सुशासनसहितको लोकतन्त्र स्थापना गर्न सूचनाले महत्वपूर्ण भूमिका खेल्छ

घोराही, माघ  । सुशासनसहितको लोकतन्त्र स्थापना गर्न सूचनाले महत्वपूर्ण भूमिका खेल्ने एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् । राष्ट्रिय सूचना आयोगले आइतबार घोराहीमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले संविधानले नै सूचनाको हक सुनिश्चित गरेको र सुशासन, विकास, समृद्धिसहितको व्यवस्था स्थापना गर्नका लागि सूचनाले महत्वपूर्ण भूमिका खेल्ने भएकाले सबै निकायले सूचनाहरुलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिएका थिए ।

सार्वजनिक निकायहरुले तीनतीन महिनामा आफ्नो सबै कामकारबाहीहरुको बारेमा जानकारी गराउन सकेमा सर्वसाधारणहरुमा कुनै पनि प्रकारको गुनासो नआउने वक्ताहरुको धारणा थियो । कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकलाई स्थापित गर्नसकेमा सर्वसाधारणदेखि सबै कार्यालयहरुसम्मलाई लाभ हुने बताउनुभयो । आफूले गरेका कामहरु जनताले थाहा पाउने गरेर सूचना सार्वजनिक गर्दा जनता राज्यप्रति जिम्मेवार हुँदै जाने आयुक्त गुरुङको भनाइ थियो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले जिल्लाका सबै सरकारी तथा गैरसरकारी कार्यालयहरुले तीन दिनदिन सूचना अधिकारी तोक्न निर्देशन दिनुभयो । विशिष्ट अतिथि घोराही उपमहागरपालिकाका प्रमुख नरुलाल चौधरीले जनतालाई सूचना जान्न पाउने अधिकार संविधानले नै ग्यारेन्टी गरेका कारण सूचनामा सहज पहुँच गराउन कसैले पनि कञ्जुस्याइँ गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनबन्धु सुवेदीले जिल्लाका सबै कार्यालयहरुमा सूचना अधिकारी राख्नेदेखि सर्वसाधारणले थाहा पाउने गरी तीनतीन महिनामा कामकारबाहीहरु सार्वजनिक गर्नका लागि अब प्रशासनले विशेष योजना पत्रकार महासंघ संघ मिलेर बनाउने बताउनुभयो ।

यसैगरी प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले काउन्सिलले पनि सूचनाको हक सम्बन्धी कार्यहरु गरिरहेको बताउँदै आयोगसँग समन्वय गरेर काउन्सिल अगाडि बढ्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष एवं सल्लाहकार सविन प्रियासनले सूचनाको हक जनताका लागि नैसर्गीक अधिकार भएकाले सूचनालाई पारदर्शी बनाउन अब राज्यले सूचना अधिकारीको दरबन्दी नै बनाएर जनशक्ति परिचालन गर्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ दाङ जिल्लामा सूचनाको हक स्थापित गर्न प्रशासनसँग समन्वय गर्न तयार रहेको बताउँदै प्रियासनलले कार्यालयहरुले जति धेरै सूचनामा पारदर्शीता अपनाउँछन्, त्यति नै जनतामा निराशा घट्ने, व्यवस्था पनि बलियो हुने बताउनुभयो । आयोगका शाखा अधिकृत डिल्लीराम भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा आयोगका सचिव होमप्रसाद लुइटेल, शाखा अधिकृत जीवन कुवर, नासु सिर्जना ज्ञवाली, जिल्लास्थित सबै जसो कार्यालयका प्रमुख एवं सूचना अधिकारीहरु, विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृत, सञ्चारकर्मीहरुलगायतको उपस्थिति रहेको थियो ।