जनतालाई चाहिएको नेपाल

सविन प्रियासन
अहिलेसम्म नेपालमा समृद्धि र विकास हुन नसक्नुको पछाडी व्यवस्थामा पटकपटक आइरहेको परिवर्तनले गर्दा हो ।

विश्व समृद्धि र विकासको चरम रफ्तारमा अगाडी बढि रहेको समयमा २००७ सालमा प्रजातन्त्रको उदय भयो । तर दशवर्षमै प्रजातान्त्रिक व्यवस्था गुम्यो । अर्थात २०१७ सालमा पञ्चायती व्यवस्था लागू भयो । त्यसपछि यो व्यवस्थामा मान्छेहरु व्यवस्थाको बिरोधमा खुलेआम बोल्न नपाउने भए । करीब २९ वर्ष पञ्चायती व्यवस्थाको राजपाठ नेपालमा कायम रह्यो । यो अबधिमा पनि विश्वमा पकडेको विकासको रफ्तार नेपालमा भित्रन पाएन । त्यसपछि २०४६ सालमा राजतन्त्रसहितको प्रजातन्त्रको फेरि उदय भयो । १२ वर्ष नहुँदै प्रजातन्त्र खोसियो । त्यसपछि २०६२÷०६३ को आन्दोलनले मुलुकमा गणतन्त्र स्थापना भयो । अहिले गणतन्त्र आएको १८ वर्ष पुग्दैछ । यो अबधिमा केही क्षेत्रले रहर लाग्दो विकास गरको छ । जस्तोकि सञ्चार अनि सडक सञ्जालको व्यापक विकास यो अबधिमा भएको छ । तर जुन हिसाबले मुलुकभित्र समृद्धि र विकासका लागि हुनुपर्ने हो त्यसरी कामहरु हुन सकेको छैन । यो अबधिमा विभिन्न कारणले जनतामा निराशा छाउने, यहाँ बसेर केही हुँदैन भन्ने माहोल सिर्जना गर्ने, व्यवस्था नै खत्तम भयो भनेर हल्का टिप्पणी गर्नेहरुको जमात पनि क्रमशः बढि रहेको छ । यही प्रकारले विदेशिनेहरुको संख्या पनि ह्वात्तै बढेको छ । अहिलेको यस्तो अवस्था आउनुको पछाडी राजनीतिक बृत्तमा लामो समयसम्म जीवनयापन गरेका नेता अनि पछिपछि हिँड्ने कार्यकर्ताहरुको भूमिका छ । गणतन्त्र स्थापना भएपछि परिवर्तनका पक्षधर भनिएका दलहरुबीचमा यस्तो तिकतता कायम रह्यो कि आफ्नै पार्टीभित्रका कुनै नेताले राम्रो काम गर्दा गुटबन्दिको चर्को घेरामा कैद भएर उसलाई समेत धारेहात लगाउने परिपाटी झाँगियो ।

