मुलुकलाई आत्मनिर्भर बनाउन अब राष्ट्रियपूजीको निर्माण अनि प्रभावकारी परिचालन आवश्यक

सविन प्रियासन

हरेक कुराको राम्रो अनि नराम्रो पाटो हुन्छ । कोरोना कालपछि विश्वभर नै आर्थिक मन्दि देखा परेको छ । आफूलाई समृद्ध ठान्ने मुलुकहरु पनि यतिबेला आर्थिकरुपमा पूर्णरुपले निस्कन सकेका छैनन् । अमेरिका जस्तो देशमा यही अवधिमा ठूला वैंकहरु बन्द भएका छन् । आर्थिक समस्याले सिंगो देशलाई गाँज्न थालेपछि विकसित मुलुकहरु जो धेरै पहिले देखि सिष्टममा चलेका थिए, ती मुलुकहरुले संकटबाट पार पाउन प्रभावकारी अनेकन नियमहरु बनाए । जसले गर्दा यतिबेला उनीहरु क्रमशः पुरानै ठाउँमा फर्किसकेका छन् । एक प्रकारले भन्ने हो भने कोरोनाकालपछि देखा परेको संकटबाट उनीहरु मुक्त बन्ने अवस्थामा छन् ।

हाम्रो मुलुक विकासशिल देशमा पर्छ । लामो समयसम्मको राजनीतिक परिवर्तनको आन्दोलनले मुलुकको आर्थिक विकासले गति लिन सकेको छैन । मुलुक सिष्टमबाट पनि चल्न सकेको छैन । विभिन्न सुधारउन्मूल योजना, कार्यक्रमहरु बनाएर सरकारले मुलुकको अवस्थामा सुधार ल्याउने, विकासको रफ्तार अगाडी बढाउने काम गरिरहेको थियो । यस्तैमा कोरोनाले गर्दा सिंगो मुलुकलाई दिनदिनै संकटको दलदलमा फसाउन खोजि रहेको जस्तो देखिएको छ । बजार संकट ग्रस्त छ । रोजगारीहरु दिनदिनै कटौती भैरहेका छन् । लगानी घटि रहेको छ । आयात अनि निर्यात समेत पहिलेको तुलनामा दुईतिहाई घटेको छ । मानिसहरु दिनदिनै हजारौहजार नेपाल छाडि रहेका छन् । मुलुक चरम संकटको दलदलमा भासिदैछ । यही प्रकारले मुलुकको अवस्था कायम रहने हो भने निश्चितरुपमा नेपाल इतिहासकै सबै भन्दा जटिल अवस्थामा पुग्नेछ ।

समस्याहरु सिर्जना हुन्छन् । समस्याबाट पार पाउने सवालमा गरिने प्रगति ठूलो कुरा हो । अहिले जति पनि विकसित मुलुक छन्, ती सबै केही दशक अघिसम्म संकटग्रस्त नै थिए । नेपालको अवस्था अति नै बलियो भएको समयमा समस्याग्रस्त मुलुकहरु यतिबेला विकासको चरम उचाईमा छन् । आत्मनिर्भर अर्थतन्त्र बनाउन उनीहरु सफल छन् । जसले गर्दा राज्य धनि छ, जनता धनि अनि सुखी छन् । उनीहरुको दैनिक कमाई चित्त बुझ्दो छ । यतिबेला ती मुलुकहरुमा विश्वभरका मान्छेहरु रोजगारी अनि शिक्षा ग्रहण गर्न गैरहेका छन् । विकसित मुलुकहरुको अवस्था सुधार हुनका लागि त्यहाँका जनताले उच्च मनोवल बनाएर श्रम, सिप, लगानी स्वदेशमै गरे । राज्यले पनि समय सापेक्ष प्रभावकारी नीति, नियम, कानून अनि कार्यक्रम बनायो । राजनीतिक दल अनि नेताहरुमा देशप्रेम, सद्भाव, एकले अर्कोको अस्तित्व स्विकार गर्ने, सहयोगी भावना जागृत बन्यो । कुशल राजनेताको लिडरसिप स्विकारर्दै सिंगो मुलुक विकासमा हातेमालो गर्न अग्रसर बन्यो । जसले गर्दा २५÷३० वर्षकै अन्तरालमा धेरै मुलुकहरुले रहर लाग्दो विकास गरे । लोकतान्त्रिक गणतन्त्र स्थापना भैसकेपछि नेपालले त्यही अवस्था बनाउला भन्ने सबैको आश थियो । तर परनिर्भर अर्थतन्त्रमा जकडिएको मुलुक भएका कारण सानातिना घटनाक्रमहरुले पनि नेपालको अर्थतन्त्रलाई धेरै नै खस्कने अवस्थामा पु¥यायो । ०७२ सालमा गएको महाविनाशकारी भूकम्प, त्यसपछि २०७६ सालमा आएको कोरोना महामारी र सत्ता प्राप्त गर्न नेताहरुले खेलेको फोहोरी राजनीतिक गतिविधि, जनतामा देशप्रति भन्दा पनि व्यक्तिबादी चिन्तन हाबी भएर सुरक्षित भविष्यको खोजी गर्दै विदेशीने सोँच झाँगिदा मुलुक क्रमशः उठ्नै नसक्ने गरी थला परेको छ । यतिबेलाको अवस्था हेर्ने हो भने चारैतिर भयावह छ ।

