थारु समुदायसंग जोडिएको धानबाली एक, पर्व अनेक

जगबीर चिल्द्रह्वा थारु
नेपाल कृषि प्रधान देश हो । यस देशमा परम्परा शैलि तथा अलि आधुनिक तरिकाले खेती सुरु हुँदैछ । नेपाल हिमाल, पहाड र तराई गरी तीन भागमा प्राकृतिकरुपमा विभाजन गरेको पाइन्छ । हिमालमा हिमाली अन्न बाली र पहाडी भागमा सोही अनुरुपको खेती गरेको पाइन्छ भने तराईमा विशेष धानखेतीको बाहुल्यता छ । नेपालको विभिन्न भागमा  विभिन्न जातजातिहरुको बसोबास छ ।
तराईमा मात्र बसोबास गर्ने थारु जाति हो । यस जातिको मुख्य पेसा कृषि हो । आजभोलि यो जाति पनि विभिन्न पेशामा संलग्न हुन थालेको पाइन्छ । जब यो जातिको मुख्य पेसा कृषि हुँदा धानलाई मुख्यबालिको रुपमा लिन्थे । धान खेती गर्दा सुरु देखि अन्त्यसम्म विभिन्न नाम गरी पर्वकोरुपमा मनाउने गर्दछन् ।
१) हरोत लेना ः
हरोत लेना धान खेतीको सुरुवात हो । यो पर्व जेठ महिनाको अन्तिमतिर मनाउने गरिन्छ । सोमबारको दिन दिउँसो माछा मारी साँझमा धान छर्ने वन्ठीमा गोबरले लिपेर सो माथि सिन्दुरले दुईवटा मानव आकृत बनाइन्छ । सोही वन्ठीमा अलिकति धान (फालो), नाढा (नारा) ३ या ५ जोर सेताला माछा पातले बत्ती राखि पैना (लठी) खर्वा लिएर खेतमा पुजा गर्न जान्छन् ।
पुजारीले नुहाएर चारकुना मिलेको कुहिरा (गहरा) को उत्तरपूर्वको कुनामा खनेर गाइको गोबरले लिपेर बत्ती बालि फरुवा, नाढा, फार, पैना राखि धान छरेर माछा चढाएर पुजा गरी घर फर्किन्छन् । यता घरमा चोखो मिठो पकाएर सबै परिवार मिलेर खाने गरिन्छ । भोलि विहान उठेर नुहाएर पुजा गरेको ठाउँमा गाईको दुधको धार हाल्ने गरिन्छ । अबबाट धानखेतीको सुरुवात भएको मानिन्छ ।
२) हर्दह्वा ः
हर्दह्वा धान खेती गर्दाको अर्को पर्व हो । यो दोस्रो पर्वकारुपमा लिइन्छ । यो पर्व मनाउँनु भन्दा पहिले धानको विउ राख्ने दिनमा धानको बिउ राखेको उपलक्ष्यमा साँझपख मिठो मसिनो पकाएर घरपरिवार मिलेर खुसीका साथ खाने चलन छ । हर्दह्वा दुईवटा शव्द मिलेर बनेको पाइन्छ । घर (हलो), धुवा (धुने) मिलेर हर्दह्वा बनेको हो । आफ्नो सबै खेतमा धान रोपिसकेपछि अन्तिम दिनमा हलो धोइपखाली, घर ल्याउने गरिन्छ । त्यही साँझ पख, मिठो मसिनो पकाएर घरका सबै परिवार सुखदुखको कुरा गर्दै खाने गरिन्छ ।
यसलाई छुटकी (सानो) हर्दह्वा भन्ने गरिन्छ । एवं प्रकारले गाउँका सबै घरहरुले धान रोप्न छर्ने काम सक्दछन् । यसरी गाउँका सबैले धान रोप्ने छर्ने, काम सकेपछि मटान घरमा ख्याल बसेपछि कहिले र कुनबार हर्दह्वा खाने ? कसले कति मासु खाने भनेर छलफल गरिन्छ । जुन बार हर्दह्वा खाने निर्णय हुन्छ । सोही दिन विहान कोही सुंगुर काट्ने र कोही घरका सदस्यहरुले आफ्नो चेलीबेटीलाई निउतो (निम्ता) गर्न जान्छन् । सोही दिन साँझ चेलीबेटी आफ्नो लहेर (माइत) हर्दह्वा खान आउने चलन छ । साँझमा डोन्या (दुना) घरका सबै परिवारका सदस्य तथा पाहुना पाछिलाई पुग्ने गरी भाग लगाइन्छ । भाग लगाउँदा घरका एकदिनका बच्च भएपनि त्यस बच्चाको पनि भाग लाग्दछ । यसरी भाग लागेपछि घरका परिवारका सदस्यहरु र आएका चेलिबेटी पाहुनापाछि एकसाथ बसेर सुखदुःख र रमाइलो गर्दै जाँड रक्सी भात खाँदै साझको पर्व मनाउने चलन छ । भोलि पल्ट हर्दह्वाको बासि खाना खइना (खाने) भनेर विहानदेखि खाँदै रमाउने गर्दछन् ।
३) ह¥र्या गुरै ः
ह¥र्या गुरै गाउँको साझा पुजाको रुपमा यो पर्व मनाइन्छ । यो पूजा गाउँको डिउठन्वा (भुइँयारथान) मा गरिन्छ । ह¥र्या गुरै प्राय अष्टिमकी (कृष्णाअष्टमी) पछि पुजा गर्ने चलन छ । गाउँका सबै घरका घरधुर्या (घरमुली) हरु मटान (महतौ) को घरमा बसि कहिले गर्ने भनि सरसल्लाह बमोजिम डेसवन्ध्या गुरुवाको घर डिउँटा लिन जान्छन् । डिउँटा ल्याएपछि मटावाँको घरको आइमाईले व्रत बसेर ढिक्री, पाँच वटा तरिकारी पकाएपछि साँझ तीनचारबजे मटावाँ, डेसवन्ध्या गुरुवा, केसुका गाउँले बसेर डेसवन्ध्या गुरुवाले मन्तर गर्दै पुजा गर्दछन् । पुजामा कुखुरा, सुंगुरका पाठा चढाउने चलन छ । साँझमा सबै गाउँका लोग्ने मानिस बसेर खानपिन गर्ने गर्दछन् । भोलिपल्ट गाइको दुधको धार भुइँयार धानमा चढाउँछन् र अलिकति दुधलाई गुरुवाले मन्तरले फुकि दिन्छन् र सोही दुधलाई कन्याकेटाले नुहाएर प्रत्येक कुलाको मुहानमा हालि दिन्छ, यसरी मन्तरले फुकेको दुध पानीका माध्यमबाट गाउँका सबैको खेतमा गएपछि धानमा रोगव्याधी  तथा किरा गाँधी, दैह्या रोग लाग्दैन भन्ने जनविश्वास छ ।
४) औली लेना ः
प्राय धान कात्र्तिक अन्तिम मंसिरमा पाक्ने गर्दछ । पहिले धानलाई दुई किसिमका खेती गरिन्थ्यो । एक असहन र दुई जरहन । असहन धान जरहन धान भन्दा छिटो पाक्ने गर्दछ । यो छिटो काटिन्छ । औली नल्याएर जरहन धान काटन हुँदैन भन्ने चलन छ । सोमबारका दिन विहान घरमुलिका श्रीमतीले गाइको गोबरले कुलदेवताको थानलाई लिपपोत गरी सिन्दुर टिकेर (देबतालाई टिका लगाउने) बत्ती बाल्छिन् भने उता घरमुली नुहाएर खेतमा गएर एक अँक्सा (मुठा) जरहन धान काटेर घर आई कुल देवतालाई चढाएर बचेको धान घरको धुरी खम्बामा बाँधेर देवताको थानमा गाइको दुध धार हालेर यो पर्व सम्पन्न हुन्छ । त्यसदिन पनि मिठो मसिनो पकाएर घरका सबै सदस्यहरु रमाइलो गरि मिलेर खाने चलन छ ।
५) औली उटर्ना ः
