२९ औँ जनयुद्ध दिवस लमहीमा दीप प्रज्वलन गरि मनाइयो (फोटो फिचर)


शिवु खनाल
देउखुरी, १ फागुन
२९ औँ जनयुद्ध दिवसको अवसरमा दाङको लमहीमा दीप प्रज्वलन गरिएको छ । दशवर्षे माओवादी सशस्त्र द्वन्द्वको आज २९ वर्ष पुगेको अवसरमा नेकपा (माओवदी केन्द्र) लमही नगर कमिटी तथा नेपाल कम्युनिस्ट पार्टी (विपलव) लमही नगर समितिको संयुक्त आयोजनामा लमहीमा दीप प्रज्वलन गरि मनाइएको हो । २०५२ फागुन १ गतेबाट तत्कालिन माओवादीले मुलुकमा आमुल राजनीतिक परिवर्तनका लागि भन्दै सशस्त्र द्वन्द्व शुरु गरेको थियो । दीप प्रज्वलन कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) लमही नगर कमिटीका अध्यक्ष डिलकुमार श्रेष्ठले शहीद भएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको बताउनुभयो । उहाँले ‘जनयुद्धकै कारण आज जनताद्वारा शासित धर्म निरपेक्ष राष्ट्र बनेको बताउनुभयो ।

दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (विपलव) का केन्द्रीय सदस्य विक्रम सिंहले राजनीतिक परिवर्तनमार्फत समतामूलक एवं समृद्ध नेपालको परिकल्पना गरेर विगतमा विभिन्न राजनीतिक संघर्षहरुको पूर्णता, दशवर्षे ‘जनयुद्ध’ र दोस्रो जनआन्दोलन पछि प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो,–।

‘दशवर्षे जनयुद्धले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको मात्र होइन, २ सय ४० वर्षे एकात्मक शासन व्यवस्थालाई समेत अन्त्य गरेकोले हामीले जनयुद्ध दिवस मनाएका हौँ ।’ कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका केन्द्रीय सदस्य सिंहले नेपालका दलित, पीछडा वर्ग, उत्पीडनमा परेका वर्ग, अल्पसंख्यक, गरिब, विपन्नहरूको अधिकारको लागि भएको जनयुद्धको सबभन्दा अमूल्य उपहार भएको बताउनुभयो ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटि सदस्य तथा लमही नगर इञ्चाजए बसन्त शर्मा (विक्रान्त)ले देशको आमूल परिवर्तनमा जनयुद्ध वरदान साबित भएको बताउनुभयो । उहाँले भन्नुयो,–।

‘जनयुद्धको उपलब्धी संस्थागत हुँदा नेपालमा स्वतन्त्रता र जनताले आफ्नो अधिकार उपभोग गर्न पाएको हो ।’ जनयुद्ध दिवसको अवसरमा दाङ जिल्लाका विभिन्न चोकहरूमा दीप प्रज्वलन गरी जनयुद्ध दिवस मनाइएको नेपाल कम्युनिस्ट पार्टी जिल्ला सचिवालय सदस्य तथा लमही नगर इञ्चार्ज मुक्ति सीले जानकारी दिनुभयो । नेकपा (माओवादी केन्द्र) लमही नगर कमिटीका अध्यक्ष डिलकुमार श्रेष्ठको अध्यक्षता एवम् नेपाल कम्युनिस्ट पार्टी (विपलव) केन्द्रीय सदस्य विक्रम सिंहको प्रमुख अथितिमा सम्पन्न कार्यक्रमको सहजिकरण नेकपा (माओवादी केन्द्र) लमही नगर सचिव बावुराम चौधरीले गर्नु भएको थियो ।।