बिपीको आत्मबृत्तान्त पढिसक्दा

रामबहादुर जिसी

अत्यन्त ब्यस्त दिनचर्यालाई चिर्दै दिबङ्गत बिपि कोइरालाको आत्मबृतान्त भरखरै पढी सिध्याए । उसो त बिपि द्वारा लेखिएका साहित्यिक कृतिहरु मोदिआइन, तीन घुम्ति, बाबू आमा र छोरा, यहुदी र हिटलर, सुम्निमा, दोषी चस्मा जस्ता पुस्तकहरु पढी यौन मनोबिज्ञानको बिषयबस्तु र घटनाक्रममालाई नियाल्ने बिपिको तिक्ष्णता प्रती प्रभावित भै उनी प्रति श्रद्धा ,सम्मान यथाबत रहेकै अबस्थामा उनको समग्र राजनीतिक जीवन र अग्लो ब्यक्तित्वबारे दुनियाँलाई पनि जानकारी र थाहा होस् भन्ना खातिर बरिष्ठ अधिवक्ता गणेशराज शर्माले दिबङ्गत कोइरालाको बोली र आत्मकथनलाइ टेप रेकर्ड गरि त्यो रेकर्डमा भएका कुरालाई आत्मबृतान्त पुस्तक मार्फत बजारमा ल्याइ गुनिलो काम गर्नुभएको रहेछ । खरिद लिस्टमा रहेका आत्मबृतान्त र जेल जर्नल(पढ्न बाँकी) धेरै पछि मात्र खरिद गरि अध्ययन गर्न पाउँदा खुशी त यसै छु तर बिपि जस्तो अग्लो ब्यक्तित्वको राजनीतिक पृष्ठभूमिबारे जान्न बुझ्नमा मैले निकै कन्जुस्याइँ गरे, सायद म बढी रुढी आग्रह÷पुर्बाग्रहको रोगबाट ज्यादा ग्रसित भएकी ?
जेल जर्नल हातमा परिसकेको छ, उक्त पुस्तकका एक दुई पाना पल्टाउना साथ त्यसमा अभिब्यक्त बिचारले झनै लोभ्याएको छ।आत्मबृतान्त पछि मार्क्सवादी दर्शन सम्बन्धि पुस्तक पढ्ने रोलक्रमलाइ जेल जर्नलले पालो मिच्ने पक्का भयो।जेल जर्नल संग पनि साक्षात्कार हुने कुत्कुतिले र हुटहुटिले थप उत्साह र जागरिलो बनाएको छ ।