तसर्थ भयावह मुलुकलाई झन भयावह बनाउने कि अहिलेको अवस्थाबाट मुलुकलाई पार लगाउने भन्ने वहस अब सबैले चलाउनुपर्छ । हरेक नेपालीहरुको काँधमा मुलुकको अवस्था परिवर्तन गर्ने दायित्व आएको छ । जनतालाई परिचालन गर्ने भनेको राज्यले अख्तियार गर्ने नीति, योजना, कार्यक्रमले हो । तसर्थ नेपाल आफैले राज्यकोषबाट उत्पादनमूखी कार्यहरु गर्नका लागि प्रशस्त बजेट हाल्ने अवस्था छैन । यस्तो बेलामा राज्यले आफ्नो मातहतमा पव्लिकको लगानी मार्फत उत्पादनमूखी कार्यहरु गर्ने योजना बनाउनुपर्छ । एकप्रकारले भन्ने हो भने राष्ट्रियपूजीको विकास अहिलेको आवश्यकता हो । सुदुर, उज्ज्वल भविष्य, समृद्ध मुलुकको खाकासहितको योजना राज्यले निर्माण गर्ने, यहाँ आवश्यक उद्योग, कलकारखानाहरु स्थापना गरेर एकातिर रोजगारको ग्यारेन्टी गर्ने अर्को तर्फ उत्पादन बढाउने, बजारीकरणको व्यवस्था गर्ने हो भने अबको दशवर्ष भित्रमा नै नेपाल आत्मनिर्भर बन्न बक्छ । नेपालमा कृषि, खनिज उद्योगहरुको प्रशस्त सम्भावना छ । जडिबुटी प्रशोधन गरेर समेत अपार धन प्राप्त गर्न सकिन्छ । जडिबुटीहरु प्रयोग हुने उद्योगहरु खोल्न सकिन्छ । नेपालले सबै भन्दा बढि धन हाइड्रोपावरहरु सञ्चालन गरेर प्रशस्त विद्युत उत्पादन गर्न सक्छ । यति कार्य गर्नका लागि अब राज्यको अग्रसरतामा सर्वसाधारणको समेत लगानी लाग्ने योजना बनाउन जरुरी ।