बिरोधी पार्टीले गरेको राम्रो कामलाई कहिल्यै अनुसरण गर्ने वा प्रशंशा गर्ने काम गरिएन । राजनीतिक दलहरुबीच यतिसम्म फोहोरी खेल सुरु भयो कि सत्ता प्राप्त गर्नका लागि आफ्नै दललाई तोडमोड, फोड गर्न समेत बहादुरीका साथ अग्रसरता लिइयो । जसले गर्दा यतिबेला सडकमा गणतन्त्र माथि नै धाबा बोल्ने गरी आवाजहरु चर्कन थालेको छ । पूर्वराजा ज्ञानेन्द खुलेआमा गणतन्त्रलाई गाली गर्न अग्रसर छन् । दुर्गा प्रसाइहरु केही झुण्डको नायक जसरी सडकमा चिच्याई रहेका छन् ।यतिबेला केही शक्तिहरु मुलुक सर्वनाश भयो त्यसैले व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने चर्को स्वर लिएर सडकमा कुर्लि रहेका छन् । स्वभाविकरुपमा यस प्रकारको स्वर भोलिका दिनहरुमा समाज यस्तै रहेको खण्डमा बढ्दै जानेछ । यदि अब पनि नेताहरु नसच्चिने हो भने मुलुकमा प्रतिक्रान्तिको खतरा त्यतिकै छ । यदि मुलुकमा प्राप्त गणतन्त्र जोगाई राख्ने हो भने अब राजनीतिक दलहरुले एक अर्कालाई गालीगलौज गरेर समय खेर फाल्नु भन्दा एकताबद्ध भएर समृद्धि र विकासका लागि के गर्न सकिन्छ भन्ने योजनाहरु ल्याउनुपर्छ । आजका मितिसम्म नेपालमा गणतन्त्र फालेर अर्को कुनै व्यवस्था ल्याउनुपर्छ भन्ने झुण्ड ठूलो छैन । अहिले पनि नेपाली जनता यही व्यवस्थाभित्र आफ्ना सबै आवश्यकता पुरा हुनुपर्छ, विकास र समृद्धिको महानयात्रामा सबै घरपरिवारको अवस्था सुदृढ हुनुपर्छ भन्ने पक्षमा जनता छन् । तर अहिलेको जटिल अवस्था, दिनप्रतिदिन देखा परिरहेको समस्याले जनताको मनमा क्रमशः गणतन्त्र प्रतिनै बितृष्णा जाग्ने सम्भावना प्रवल छ । नेपाली जनता सधैभरी मुलुकभित्र राम्रो काम हुन्छ कि भन्ने आशैआशमा परिवर्तनको पक्षमा उभिएका छन् । प्राप्त गणतन्त्रले १८ वर्ष पार गर्न लागि सक्दा समेत जनताको दैनिकी भयावह र कष्टकर बन्दै जानुले क्रमशः जनता नयाँ सोँचमा लिप्त हुन सक्छन् । यस्तो अवस्था आउन नदिनका लागि परिवर्तनका पक्षधर हौ भन्ने राजनीतिक दल अनि नेताहरुले अब गालीगलौजको राजनीतिलाई सर्वप्रथम तिलाञ्जली दिनुपर्छ । अहिलेसम्म भए गरेका कामहरुको समीक्षा गर्दै देश र जनताको लागि राज्यसत्ताले के गर्नुपर्छ भन्ने विषयमा दलहरु केन्द्रीत हुनुपर्छ ।

नेपाल सधैभरी प्रयोगबादको सिद्धान्तमा आधारित रहेर अगाडी बढ्यो । २००७ सालपछि कुनै पनि व्यवस्था थिर भएर काम गर्न सकेन । स्थापना भएको  व्यवस्था पनि देश र जनताप्रति उत्तरदायि हुनु भन्दा पनि आफ्नो पेरिफेरि बलियो बनाउन र आफ्नो नेतृत्वमा राज्यसत्ता कसरी टिकाउन सकिन्छ भन्नेमा केन्द्रीत रह्यो । विगतमा पात्र फरक थिए, अहिले पात्रहरु फरक छन्, तर प्रवत्ती उस्तै छ । जनतालाई सखसयल भयो, जनताले शान्ति पाए, खान लगाउनको कुनै दुःख भएन । परिवर्तित समाजमा हुनुपर्ने सबै खाले सुखभोग जनताले गर्न पाए भने जनतालाई जुनसुकै व्यवस्था होस्, फरक पर्दैन । तसर्थ जनता यतिबेला अहिलेको व्यवस्थालाई फालेर फेरि केही वर्षका लागि अर्को व्यवस्था ल्याएर समाज विकास गर्नका लागि वर्षहरु खर्चने सोँचमा अहिले छैनन् । तर दिनदिनै समाजमा गहिरिदै गएको भयाबह अवस्था डरलाग्दो गरी स्थापित हुने चरणमा पुगेको खण्डमा गणतन्त्र फाल्न खोजि रहेकाहरु समाजमा जबरजस्तरुपमा स्थापित हुने र उनीहरुको पछि जनता लाग्ने कुरामा कुनै शंका छैन ।

