भिक्टोरिया कलेजका विद्यार्थीको व्यवसायीक योजना

मुलुकमा युवाहरु दिनप्रतिदिन पलायन भैरहेका छन् । स्वदेशमा केही गर्न सकिदैन भन्ने गलत मान्यता जबरजस्तरुपमा यसरी स्थापित हुँदै गएको छ कि मुलुकभित्रको सम्भावनाहरु समेत हराएर जाने हुनकि भन्ने सोँचहरु झाँिगन थालेका छन् । समाजमा रहेको यस्तो अवस्थालाई हटाउनका लागि अब युवा विद्यार्थीहरु नै अग्रसर बनेर नेपालमा पनि रोजगार, व्यवसाय अनि सुनौलो भविष्यको उज्जवल सम्भावना छ भन्ने कुरामा उभिनुपर्छ । नेपालमा जेजति अहिले बसि रहेका छन्, सबै युवा विद्यार्थीहरुले अब आफ्नो पढाई अनि पेशालाई समृद्धिको यात्रामा जोड्ने सवालमा कञ्जुस्याई गर्नु हुँदैन ।

समृद्धि र विकासको कुरा गरिरहँदा यसलाई सार्थक बनाउने काम उत्पादन र व्यवसायले गर्न सक्छ । मुलुकको परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गर्ने काम पनि उत्पादन र व्यवसायले नै गर्न सक्छ । यही सन्दर्भमा घोराहीस्थित भिक्टोरिया इन्टरनेशनलमा अध्ययन गरिरहेको बिबिएका विद्यार्थीहरुले बिजनेश प्लान सम्बन्धि विशेष कार्यक्रम गरेका छन् । विद्यार्थीहरुले समूहगतरुपमा छलफल गरी तयार पारिएको व्यवसायीक योजनाहरुलाई मात्र व्यवस्थित गरेर समाजमा ती कार्यहरुको थालनी गर्ने हो भने रोजगार अनि उत्पादनको राम्रो सम्भावना देखिन्छ । अर्थात पढ्दापढ्दै पनि विद्यार्थीहरुले मुलुकमा आवश्यक व्यवसायको बारेमा छलफल गरी योजना बनाउन सक्छन् भने पढि सकेकाहरुले मुलुकका लागि चाहिने व्यवसायीक चेतको विकास किन गर्न सक्दैनन् ?

मुलुकमा बसि रहेका जनशक्तिले अब मुलुकका लागि केही गर्नुपर्छ भन्ने दृढ संकल्पका साथ काम गर्ने हो भने अब पनि नेपाल समृद्धिको उचाईमा पुग्न सक्छ । बाध्यता अनि विभिन्न कारणले विदेश गएकाहरुलाई समेत केही वर्ष भित्रमा स्वदेश फर्काउन सकिन्छ, विदेशिहरुलाई यहाँ काम दिन सकिन्छ । तर यसको लागि समाजमा स्थापित हुँदै गएका गलत मान्यहरुलाई चिर्नका लागि अब युवा विद्यार्थीहरुले सकारात्मक जागरण फैलाउन जरुरी छ । सबैले आफ्नो तवरले काम गर्ने, स्वार्थमा लिप्त नहुने, राज्यले पनि प्रभावकारी कार्ययोजना बनाउने, नीति, नियम बनाउने, बजेट बिनियोजन गर्ने र स्वेदशमा काम गर्न चाहनेलाई समस्यामा अल्झने भन्दा पनि सहज प्रक्रियाबाट गरिखाने परिपाटीको विकास गर्ने हो भने नेपालमा अझै पनि धेरै सम्भावना छ ।

नेपाल अबको केही वर्षभित्रमा नै विकासको त्यो उचाईमा पुग्नेछ, जहाँ हामी धेरै पहिला पुग्नुपर्ने हो । भिक्टोरिया इन्टरनेशनल कलेज अनि कलेजका विद्यार्थीहरुलाई व्यवसायीक योजना निर्माण सम्बन्धी महत्वपूर्ण कार्यक्रम गरेकोमा धन्यवाद, विद्यार्थीहरुले बनाएका योजनालाई व्यवहारमा लागू गर्न उनीहरु स्वयले अग्रसरता देखाउने हो भने अरुले पनि यस्ता सिर्जनशील योजनाहरु अगाडी सार्ने सवालमा अग्रसरता देखाउनेछन् ।