राज्यसँग यतिबेला कर्मचारीलाई तलब खुवाउन समेत आफ्नो ढुकुटी छैन । सर्वसाधारण जनताले विभिन्न नाममा तिरेको कर अनि वैदेशिक सहायता तथा आन्तरिक तथा वाह्य ऋण बोकेर तलब तथा सामान्य विकासका कार्यहरु गर्ने काम राज्यले गरिरहेको छ । यही शैलि सधैभरी रहि रहने हो भने नेपालको अवस्था दिनदिनै खस्कने छ भन्नेमा कुनै शंका छैन । तसर्थ हरिबिजोग अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई बलियो बनाउँदै आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गर्ने काम राज्यले प्रभावकारी योजना बनाएरै गर्नुपर्छ । अहिलेको अवस्थामा उत्पादनमूखी कार्यहरु राज्यको अगुवाईमा सञ्चालन गर्ने कामको थालनि हुन सकेमा क्रमशः स्वदेश अनि विदेशबाट समेत नेपालमा व्यक्तिगतरुपमा पनि लगानी हुन सुरु हुनेछ । राज्यको सहभागिताले माहोल सिर्जना गर्छ । यतिबेला नेपालमा लगानी सुरक्षित छैन भन्ने माहोल जबरजस्तरुपमा स्थापित बनेको छ । सबैले वैदेशिक रोजगारलाई उज्ज्वल भविष्यसँग जोडेर हेरेका छन् । दिनदिनै हजारौको संख्यामा बिदेश जाने अवस्था त्यतिकै सिर्जना भएको होइन । यसको पछाडी धेरै कुराहरुले काम गरेको छ ।

यतिबेला रोजगारमा सहभागि भएका हुन वा नभएका हुन्, धनि हुन वा गरीव सबैको यात्रा विदेश बनेको छ । आफ्नो लगानी लगाएर होस वा घरजग्गा बेचेर, ऋण काडेर समेत लिगल अनि इलिगलरुपमा विदेश जानेहरुको ताँती छ । समग्रमा भन्नु पर्दा विदेश जाने अवस्था दिनदिनै बढि रहेको छ । विदेश जाने कुरालाई अब तत्कालै कसैले चाहेर रोक्न सक्ने अवस्था छैन । तसर्थ राज्यले अब गर्ने भनेको विदेशिनेहरुलाई व्यवस्थित गर्ने नै हो । उनीहरुको यात्रा व्यवस्थित गर्ने सवालमा अब सरकारले विदेश जानेहरुबाटै देशका लागि केही गर्ने योजना बनाउनुपर्छ । जुनसुकै कारणले विदेश गएपनि विदेश जानेहरुले देशमा पनि लगानी गर्ने, स्वदेशमा बस्नेहरुले यहाँ श्रम अनि आयमुलक काम गर्ने योजना सरकारले बनाउन सक्यो भने मुलुकको अवस्था क्रमशः सुधार हुनेछ । अबको एकदशकमै नेपाल आत्मनिर्भर बन्नेछ भन्नेमा कुनै शंका छैन ।

कोरोना कालपछि राज्यकै तथ्यांकलाई हेर्ने हो भने पनि ६० लाख बढि नेपाली विदेशिएका छन् । इलिगल बाटोबाट विदेश जानेहरुको संख्या त्यस्तै छ । मुलुक भित्रको अवस्था हेर्दा अबको दुईवर्षमा ५० लाख नेपाली विदेश जानेछन् भन्नेमा दुईमत छैन । स्वदेशमा बस्नेहरु पनि अहलेकै जस्तो अवस्था विद्यमान भएमा निकै नै संकटपूर्ण अवस्थामा रहेर यहाँ बस्नेछन् । केवल यहाँ बस्नेले आफ्नो गुजारा मात्र गर्नेछन् । त्यसैले सरकारले अब देशमा बस्ने अनि विदेश गएका सबै नेपालीलाई आफ्नो तर्फबाट देश विकासको लागि योगदान पु¥याउने योजना बनाउनुपर्छ । विदेश गएकाहरु देशप्रति अति नै मोह राख्ने किसिमले बसेका हुन्छन् । यदि सरकारले मुलुक बनाउने प्रभावकारी योजना बनाउने हो भने विदेश गएका हरेक नेपालीले स्वतस्फूर्त तरिकाले देश विकासको लागि आर्थिक, भौतिक, नैतिक लगानी गर्नेछन् । राज्यले राष्ट्रियपूजीको विकास गर्ने प्रभावकारी योजना बनाउन सकेमा स्वदेशमा बस्ने हरेक नागरिक जसले राज्यको योजनामा लगानी गर्न सक्छन्, उनीहरुले समेत यसमा लगानी गर्नेछन् । लगानी गर्न नसक्नेहरुले भौतिक उपस्थितिमा श्रम गर्नेछन् ।