यतिबेला मुलुकको अवस्था अति नै दयनिय छ । आर्थिकरुपमा संकटग्रस्त समाजलाई तरंगित बनाउन विभिन्न खालका गतिविधिहरु भैरहेका छन् । समाजमा विद्यमान समस्याले त्यसप्रकारका गतिविधिहरुको पछाडी केही हुन्छ कि भन्ने आशमा जनता लाग्न सुरु गरेका छन् । तसर्थ अब सरकार अनि राजनीतिक दलहरुले जनतलाई परिवर्तनको अनुभूति हुने गरी कामहरु गरेर देखाउनुपर्छ । सरकारले मुलुकभित्र देखा परेको आर्थिक संकट निवारण गर्नका लागि प्रभावकारी पहल कदमि लिनुपर्छ । यतिबेला माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार छ । माओवादी गणतन्त्र स्थापनाका लागि जनयुद्धमा समेत उत्रिएको पार्टी हो । उसकै नेतृत्वमा सरकार भएको समयमा सडकमा गणतन्त्र बिरोधी नाराहरु चर्कन्छ भने यो भन्दा दुःखको कुरा के हुन सक्छ ? माओवादी अध्यक्ष प्रचण्ड सत्ता र कुर्सी भन्दा माथि उठेर अहिलेको अवस्थालाई सुधार गर्न कुर्सी त्याग गर्नु परेपनि पछाडी हट्नु हुँदैन । सरकारको नेतृत्व जोसुकैले गरोस्, मुलुकको अवस्था सुदृढ हुनुपर्छ ।
विश्व बजार यतिबेला समस्याग्रस्त छ । कोरोनापछि विश्वमै आर्थिक संकट चुलिएको सबैलाई थाहा छ । तर कोरोनापछि मुलुकमा विद्यमान आर्थिक संकट निवारणका लागि अन्य मुलुकहरु प्रभावकारी नयाँ योजनाहरु निर्माणमा अग्रसर बने । जसले गर्दा धेरै हदसम्म ती मुलुकहरुमा आर्थिक संकट निवारण हुने अवस्थामा छ । तर नेपालमा यस्तो हुन सकेन । यहाँ सत्ता र कुर्सीका लागि दल फुटाउने देखि सरकार ढलाउने सम्मका खेल भए । यही खेलको फाइदा यतिबेला पूर्वराजा ज्ञानेन्द अनि दुर्गाप्रसाइहरुले लिइरहेका छन् ।

नेपाल यतिबेला लोकतान्त्रिक संघीय गणतन्त्रात्मक राज्य व्यवस्थामा छ । विश्वमै गणतन्त्र भन्दा उत्तम अर्को राज्य व्यवस्था छैन । नेपालमा यो व्यवस्था आएको १८ वर्ष भयो । अब यो फालेर अर्को कुनै व्यवस्था आउँदैमा नेपालको कायापलट हुन्छ भन्ने अवस्था छैन । तसर्थ सबै मिलेर अहिलेकै राज्यव्यवस्थालाई बलियो अहिले मुलुकको समृद्धिका लागि काम गर्न सक्ने माहोल निर्माण गर्नुपर्छ । अब सडकमा भाँजो हालेर बिग्रिएको नेपाली समाज थप सुदृढ हुन सक्दैन । यदि नेपाललाई समृद्ध र विकसित बनाउने हो भने राज्यका माथिल्लो निकायहरुमा कामकाजी व्यक्तिहरुको नेतृत्व अपरिहार्य छ । हिँजोको सोँचबाट अब मुलुकको समृद्धि हुन सक्दैन । समय अनुसार समाजको विकास गर्न सक्ने दुरदृष्टि राख्नेहरुलाई निर्वाचित गराउने सवालमा अब जनताले पनि विवेक पुराउनुपर्छ ।  राजनीतिक दलहरुले पनि देश र जनताको पक्षमा काम गर्न सक्ने भिजन भएको व्यक्तिहरुलाई निर्वाचनमा भिडाउने काम गर्नुपर्छ ।

यतिबेला सडकमा गणतन्त्र बिरोधी केही स्वरहरु कुर्लि रहेका छन् । विशेष गरी दुर्गा प्रसाई र स्वयं पूर्वराजा ज्ञानेन्द्र सडकमा उभिएर अहिलेको व्यवस्थाले केही गरेन भन्दै कुर्लिएको देखिएको छ । मुलुकमा गणतन्त्रात्मक व्यवस्था हुनुका साथै त्यहि किसिमको संविधान भएकाले सडकमा कुर्लदैमा अहिलेको व्यवस्था पाखा लाग्दैन । सडकमा उठेका केही एजेण्डाहरुको सवालमा अहिलेको संविधानलाई टेकेर निर्वाचनमा सहभागि भएर दुईतिहाई मत ल्याएको खण्डमा व्यवस्था बाहेक धर्मनिरीपक्षता, संघीयतालगायतका विषयमा निडर, सहासी सरकार र सदन बनेको खण्डमा संविधान संसोधन गरेर फेर बदल गर्न सक्छ । तर त्यसको लागि पनि निर्वाचित दुईतिहाईको सरकारले समाजलाई आफ्नो प्रभावमा राख्न सक्नुपर्छ । वाईहातमा केही झुण्डलाई गुमराहमा पारेर व्यवस्था परिवर्तन हुन सक्दैन । व्यस्था परिवर्तन गर्न सिंगो समाज सडकमा ओर्लनुपर्छ । तसर्थ जनतालाई झुक्याउने नारा सडकमा तताएर समाजलाई थप दिग्भ्रमित पार्ने खेलले अहिलेको समस्याग्रस्त समाजलाई थप संकटमा लैजान्छ । यस प्रकारको गतिविधिमा जनता लाग्नु हुँदैन । पूर्वराजा ज्ञानेन्द्र अनि दुर्र्गा प्रसाईलाई समाजको नेतृत्व गर्न मन लागेकै हो भने आउँदो निर्वाचनमा सहभागि हुनैपर्छ । उनीहरुको आन्दोलन वा अभियानले निर्वाचनमा केही भोट बटुल्न काम लाग्न सक्छ, त्यो बाहेक अहिलेको व्यवस्था परिवर्तन गर्नका लागि कुनै ठूलो भूमिका निर्वाह गर्न सक्दैन ।

