आप्रवासन दिवस -देश बाहिरिनेको डर लाग्दो तथ्याङ

रीता लामा
आज डिसेम्बर १८ अर्थात् आप्रवासी दिवस । “आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान” भन्ने मुल नारा सहित आज देशभर आप्रवासी दिवस बनाईदै छ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो । रोजगारी र जीविकोपार्जनका लागि अन्य देश जाने र बस्ने प्रकृयालाई सामान्य रुपमा आप्रवासन भनिन्छ । आप्रवासीहरु जुन देशमा पुगेको हो त्यही देशको कानुन अनुसारको सेवा सुविधाको मान्यता पाउनु पर्छ भन्ने सन्देश फैलाउन सन् २००० देखि हरेक बर्ष डिसेम्बर १८ मा यो दिवस मनाइदै आएको छ । आप्रवासीको हकहितका लागि विश्वभरी आप्रवासी दिवस मनाइए पनि कामदारहरुले रोजगारदाताबाट पारिश्रमिक नपाउने, पाए पनि समयमा नपाउने, सामान्य स्वास्थ्य उपचार सेवा पनि नपाउने, तोकिएको काम र कार्यक्षेत्रभन्दा अन्य अन्यत्रै काम गर्नुपर्ने, पारिवारिक सम्पर्कमा कठिनाई बनाईदिने र बेचबिखनमा पर्ने जस्ता ठुला मानवीय समस्याहरुबाट गुज्रिंदै आएकाछन् । स्वदेशमै एजेन्ट र म्यानपावर कम्पनीबाट ठगिने र विदेशमा अलपत्र पर्ने संख्या बढ्दो छ ।

नेपालमा वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ हेर्ने हो भने प्रत्येक दिन करिब २२०० सय नेपालीहरु कामका लागि विदेशिने गरेको पाईन्छ भने औषत दैनिक तीन देखि चार वटा शव नेपाल भित्रिन्छ । गत वर्ष पाँच खर्ब ४३ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको तथ्यांक छ । कुल गार्हस्थ उत्पादनको एक तिहाइ बराबर विप्रेषण आए पनि सरकारले यो क्षेत्रलाई व्यवस्थित बनाउन नसक्दा आप्रवसान क्षेत्र अस्तव्यस्त बन्दै गएको छ ।
अघिल्लो आर्थिक बर्ष २०७९÷८०मा करिव आठ लाख नेपाली श्रम स्वीकृत लिएर विदेसियका थिए । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक २०८०÷८१ अन्तरगत साउन, भदौ, असोज, कात्तिक र मंसिरको करिव पाँच महिनाको अवधीमा पाँच खर्ब भन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । यो अवधीमा करिव एक लाख ५० हजारले श्रम स्वीकृति लिएर वैदेसिक रोजगारमा पुगेका छन् । यो त श्रम स्वीकृत लिएर प्रक्रियागत रुपमा विदेश जानेको संख्या हो । यो भन्दा पनि बढी गैर कानुनी रुपमा विभिन्न बाहाना बनाएर भिजिट भिषा, व्यवसायीक भिषा र विद्यार्थी भिषामा विदेश जानेहरुको लामै लाइन छ । विशेषगरी नेपालीहरुको गन्तव्य खाडी मुलुकहरु र मलेशिया, दक्षिण कोरिया, पूर्वी अमेरिका हो । पछिल्लो समय माल्टा, पोल्याण्ड, पोर्चुगल, माल्दिभ्स, रोमानिया, क्रोसियालगायतका देशहरुमा जानेको संख्या पनि बढेको छ ।

नेपालीहरु कामकै लागि यूरोप सहित विश्वका १९० वटा देश पुग्दै आएकाछन् । तर नेपाली कामदारले १७८ देशमा व्यक्तीगत रुपमा श्रम स्वीकृत लिएर जान पाउँछन् भने १११ वटा देशमा संस्थागत रुपमा वैदेसिक रोजगारीको लागि श्रम स्वीकृत लिएर जान पाउँछन् । नेपाल सरकारले कतार, दक्षिण कोरिया, वहराईन, जोर्डन, मलेसिया, जापान, मौरिसस, युएई, इजराईल, वेलायत, रोमानिया र जर्मनी गरी १२ वटा देशसँग श्रम सम्झौता गरेको छ ।

वैदेशिक रोजगारीमा जाने कूल संख्यामध्ये महिलाको संख्या ४.३२ प्रतिशत रहेको छ । बाँकी ९५.६८ प्रतिशत पुरुष छन् । २०४६ सालको राजनीतिक परिवर्तनसँगै वैदेशिक रोजगारीमा जानेको संख्या बढ्न थालेको हो । देशभित्र रोजगारीको अभाव, भएका उद्योग कलकारखाना बन्द हुँदै जानु र राजनीतिक अस्थिरता हुँदा युवाहरु रोजगार खोज्न विदेश जानेक्रम बढ्दै गयो । मुलुकको कूल गार्हस्थ उत्पादन (जिडिपी)मा करिब २५ प्रतिशत हिस्सा रेमिट्यान्सको रहेको छ । अर्थात् रेमिट्यान्सले अर्थतन्त्रलाई धानिरहेको छ ।

