शान्ति निकेतन विद्यालयको २० औं वार्षिकोत्सव

विश्वमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति तयार गर्न संयुक्त प्रयास आवश्यक–मन्त्री खनाल

घोराही, माघ २६ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले विश्वमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति तयार गर्न परिवार, विद्यालय र विद्यार्थीको संयुक्त प्रयास आवश्यक पर्ने बताउनुभएको छ । घोराही–१५ काठेकोहलस्थित शान्ति निकेतन विद्यालयको २० औं वार्षिकोत्सवको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री खनालले प्रतिष्प्रधी जनशक्ति उत्पादन गर्नुपर्ने र त्यसका लागि संयुक्त प्रयास आवश्यक पर्ने बताउनुभएको हो ।
मुलुकमा गुणस्तरिय शिक्षाका लागि संस्थागत विद्यालयको भूमिका महत्वपूर्ण रहेको भन्दै मन्त्री खनालले विद्यालयहरूले बालबालिकालाई किताबी ज्ञानमा मात्र सीमित गर्न नहुनेमा जोड दिनुभयो । ‘गुणस्तरिय शिक्षाका लागि विद्यालय, अभिभावक, शिक्षक, विद्यार्थीका बिचमा सहकार्य आवश्यक पर्दछ’, मन्त्री खनालले भन्नुभयो, ‘अबको शिक्षा विश्वमा प्रतिष्प्रधा गर्ने खालको हुनुपर्दछ । विदेश पलाएन भइरहेको शैक्षिक जनशक्तिलाई स्वदेशमै रोक्न विश्वमा प्रतिष्प्रधा गर्ने खाल को शिक्षा प्रदान गर्नतर्फ विद्यालयले ध्यान दिनुपर्दछ ।’

विद्यालय तहबाटै अनुशासित र कर्तव्यनिष्ट शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिँदै मन्त्री खनालले भन्नुभयो, ‘भविष्यको सक्षम र सवल मुलुक बनाउनका लागि आजका विद्यार्थीहरु अनुशासित र कर्तव्यनिष्ट बन्नुपर्दछ । विद्यालयहरुले यसतर्फ ध्यान केन्द्रीत गर्नुपर्दछ ।’ मुलुकको स्वास्थ्य र शिक्षालाई जनताको पहुँचमा पु¥याउन सरकारले काम गरिरहेको भन्दै प्रदेशका स्वास्थ्यमन्त्री खनालले लुम्बिनी प्रदेशका सबै जिल्लामा स्वास्थ्य सेवा सुदृढ गर्न मन्त्रालयले योजनाबद्ध ढंगले काम गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्याव्सनका लुम्बिनी प्रदेशका वरिष्ठ सल्लाहकार महेन्द्र अधिकारीले राज्यले निजी विद्यालयहरुलाई सौतेलो व्यवहार गरिरहेकोमा दुखेसो पोख्नुभयो । मुलुकको शैक्षिक विकासमा भूमिका खेलिरहेका निजी विद्यालयलाई कमजोर बनाउन स्वयं राज्य लागिपरेको भन्दै सल्लाहकार अधिकारीले निजी विद्यालय कमजोर बन्दा मुलुकको शैक्षिक अवस्था नै कमजोर बन्ने दाबी गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले मुलुकलाई समृद्धि र विकासको चरणमा प्रवेश गराउने समय आइसकेको बताउँदै यसका लागि कामकाजी, व्यवहारिक, विषयगत शिक्षा आवश्यक रहेको औंल्याउनुभयो । शिक्षाको विकास विना समृद्धि र विकास असम्भव भएको प्रियासनको भनाइ थियो ।
कार्यक्रममा घोराही नगर प्याव्सनका अध्यक्ष बिरेन्द्र चन्दले संस्थागत विद्यालयहरुले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको र शिक्षा क्षेत्रमा संस्थागत विद्यालयको बलियो सहभागीता रहेको बताउनुभयो । कार्यक्रममा डा. लोकराज पराजुलीले शिक्षाको विकासमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका निर्देशक खगेश्वर पोख्रेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुनिल गौतम, विद्यार्थीहरु अस्मिता चौधरी, प्रज्ज्वल पौडेल, आशिक हमालले मन्तव्य व्क्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शैक्षिक निर्देशक टीकाबहादुर बस्नेतले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य प्रस्तुत गर्नुभएको थियो ।

शिक्षक पोख्रेलसहित विद्यार्थी सम्मानित
विद्यालयको २० औं वार्षिकोत्सवको अवसरमा शिक्षकसहित विद्यार्थीलाई पुरस्कृत गरिएको छ । विद्यालयले हरेक वर्ष शिक्षक र विद्यार्थीलाई प्रदान गर्दै आएका पुरस्कार प्रदान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले वर्ष उत्कृष्ट शिक्षकका रुपमा आशिक पोख्रेललाई सम्मान गर्नुभएको हो । त्यसैगरी वर्ष उत्कृष्ट विद्यार्थीका रुपमा कक्षा ९ का विद्यार्थी अस्मिता चौधरी, अनुशासित विद्यार्थीका रुपमा कक्षा ४ का विद्यार्थी खुसी शर्मा, मोस्ट हाइजिनिक स्टुडेण्टका रुपमा कक्षा जेकेजीका विद्यार्थी जेनी पुनलाई पुरस्कृत गरिएको छ ।
त्यस्तै वीरबहादुर चौधरी र प्रदेस्नी चौधरीले छोरी शिवा चौधरीको स्मृतिमा स्थापना गरेको शिवास्मृति छात्रबृत्तिबाट कक्षा ७ का प्रज्ञान पौडेललाई पुरस्कृत गरिएको छ ।