नेपाल कृषि प्रधान देश हो । तर कृषिको लागि चाहिने उव्जाउ बिउ, औषधी, मलखाद, सिचाईको प्रशस्त व्यवस्था यहाँ छैन । अहिले पनि आकाशे पानीको भरमा खेती हुन्छ । बिउ, औषधी, मलखाद सबै अन्य मुलुकको भर पर्नुपर्छ । यस्तो अवस्थामा सरकारले अब राष्ट्रियपूजीको विकास गरी कृषिजन्य यी सबै कामहरुमा उपयोग हुने उद्योग, कलकारखा अनि अन्य क्षेत्रमा लगानी गर्ने हो भने यसबाट प्रशस्त लाभ हुनेछ । यसैगरी विश्वकै दोस्रो जलश्रोतको धनि मुलुक हुँदा हुँदै प्रशस्त विद्युत उत्पादन गर्न सकिएको छैन । यदि राष्ट्रियपूजीको विकास गरी राज्यले नै ठूलो मात्रामा विद्युत उत्पादन हुने हो भने विद्युत बिक्री गर्नुका साथै ठूला–ठूला उद्योगहरु स्थापना हुने माहोल सिर्जना हुन सक्छ । नेपाल प्रकृतिले भरिएको मुलुक हो । राज्यले आफ्नै लगानीमा नमूना योग्य पर्यटकीय स्थल बनाउने सवालमा पनि योजना बनाउने हो भने विश्वभरका मानिसहरु यहाँ दिल खोलेर आउनेछन् । तसर्थ यी सबै कार्यहरु लगानी प्रशस्त भएमा हुन सक्छ । मुलुकको समृद्धिका लागि अब राष्ट्रिय पूजीको विकास र यसको प्रभावकारी परिचालनले सम्भव छ ।

यतिबेलाको अवस्था हेर्ने हो भने राज्य ऋणमा चर्लुम्म डुबेको छ । राज्य आफैले आफ्नो ल्याकतमा आयमुलक योजना बनाउन सक्ने अवस्था यतिबेला छैन । तसर्थ राष्ट्रियपूजी बलियो बनाउने भनेको सरकारले तयार गर्ने प्रभावकारी योजना अनि कार्यक्रमले हो । नेपाल अबको दशवर्षमा यस्तो हुनेछ भनेर खाकासहित राष्ट्रियपूजी विकास गर्ने योजना बनाएर सरकार अगाडी बढ्ने हो भने एकवर्षमै खरबौ खरब रुपैयाँ देशभित्रै संकलन हुनेछ । आवश्यकताका आधारमा सबै जिल्लामा कुनै न कुनै उद्योग, कलकारखाना, अन्य संरचनाहरु निर्माण गर्ने हो भने यसले मुलुकको अवस्था धेरै माथि उठ्नेछ । मुलुकको समग्र अवस्थ सुधार गर्ने पहिलो दायित्व राज्यको हो । राज्यले अख्तियार गर्ने नीति, कार्यक्रम, योजनाका आधारमा सर्वसाधारण जनता परिचालित हुन्छन् । नेपाललाई समृद्ध, विकसित बनाउने खाका पनि राज्यले नै अगाडी सार्नुपर्छ । खाडीका मुलुकलाई विकसित बनाउने पनि नेपाली नै हुन् । जसले गर्दा आफ्नो मुलुकलाई समृद्ध बनाउने सवालमा स्वदेश बस्ने हुन वा विदेश बस्ने हुन सबै नेपालीले कुनै न कुनै माध्यमबाट भूमिका खेल्नेछन् । ताकि भविष्यमा अन्यदेशका नागरिकहरु सुरक्षित भविष्य, सुखद जीवन यापनको खोजी गर्दै नेपाल आउन सकुन् । नेपालले पनि विपन्न, गरीव मुलुकहरुलाई मन चाहेको प्रशस्त आर्थिक सहयोग गर्न सकोस्, नेपाली उत्पादन, नेपाली प्रविधी, नेपालको प्रकृति अन्य सबै देशहरुमा चर्चा गर्न लायक बनोस् ।