वैदेशिक रोजगारीमा जानुअघि आवश्यक तालिम तथा गन्तव्य राष्ट्रबारे जानकारी नहुँदा धेरैले विदेशमा समस्या भोग्ने गरेका छन् । काम गर्न नजान्ने, जसको कारण भने जस्तो तलव नपाउने, विभिन्न मानसिक तथा आर्थिक समस्यामा परेका छन् । ठूला र तीव्र गतिमा गाडी गुड्ने सडकमा बाटो काट्न नजान्दा बर्सेन धेरै नेपाली सडक दुर्घटनामा पर्ने गरेका छन् । गन्तव्य राष्ट्रको मौसम तथा हावापानीबारे ज्ञान नहुँदा पनि ज्यान जाने गरेको छ । मुटुसम्बन्धी रोग, हृदयघात र आत्महत्याका कारण मृत्यु हुनेको संख्या ठूलो छ । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न राष्ट्रमा पुगेका नेपाली उतै हराउने पनि गरेका छन् । नेपालमा रहेको परिवार उनीहरु फर्कने आशमा बसिरहेको हुन्छन् तर उनीहरु जिउँदो छन् वा छैनन् केही अत्तोपत्तो हुँदैन । अर्थात् उनीहरु सम्पर्कविहीन छन् । पछिल्लो तीन वर्षमा वैदेशिक रोजगारीमा गएका ९४६ जना नेपाली यसैगरी बेपत्ता छन् । उक्त अवधिमा मलेसिया मात्र ६५५ जना नेपाली बेपत्ता भएका छन् । उनीहरुको नेपालमा रहेका परिवारसँग कुनै सम्पर्क भएको छैन ।

अध्यारा तथा उज्याला पाटाहरु
वैदेसिक रोजगारीको उज्याला भन्दा बढी अध्यारा पाटाहरु छन् । वैदेसिक रोजगारी कै कारण नेपालमा आन्तरिक बसाइसराईमा बृद्धि भएको छ । पारिवारिक वेमेल, घरेलु हिंसा र विखण्डनका धेरै घटनाहरु वैदेसिक रोजगारीसँग जोडिएका छन् । जसको कारणले व्यक्ति तथा परिवारमा मनोसामाजिक समस्या देखा परेको छ । महिलाको कार्य जिम्मेवारीमा परिवर्तन तथा महिलाहरुमा कार्यबोझ बढेको छ । घर देखि परसम्म सबै महिलाहरुले हेर्नुपरेको छ । युवा जनशक्ति सबै विदेशिदा देशमा प्रयाप्त जनशक्तिको अभाव हुन थालेको छ । खेती योग्य जमीन बाँझो छोड्ने प्रवृत्ति र सामाजिक परिवेशमा नैरास्यता बढेको छ । भड्किलो र खर्चिलो सामाजिक जीवनले अनुत्पादक र बढ्दो खर्च गर्ने प्रबृत्ति पनि उत्तिकै बढेको छ ।
अभिभावक तथा सन्तान वैदेसिक रोजगारमा जादा बालबालिका र जेष्ठ नागरिकहरुमा नकारात्मक असर र एक्लिदो अवस्था सिर्जना भएका छन् । वसाई सराईको कारणले शहरी जनसंख्या र ग्रामीण जनसंख्यामा असमानता सिर्जना भएको छ । मानव बेचबिखन र मानव तस्करका दलालहरुको चलखेल बढेको छ ।

वैदेसिक रोजगारका धेरै अध्यारा पाटाहरु छन् । त्यसमध्य वैदेसिक रोजगारले देशमा केही सकारात्मक असर पनि छन् । अहिले देशको कुल घर परिवारको ५६ दशमलव ५ प्रतिशत भन्दा बढि परिवारले विप्रेषण प्राप्त गर्ने गरेका छन् । वैदेसिक रोजगार कै कारण गरिबी न्यूनिकरणमा महत्वपूर्ण योगदान पुगेको छ । शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा विप्रेशण कै कारण जनताको पहुँचमा वृद्धि भएको छ । पितृसत्तात्मक मुलुकमा महिलाको भूमिकामा परिवर्तन भएको छ । घर व्यवहारमा र घरको नेतृत्वदायी भुमिकामा महिलाहरुले अवसर पाएका छन् । विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा परिचालन हुने क्रम बढेको छ । जसको कारण देशमा विकासका केही सकात्मक पक्षहरु स्थापित भएका छन् । अन्य राष्ट्रको सभ्यता, सँस्कृती, नविनतम प्रबिधी, नागरिकको लगनशिलता जस्ता विषयको जानकारी प्राप्ती भएको छ ।

आप्रवासी कामदारको लागि सामी कार्यक्रम
नेपाल सरकार र स्वीजरल्याण्ड सरकार बीचको द्धिपक्षिय सम्झौता अनुसार सुरक्षित आप्रवासन सामी कार्यक्रम अहिले नेपालमा संचालनमा रहेको छ । यो कार्यक्रम सन् २०११ देखि नेपालमा संचालनमा रहेको छ । हाल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व प्रदेश सरकारको समन्वयमा स्थानिय पालिकाहरुले यो कार्यक्रम संचालनमा ल्याएका छन् । नेपालका ३९ जिल्लाका एक सय ५६ पालिकाहरुमा यो कार्यक्रम संचालनमा रहेको छ ।

सामीले विशेष गरेर वैदेसिक रोजगारमा जाने सम्भावित कामदार, वैदेसिक रोजगारमा रहेका, वैदेसिक रोजगारबाट फर्किएका र वैदेसिक रोजगारसँग जोडिएका कामदारका परिवारहरुलाई आफ्नो मुख्य सेवाग्राहीको रुपमा काम गर्दै आइरहेको छ । सामी कार्यक्रम दाङ जिल्लामा घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र ववई गाउँपालिकाम संचालनमा रहेको छ । सामीले दिने मुख्य सेवाहरुमा सुचना तथा परामर्श, न्यायमा सहजिकरण, सीप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तिय सारक्षरताको काम गरिरहेको छ ।