विद्यानिलकण्ठ स्कूलको ३३ औं वार्षिकोत्सव

घोराही फागुण १ । घोराही–१५ स्थित विद्यानिलकण्ठ स्कूल एवं कलेजको ३३ औं वार्षिकोत्सव मंगलबार भव्य समारोहकाबीच मनाइएको छ ।
विद्यालयका अभिभावक, विद्यार्थी, सरोकारवाला निकाय, शिक्षक, व्यवस्थापन समितिको बाक्लो उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरुले देशप्रेम र सिर्जनशील प्रस्तुतीहरु राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रकाश खनालको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाङ शिक्षा इकाइ प्रमुख देबमणि चौधरीले समय अनुसारको शिक्षा आजको आवश्यकता भएको बताउँदै विद्यालयलाई कामकाजी विद्यार्थीहरु उत्पादन गर्नका लागि अग्रसरता देखाउन अनुरोध गर्नुभएको थियो । कार्यक्रममा शिक्षाबिद् गोविन्द न्यौपानेले मुलुकमा दिनप्रतिदिन युवा विद्यार्थीहरु बिदेश पलायन भैरहेकोमा चिन्ता प्रकट गर्दै स्वदेशमै बसेर केही गर्ने वातावरण निर्माण गर्न सबै लाग्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले शिक्षाको विकास बिना घोराहीको विकास हुन नसक्ने भएकाले शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउनका लागि अभियानको तर्फबाट विभिन्न योजनाहरु ल्याइएको र यहाँका सबै विद्यालयहरुलाई त्यसमा सहयोग गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा डा. लोकराज पराजुलीले सन्देशमुलक मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यालयका अध्यक्ष चन्द्रप्रकाश खनाल र प्रिन्सीपल दोर्ण खड्काले भिएन स्कूल र कलेजलाई अबका दिनमा प्राविधिक जनशक्ति उत्पादन गर्ने शिक्षण संस्थाकारुपमा विकास गर्न लागि रहेको जानकारी दिनुभयो ।

विद्यालयका कोर्डिनेटर शान्तिदेबी हमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवादज्ञापन लक्ष्मी गौतमले गर्नु भएको थियो । कार्यक्रममा विद्यालयको विभिन्न गतिविधि र शैक्षिक क्रियाक्लापमा उत्कृष्ट हुनेहरुलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो । विद्यार्थीहरुले कार्यक्रममा गीतनृत्य, प्रहसन, सन्देशमुलक क्षमता समेत प्रदर्शन गरेका थिए ।