प्रियासन

२०८० पुस ५ गते बिहीबार अनलाइन खबरले प्रधानमन्त्री चीन र अमेरिका भ्रमण जाँदा ५ करोड बढि रकम खर्च भएको समाचार प्रकाशित गरेको छ । उहाँ प्रतिनिधि पात्र मात्र हो । राज्यको ढुकुटि रित्याएर यसरी बिदेश जानेहरुमा उच्च अहोदामा बस्ने सयौ छन् । जसले यो वर्षमात्र अहिलेसम्म अरबौ खर्च गरिसकेका छन् । तर दुःखका साथ भन्नुपर्छ, बिदेश भ्रमणमा गएकाहरुले अहिलेसम्म मुलुकको लाभ हुने गतिलो काम गरेका छैनन् ।

यदि गर्थे भने आज दैनिकरुपमा हजारौ युवाहरु बिदेश जाने ठाउँमा राज्यले खोलेको मल उद्योग, ठूलाठूला हाइड्रो पावर, उन्नत कृषि, व्यवस्थित पशुपालन, जडिबुटि प्रशोधनलगायतको काममा खुलेका उद्योगहरुमा श्रम गरिरहेका हुन्थे । विद्यार्थीहरु विषयगत विद्यालयमा अध्ययन गरेर सबै क्षेत्रमा विज्ञ, दक्ष विद्यार्थी उत्पादन भैरहेका हुन्थे । गुणस्तरीय स्वास्थ्य सेवा गाउँगाउँमा हुने थियो । सडक, हवाई यातायातको पहुँचबाट सबै क्षेत्र, जिल्ला लाभान्वित हुने थियो । नेपालमा भारतका केही प्रदेशबाट काम गर्न आए जस्तै विदेशका विभिन्न मुलुकबाट नेपालमा काम खोज्न अहिलेसम्म आउने थिए ।

प्रधानमन्त्री देखि नेतागणसम्म छिमेकी मुलुक भारत, चीन हुँदै अमेरिकासम्म उहिल्यैदेखि गएको गयै हुनुहुन्छ । बिदेश भ्रमणमा जाने सबैसँग म अनुरोध गर्न चाहन्छु, त्यहाँ हजुरहरु बिदेश गएको लिस्टमा देशको संख्या बढाउन जानु हुन्छ कि ? समुन्द्रमा सेल्फी खिच्न जानहुन्छ ? यदि केही सिक्न जानु हुन्छ भने किन नेपालमा आएर मुलुकलाई समृद्ध, विकसित बनाउने सवालमा हजुरहरुको ध्यान पुगेको छैन ?
कोरोना पछि अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान, चीनलगायतका अधिकांश मुलुकले आर्थिक अवस्था कसरी सुधार गरे भन्ने कुरा खै हजुरहरुले सिकेको ?

जनतासँग अनेक नाममा कर अनुसलेर मुलुक सञ्चालन गर्ने अर्थात तलभ भत्ताको जोहो गर्ने भन्दा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि उत्पादानमुखी परियोजना बनाएर लोककल्याणकारी राज्य निर्माण गर्ने काम राज्यले गर्नु पर्ने होइन र ?
बिदेशका सबै जसो मुलुकले कर संकलनलाई गौण बनाएर उत्पादनमा जोड दिएको त्यहाँ जाँदा हजुरहरुले अध्ययन गर्नु भएको छैन र ? यदि गर्नु भएको छैन भने किन विदेश जानु हुन्छ ?

सबैलाई कामकाजी बनाउने योजना निर्माण गर्ने सवालमा पदमा बस्नेहरुको गाम्भीयर्ता, चिन्तन् अनि दक्षता कहिले देख्न पाइने हो । पदिय जिम्मेवारी के हो ? पद अनि पावरले समाज परिवर्तनका लागि के गर्न सकिन्छ भन्ने कुरा किन हजुरहरुले बिर्सनु भएको छ ? नीति निर्माण गर्ने तहमा बस्नु भएका सबैजना जागीरे मानसिकताबाट कहिले मुक्त हुनुहुन्छ ? के तपाईहरुसँग देश बनाउने योजना छैन अथवा थाहा पाइपाई हजुरहरु निदाउनु भएको छ ।

शिक्षाले सबै क्षेत्रको विकास गर्न सक्छ । तर नेपालको शिक्षा क्षेत्र खिचडी जस्तै बनेको छ । खिचडी शिक्षण सिकाई प्राणलिमा कैद नेपाली शिक्षालाई बिदेशमा जस्तै कामकाजी, विषयगत शिक्षामा ढाल्नका लागि किन नेतृत्वज्यूहरुको ध्यान जाँदैन ?
खेल क्षेत्रको विकासले सिंगो मुलुकको विकास गर्न सकछ । तर खेल क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणसँगै खेल शिक्षालाई लागू गरेर सबै खेलमा सानैदेखि दक्ष बनाउने योजना नेपालमा कहिले देखि लागु हुने हो ?