आत्मबृतान्त पढिरहदा के अनुभुति भैरहेको छ भने त्यति धेरै लगाव, त्यत्रो विधि हण्डरठक्कर, जेलनेलको भोगाइ, समाज, देश,
राजनीति, प्रजातन्त्र र जनउत्तरदायि शासन प्रणाली प्रति गहिरो चिन्ताभाब प्रकट गर्ने अभिरुचि लेखन, पठन, अध्ययन, अनुसन्धानमा लिप्त
स्वभाव निरन्तरता र असाध्यै सिर्जनशीलता..त्यसैले त आफूलाई कट्टर शास्त्रीय मार्क्सवादका पक्षपाती भन्ठान्नेहरुले समेत दिबङ्गत बिपिलाइ अशल राजनेताको रुपमा सम्मान र आदर गर्दारहेछन् ।
बिपि, बिपि जस्तो कसरी हुन पुगे ? उनी भित्रको आन्तरिक प्रतिभा वा घरको पारिवारिक वातावरण ?–
उनी भित्रको आन्तरिक प्रतिभा त यसै पनि थियो तर घरकोपारिवारिक वातावरण पनि महत्त्वपूर्ण रहेको स्वत बुझिन्छ– सय बर्ष अघि चन्द्र शमशेर शासनमा थिए कसैलेराष्ट्रको कुरा गर्यो भने उनी भन्ने
गर्थे म नै राष्ट्र हु; चन्द्र शमसेर संग राम्रो सम्बन्ध भएका कारण सिन्धुलीबाट बिसं १९५० को दशकमै बिराटनगर झरेका उनका पिता कृष्ण प्रसाद कोइरालाले ब्यापारमा सफलता चुमिरहेका थिए । बिराटनगर झरेपछि रंगेलि बजार र गोग्राहलाई बिकास गर्नुपर्छ भन्ठानी स्कुल स्थापना गरि कलकत्ताबाट शिक्षक झिकाए । विद्यार्थीलाई निशुल्क खाने र बस्ने ब्यबस्था गरिदिए । अनि गोग्राहलाइ बिराटनगरको रुपमा बिकास गर्ने अभियान चलाए । ४० लाख जनसंख्या भएको मुलुकका लागि काठमाडौमा एउटा मात्र दरवार हाइस्कुल भएका बेला बिराटनगरमा आदर्श स्कुल खोल्नु चानचुने कुरा थिएन । उनले बिराटनगरमा अस्पताल स्थापना गरे । कलकत्ताको एउटा अखबारमा बिज्ञापन छापेर डाक्टर छनौट गरे ।
राज्यको प्रशासनिक संयन्त्र बनि नसकेकोले त्यसबेला भन्सार अड्डालाई ठेक्कामा लिने चलन थियो । मेचीदेखि महाकाली सम्मका भन्सारको ठेक्का उनैले पाएका थिए । चन्द्रसमशेरको नाममा चन्द्रगन्ज (सप्तरी) भन्सार भन्सार अड्डा कृष्ण प्रसादको एक प्रमुख ब्यापारीक केन्द्र थियो । जहाँ उनको जीवनका महत्वपूर्ण निर्णय भएका थिए । श्री ३ चन्द्र शमशेर आफुसंग खुशी भएकाले मुलुकलाई क्रमशः प्रजातान्त्रिकरणतर्फ लैजानुपर्छ भन्ने सुझाव दिदै कृष्ण प्रसाद बिन्तिपत्र पठाइरहन्थे । हरेक बिषयकाबारे खुलेर छलफल गर्ने र निर्णयमा पुग्ने
परिपाटी बसाएका थिए । बिहान उठेर परिवारका सदस्य एकै ठाउँमा भेला हुने र चिया पिउदै दुनियाँभरका बिषयमा चर्चा गर्ने परम्परा कोइराला परिवारमा उनैले बसाएका थिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटना,परिघटना बारे खोजखबर चासो, पत्रपत्रिका संकलन र अध्ययन अनुसन्धान बच्चा बच्चीहरुलाई शिक्षादीक्षा दिनबाट कुनै कन्जुस्याइँ गर्नुहुन्न भन्नेबारे गहिरो चिन्ता र तदनुकुल वाताबरण .. इत्यादिकारणहरुले पनि बिपि आफ्नो पिताजीको विलक्षणता प्रति गर्व गर्दछन् र भन्दछ्न– यसो त सबैलाई आफ्नो परिवारको बारेमा अभिमान होला र आफ्नो माता पिताको बारेमा सबैलाई गर्व होला तर मलाई के लाग्छ भने मेरो परिवार विलक्षण थियो, मेरो आमा बुबा विलक्षण हुनुहुन्थ्यो–मेरो हजुरबुबाको बारेमा त मैले आफ्नो हजुरआमाबाट मात्र सुनेको हु, उहाँ पनि एउटा विलक्षण हुनुहुन्थ्यो । उहाँहरुको म माथि ठूलो प्रभाव परेको छ । मेरो पिताजीको प्रभाव परेको छ..
१९७४ सालको जाडो याममा एक दिन कृष्ण प्रसाद चन्द्रगन्जको कचहरिमा थिए । हिउँदका बेला पहाडीहरुको ठूलो समुह मधेस झर्ने गथ्र्याे । परिवारका लागि आबस्यक नुन, तेल कपडा किन्न, ती मध्य अधिकांश ढाक्रे कामको खोजीमा
हुन्थे । गरीबीको चक्रमा पिल्सिएका धेरै हिन्दुस्थान जान्थे ।चन्द्रगन्जको कचहरिमा छलफल चलिरहदा सडक ढाक्ने गरि एकहुल ढाक्रे देखा परे, कृष्ण प्रसादका एक साथिले त्यही हुल देखाउदै भने “ल हेर्नुस् त ती पनि हाम्रै नागरिक हुन;त्यही बचनले कृष्ण प्रसादको हृदयनै
बदलियो ।