आफ्नो घरको सबै खेतको धान काटि सकेपछि एउटा गराको उत्तरपूर्व कुनामा अलिकति धान काँटन् बाँकी राखि घरका पुरुषहरु र अरु छरछिमेकलाई बोलाई साँझमा गराको कुनामा सानो बाँसको लिंगोमा हजारीको माला टंगाई कुनामा गाड्दछन् । त्यसपछि सबैले ‘हललल हललल, हललल (हल्ला गर्दै) भनेर  कराउँदै धान काट्छन् र काटेको धान गाडेको लिंगोमा चढाउँछन् । फेरि हललल भन्दै लर्वा (धानको ठूटो) काट्छन् र त्यसै गरी लिंगोमा चढाउँछन् । हुन बाँसको लिंगोसँगै हँसिया उदाउने ढुंगा पनि राखिएको हुन्छ । यसलाई जखिनिया भन्दछन् । यी कार्य सम्पन्न पछि गीत गाउँदै पाँच फन्का औलि उतारेको ठाउँलाई घुम्ने चलन छ । खेतबाट नाँच्दै जुन घरको औली उतारको हो, सोही घरमा आइ नाँच्ने र चोखो मिठो खाई यो पर्व सम्पन्न गरिन्छ ।
६) चारा चढैना ः
जरहन नयाँ धानको चामल कुलदेवतालाई चढाउनेलाई चारा चढैना भन्ने चलन छ । यसमा घरमुलीको श्रीमतीले देवता थानलाई विहानमा लिपपोत गरी देवतालाई नुहाएर बत्ती बालेपछि घरमुली नुहाएर घरकी मैयाको पाटामा रहेको चैतीपत्थ्यामा चुल्लो हुने गरी नयाँ जरहन धानको चामल चढाई सबै कुल देवतालाई गाइको दुधको धार हालि सकेपछि मद (रक्सी) चढाई सकेपछि यो पुजा सम्पन्न भएको मानिन्छ । यसमा पनि मासु मिठामिठा परिकार बनाई सबै परिवारका सदस्यहरु मिलेर रमाईलो गरि खाने चलन छ ।
७) खेन्पेन्डयाँ ः
पेन्डयाँ दुई शव्दले बनेको जस्तो लाग्छ । पेन् ं डयाँ पेन् .पेँडी (पिँध) ंडयाँ .डैना (दाउने).पेन्डयाँ भनिएको हो । गाउँभरिका सबै घरका मानिसहरुले धान दाई सकेपछि सबैले आ–आफ्नो घरबाट मिठा मिठा परिकार तथा जाँडको झोल लिएर सामूकि खलियानमा आउँछन् र गाउँभरिका मानिसहरु गोलाकारमा बसेर रमाइलो गर्दै खानपिन गर्दछन् । यसरी खानपिन गरिसकेपछि नाँचगान सुरु गर्दछन् । हुनत खानपिन गर्नु भन्दा पहिले जखिन्या पुजा गर्दछन् । जखिन्या भनेको हँसिया उदाउने ढुंगा, जटावर (गोरु बाँध्ने दाम्लो) र कत्यार (बयर काँडाको बढार्ने कुचो) हो । त्यसपछि नाँच्दै कत्यारले बढार्दै प्रत्येकको घरघरमा जान्छन्, यसो गर्नु भनेको धानको शै (सह) घरघरमा आउँछ भन्ने जनविश्वास छ । यसरी सबैको घरघरमा गैसकेपछि यो पर्व सम्पन्न भएको मानिन्छ ।
८) पेन्डया ः
खेन पेन्डया खाइसकेपछि गाउँका सबै घरका घरमुली एकदिन साँझ मटान (मटावाँ) को घरमा ख्याल बसि कहिले र कुनबार खानेभनि निर्णय गर्दछन् । जुनबार खाने निर्णय हुँन्छ सोही दिन विहान सुंगुर काट्छन्, घरका कोही सदस्यहरु आ–आफ्ना चेलीबेटीलाई निम्ता (निम्तो) गर्न जान्छन्, साँझ पख चलीबेटी लहेर (माइत) आउँछन्, साँझको बेला घरका सदस्य चेलीबेटी परपाहुना सँगै बसेर सुख दुःखका कुरा गर्दै मासु भात, माछा जाँड खान्छन् । भोलि पल्टपनि चेलीबेटी परपाहुना मिठामिठा खानेकुरा खान्छन् । यसलाई पेन्डया बासि खैना भनिन्छ ।
गाउँका जजसले राती ढाईतीन बजे गोरु लिएर खल्यानमा धान दाउँन जान्छन्, सोहीहरु मिलेर घरघरमा गएर मल लगौनी खान्छन् र खाइसकेपछि दिउँसो ढाईतिन बजेबाट नाँच्न सुरु गर्दछन् । नाँच पनि घरघरमा गएर नाँच्दछन् । यसरी नाँच्दै खाँदै गर्दै यो पर्वको अन्त्य हुन्छ ।