नेपाल कृषि प्रधान देश हो । तर आजसम्म मल उद्योग बनाउन किन सकिएको छैन । वैज्ञानिक कृषि प्रणालि, चकलाबन्दी गरेर खेती गर्ने परिपाटीको विकास, उन्नत बिउबिजनको स्वदेशमै पर्याप्तता, प्रशस्त आधुनिक कृषि औजारहरु कहिलेसम्म बाहिरी देशबाट किनेर ल्याउने त्यो पनि समयमा नपाइने अवस्थाबाट मुलुकलाई छुटकारा दिलाउन नेतृत्व वर्गमा बस्नु भएकाहरुले कहिले काम गर्नु हुन्छ ?
सरसर्ति हेर्दा कुनै पनि क्षेत्रको दिल खोलेर प्रशंशा गर्ने अवस्था छैन । सम्बन्धित क्षेत्रमा दखल दिनेहरु पनि काम चलाउ पाराबाट अगाडी बढ्ने, साँघुरो घेरामा सिमित हुने, केही गर्छु, मेरो पालामा केही गरेर देखाउनुपर्छ, आफ्नो क्षेत्रको विकास मेरै पालामा हुनुपर्छ भन्ने चिन्तन् किन कोहीमा विकास हुन सकेको छैन ?

ढिलो काम हुँदा, ढिलो हिँडदा समाजमा कछुवाको गति भनेर टिप्पणी गर्ने गरिन्छ । बेकारमा समाजमा यतिबेला ढिलो काम हुँदा, ढिलो हिँड्दा कछुवा बदनाम भैरहेको छ जस्तो लाग्छ । मेरो विचारमा अहिलेको विकास अनि यसलाई हाँक्ने सोँच एवं योजनाहरु कछुवा भन्दा पनि धेरै सुस्त केही हिँड्छ भने त्यही गतिमा अगाडी बढि रहेको छ । यस्तो पारा अनि कार्ययोजनाले मुलुक बन्नै सक्दैन । गतिवान खरायो भन्दा पनि गतिशिल बनेर मुलुकको विकास गर्ने सोँच, कार्यक्रम, नीति, बजेट अनि कार्यशैलि नेतृत्वले निर्माण गर्ने यसको साथसाथै पदिय जिम्मेवारीमा रहेका सबैजना अघि बढ्ने हो भने मुलुकको विकास सम्भव छ । यतिबेला २०८४ सम्मका लागि तीन तहमा योजना र कार्यक्रम बनाउने जनप्रतिनिधिहरु स्थानीय देखि केन्द्रसम्म छरिएका छन् । स्थानीय सरकारको अवधि अब ३ वर्ष ४ महिना बाँकी छ । प्रदेश अनि संघीय सांसदको अवधि ४ वर्ष छ । सबैजना जनप्रतिनिधिहरु विकासको भोगि हुने हो भने यो अवधिमा नेपाललाई समृद्धि र विकासको सवालमा धेरै माथि ल्याउन सकिन्छ । एकएक दिनको महत्व धेरै छ । जनप्रतिनिधिहरु कामकाजी बनेमा कर्मचारी प्रशासन पनि कामकाजी नै बन्छ ।

लोभलालचबाट मुक्त बनेर सबैले जिम्मेवारी वहन गर्न लागि पर्ने हो भने मुलुकलाई सातआठ वर्षमा नै आत्मनिर्भर बनाउन सकिन्छ । तसर्थ सम्पूर्ण जो जहाँ छ, जुन पदीय जिम्मेवारीमा छ, सबैलाई अनुरोध छ, हजुरहरुको क्रियाशिलता, सक्षमता, जोश, जाँगर अनि केही गरेर देखाउँछु भन्ने हुटहुटिले समाजलाई बनाउँन सक्छ, टोल, वडा, पालिका, जिल्ला, प्रदेश अनि मुलुक बनाउन यदि साँचै भन्दा जनप्रतिनिधिहरु कसिए भने मुलुकलाई विकासको उच्चतम बिन्दुमा लैजान सकिन्छ । हजुरहरु कामकाजी बन्नु भयो भने स्वाभाविकरुपमा भोलिका दिनमा अहिले भन्दा पनि उच्च अहोदाको पदमा पुग्नु हुनेछ । जनताले हजुरहरुको प्रशंशा गरेरै थाक्ने छैनन् ।

