श्रेष्ठ परिवारद्वारा घोराहीमा महाप्रभुको मूर्ति प्राणप्रतिष्ठा गरिदै

घोराही, माघ २८ । घोराही–१५ राधाकृष्ण मन्दिर (साइ मिन्दर) को हाताभित्र स्वर्गद्धारी महाप्रभुको मूर्ति प्राणप्रतिष्ठा तथा स्थापना गरिने भएको छ ।
घोराही–१५ भरतपुर निवासी तोरणध्वज श्रेष्ठ, मीनबहादुर श्रेष्ठ, डा. भरतराज श्रेष्ठ, उत्तम कुमार श्रेष्ठ, ध्रुवकुमार श्रेष्ठ र अर्जुन श्रेष्ठले बुबआमा भुपेन्द्र र विष्णु श्रेष्ठको स्मृतिमा राधाकृष्ण मन्दिर परिसरमा महाप्रभुको नयाँ मन्दिर एवं ३ वटा मूर्तिहरुको स्थापना गर्न लाग्नु भएको हो । सिंगमरमरबाट निर्माण गरिएका मूर्तिहरुमा श्री विभुषित बालतपस्वी श्री स्वर्गद्धारी महाप्रभुदेव र उहाँका प्रथम शिष्य पुजारी महाराज एवम् रखाल महाराजको तीनवटा मूर्तीहरु रहेका छन् ।
तीनवटै मूर्तिहरु सिंगमरमरबाट आकर्षकरुपमा निर्माण गरिएको छ । नयाँ निर्माण गरिएको मन्दिर र मूर्तिहरुको आउँदो फागुण २ गते उद्घाटन गरिनेछ । उद्घाटन अगाडी विहान ८ बजे मूर्तिहरुको घोराही बजारमा रथयाता गरिने र त्यसपछि प्राणप्रतिष्ठा र स्थापना गर्ने कार्यक्रम रहेकोछ । त्यसपछि दिउँसो १ बजे प्रसादग्रहण कार्यक्रम भएकाले उपस्थितिका लागि श्रेष्ठ परिवारले सबैमा अनुरोध गरेको छ ।

घोराहीमै स्वर्गद्धारीको अखण्डध्वनी
स्वर्गद्धारी महाप्रभुको मुख्य मन्दिर रहेको प्युठान स्वर्गद्धारीमा अहिले पनि महाप्रभुले सुरु गरेको अखण्डध्वनी बलि रहेको छ । सयौ वर्षदेखि बलि रहेको अखण्डध्वनीबाटै घोराहीमा विभुती ल्याएर २०५२ सालदेखि साइमन्दिर परिसरमा सुरु गरिएको अखण्डध्वनी अहिले पनि बलि रहेको छ । घोराहीमा बलि रहेको अण्डध्वनीलाई दर्शन गर्न भक्तजनहरु आउने गरेको श्रेष्ठ परिवारको भनाइँ छ ।

विष्णु धर्मशाला
भक्तजनहरुलाई सहजहोस् भनेर साइमन्दिर परिसरमा विष्णु धर्मशाला पनि सञ्चालन गरिएको छ । ६ वटा कोठामा १४ जना व्यक्तिहरु बस्न सक्ने गरि निर्माण गरिएको उक्त धर्मशाला पनि श्रेष्ठ परिवारले नै निर्माण गरेको हो । हाल धर्मशाला अनि मन्दिरलाई पण्डित योगराज गौतमले हेरचाह गरिरहनु भएको छ । धर्मशाला सञ्चालनका लागि प्रतिव्यक्ति २ सयरुपैयाँमा बस्ने व्यवस्था धर्मशालाले गरेको छ ।श्रेष्ठ परिवारले बुबाआमाको स्मृतिमा २०५० सालमा निर्माण गरिएको राधाकृष्ण मन्दिर (साई मन्दिर) मा एकपछि अर्को संरचना निर्माण गर्ने कामहरु श्रेष्ठ परिवारले गरिरहेको छ । मन्दिर परिसरमा रंगरोगन गर्ने, स्लोकहरु लेख्ने, पुष्पहरु रोप्नेलगायतका कामहरु पनि भैरहेका छन् ।