समाजले विकास अनि समृद्धि खोजि रहेको छ । अब कुनै पनि किसिमको जिन्दाबाद र मुर्दाबादको आन्दोलनको पछाडी नेपाली जनता लाग्नु भनेको मुर्खता सिबाय केही होइन । अब जनताले कामकाजी व्यक्ति वा राजनीतिक दलका उमेदवारलाई निर्वाचित गराउने सवालमा भूमिका खेल्नुपर्छ ।

निर्वाचनमा चुनिने जनप्रतिनिधिहरुलाई समाजप्रति उत्तरदायि बनाउने सवालमा पनि जनताले निरन्तर खवरदारी गरिरहनु पर्छ । निर्वाचनमा थोरै खान पाएको आशमा मतदान गर्ने, यो मेरो मान्छे हो, यो मेरो गुटको हो भन्ने नाममा टिकट दिने दुबै खाले प्रवृत्ती समृद्धिको बाधक हुन । जनता अनि राजनीतिक दल र समाजका लागि केही गर्न चाहेका सबै व्यक्तिहरु सच्चिन सकेमा अहिलेको व्यवस्थाभित्रै रहेर नेपाललाई समृद्ध मुलुक बनाउन सकिन्छ । गणतन्त्र स्थापना भएको दुईदशक पनि भएको छैन । दुईदशक नहुँदै अहिलेको व्यवस्था परिवर्तन गर्ने, त्यसपछि फेरि अर्को दुईदशक नुहँदै अर्को व्यवस्था ल्याउने खेलमा अब कोही पनि लाग्नु हुँदैन । जुन व्यवस्था आएपनि समाज यही हो, नेपाली यिनै हुन, अब नेपाल बनाउने जागरण हरेक नेपालीको मनमनमा खासगरी नेताहरुमा जागृत गराउँदै त्यहि किसिमको सिर्जनशिल गतिविधिहरुको नेतृत्व गर्न सक्ने वातावरण निर्माण गर्ने सवालमा सबैले ध्यान दिन जरुरी छ । यस्तो हुन सकेमा हामीले भने जस्तै समृद्ध, विकसित, समतामुलक नयाँ नेपाल निर्माण हुन सक्छ । जनतालाई चाहिएको गणतन्त्र भित्रको समृद्ध नेपाल पनि यस्तै हो । जनता अब कुनै पनि प्रकारको आन्दोलनको पक्षमा छैनन् । फेरि पनि धनजनको क्षति होस् भन्ने कामना जनताले गरेका छैनन् । जनताले चाहेको विहान उठेदेखि साँझ नसुत्दासम्म आफ्नो पौरख मजाले गर्न पाउनुपर्छ भन्ने हो, साँझ सुत्दा खेरी पनि मस्तको निन्द्राबाट विहान उठ्न पाइयोस भन्ने याचना नेपालीको हो । सकेसम्म आफ्नै गाउँठाउँमा केही गर्न पाइयोस् भन्ने चाहना नेपालीको हो ।

मान्छे भएर जन्मिसकेपछि आधारभूत कुराहरुबाट समेत बन्चित हुनुपर्ने समाज नेपालीको परिकल्पना होइन । हिँजोका दिनमा गणतन्त्र स्थापना गर्ने सवालमा नेताहरुले जनतालाई गोलबद्ध गर्दा बाँडेको सपना पनि आजको जस्तो दिन देखाउनका लागि पक्कै थिएन । तसर्थ समय धेरै घर्किएको छैन, जनतालाई चाहिएको गणतन्त्र भित्रको समृद्ध नेपाल हो । यस्तै नेपाल निर्माण गर्न अब सबैले आ–आफ्नो ठाउँबाट इमान्दारिताका साथ भूमिका खेलौ, कर्तव्य र जिम्मेवारी पालना गरौं ।