यदि अहिलेकै पाराबाट कार्यशैलिबाट काम गर्ने हो भने भोलिका दिनमा जनताले चोकचोकमा व्यक्तिगतरुपमा पनि धारेहात लगाउन बेर गर्नेछैनन् । भोलिका दिनमा उच्च अहोदामा पुग्नेकि धारहात लगाई माग्ने, एकप्रकारले भन्ने हो भने जनताबाट तिरस्कृत हुने भन्ने कुराको सुझबुझ स्वय सबै जनप्रतिनिधिहरुले गर्नुपर्छ ।
जनताको पक्षमा, विकास निर्माणको सवालमा केही जनप्रतिनिधिहरु प्रशंशनीय बन्नु पनि भएको छ । तर यतिले मात्र मुलुकको विकास र समृद्धिलाई सार्थक बनाउन सकिदैन । अब सबै जनप्रतिनिधिहरुले आ–आफ्नो कर्तव्य, जिम्मेवारी, अधिकारलाई मुलुकको समृद्धि र विकासका लागि इमान्दारिपूर्वक खर्चनुपर्छ ।

मुलुकको अवस्था अति नै चिन्ताजनक छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा युवाहरुको पलायनतालाई हेर्दा जो कोहिको मन छिया–छिया हुन्छ । एकप्रकारले भन्ने हो भने बिदेश जाने कुरा भाइरल ट्रेण्डकारुपमा समाजमा स्थापित भएको छ । वाध्यता देखाएर बिदेश जानेहरुको संख्या बढि रहँदा उनीहरुलाई स्वदेशमै प्रशस्त रोजगार छ, यही बसेर काम गर्नुपर्छ, हामी रोजगारको व्यवस्था गर्छौ भन्ने पदिय हैसियतमा बसेकाहरु पनि बिदेश शयर गर्न पाउँदा सिंगै युद्ध जिते जस्तो गर्नु हुन्छ । उहाँहरु बिदेश भ्रमणको कुरा सामाजिक सञ्जालमा देखाउन, सञ्चार माध्यममा समाचारको हेडलाइन बन्न यति आतुर देखिनु हुन्छकि लाग्छ उहाँको मकसदनै विदेश भ्रमणका लागि पदिय जिम्मेवारीमा आउनु भएको हो । जसरी बिदेश भ्रमणमा जाँदा राज्यको ढुकुटी रित्ति रहेको हुन्छ, त्यसरी नै त्यहाँबाट फर्किएपछि राज्यको ढुकुटी बढाउने योजना भिआइपीहरुले ल्याउन सकेको भए आज नेपालबाट जाने नभएर नेपालीहरु स्वदेशमै केही अब केही गर्न सकिन्छ भनेर फर्कन्थे, अन्य देशका मान्छेहरु रोजगारका लागि नेपाल आएको आयै गर्थे ।

लोकतन्त्र स्थापनाका लागि धेरैले बलिदानि दिएका छन् । भूमिका खेलेका छन् । हामीहरुले पनि आफ्नो ल्याकतले भ्याएसम्म अहिलेको व्यवस्था ल्याउनका लागि भूमिका खेलेकै हो । अहिले पनि यही व्यवस्थाबाट मुलुकको परिवर्तन सम्भव छ भन्ने पक्षमा मुलुकको अधिकांश जनता सकारात्मक छन् । तसर्थ लोकतन्त्रको रक्षार्थ प्रधानमन्त्री देखि वडा अध्यक्षसम्म अनि कर्मचारी प्रशासनसम्मका र अन्य उच्च अहोदामा बसेका सबैसँग म अनुरोध गर्न चाहन्छु, अहिलेको विषम परिस्थितिमा अब मुलुकको स्थितिमा सुधार नआउँदासम्म राज्यको ढुकुटि रित्याउने गरी विदेश भ्रमण नजानुहोस् । कहिले काँही कुनै विशेष काममा जानैपर्ने हुन सक्छ, त्यो पनि कसरी थोरै खर्चमा न्यून संख्यामा बिदेश जाने भन्ने कुरा सबैले बुझ्न र जान्न जरुरी छ ।

जम्बोटोलीका साथ भिआइपीहरुल्े विदेश यात्रा गर्ने प्रचालन पनि मुलुकको आर्थिक भार थपिने एउटा कारण हो । कुनै महत्वपूर्ण काममा जाँदा यसो गर्नुभयो भने कमसे कम मुलुकको आर्थिक भारमा तपाईको वाइहातको विदेशभ्रमण थपिने छैन । भोलिका दिनमा तपाई सबैलाई छाति चौडा बनाएर भन्न सक्नु हुन्छ मैले आफ्नो पदिय जिम्मेवारी अनुसार योयो काम गरे, जनतालाई ऋणको भारी बोकाउनका लागि मैले बिदेशयात्रालगायतका अन्य सुबिधाभोगी कामहरु मेरो कार्यकालमा गरेन ।