तत्काल एकजना ढाक्रेसंग उसका फाटेका झुत्रा कपडा किने । ढाक्रेलाई नयाँ कपडा र केही रुपैयाँ दिएर बिदा गरे । अनि जूम्रा र लिखाले भरिएका तिनै झुत्रे कपडाको पार्सल बनाउन लगाए । अनि प्रधानमन्त्री चन्द्र शमशेरका नाममा सिहदरबार पठाइदिए ।
कोइराला परिवारबाट हरेक बर्ष दशैमा राणा सरकारलाई डालिमा राखेर रेशमी बस्त्र पठाउने चलन थियो । त्यो बर्ष रेशमी बस्त्रको साटो कपडाका साथ पार्शल पुग्यो । चिठीमा भनिएको थियो, ‘प्रजाले लगाउने यिनै हुन् । यी लुगासंग सरकारका पोशाक तुलना गर्नुहोस् । मैले महाराजको अपहेलना गर्न यी लुगा पठाए भन्ने सम्झिनुहुने छैन । प्रजाहरुको हालत के छ र उनिहरु कस्तो अबस्थामा बाचेका छन् भन्ने जानकारी गराउन मात्र खोजेको हु ।’पार्शल पठाए पछि क्रुद्ध चन्द्रशमसेरले कृष्ण प्रसाद कोइरालाई पक्राउ गर्न मानिस खटाइहाले ।
त्यसपछि कोइराला परिवारका सबै सदस्यहरुका नाममा पक्राउ पुर्जी मात्र काटिएन, सबै सम्पत्ति जफत भयो, कृष्णप्रसादका ऋणिहरुको ऋण माफ गर्दै चुक्ता नगर्न आदेश भयो।उनको मातहतमा काम गर्ने कर्मचारीहरु सबै खोसुवामा परे ।

हरप्रकारका सुख सुबिधाले सम्पन्न कोइरालालाई साझ बिहानको छाक टार्न समेत धौ–धौ हुन थाल्यो।परिवारका सदस्य र आफन्त गरि ४५ जना उनी संग आस्रित थिए । रामचन्द्र अधिकारी (पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीका पिता) र बोध कोइराला (पूर्वप्रधानमन्त्री शुशिल कोइरालाका पिता) को परिवार पनि कृष्णप्रसादकै साथ प्रबासिएका थिए । भारतका विभिन्न ठाउँमा १२ बर्ष कष्टकर जिबनयापन गरेपछि श्री ३ चन्द्रको मृत्यु भयो र त्यस पछिका प्रधानमन्त्री भिम शमसेरले कृष्णप्रसादलाइ नेपाल बोलाए ।
यसरी राणा शासनको रजगज, हाइहुकुम भएको समयमा सिन्धुलीबाट बिराटनगर बसाइ
सरि आर्थिक, सामाजिक, ब्यापारिक कारोबारमा सबल र पुगिसरी भएको कोइराला परिवारको गृहस्थ जीवन शिक्षा, स्वास्थ्य, स्वतन्त्रता र प्रजातान्त्रिक हकाधिकारकै पैरबी गरेको कारण कसरी सर्बस्व सहित देश निकाला हुनुपर्यो ? प्रबासमा
रहदा आफ्ना बाल बच्चाहरुको लालनपालन, रेखदेख र कर्तव्य निर्वाह गर्दा के कस्ता आर्थिक कठिनाइ, समस्याहरु संग जुध्नु पर्यो ? बृटिश उपनिवेश विरुद्ध भारतिय स्वतन्त्रता सङ्राममा जबाहरलाल नेहरु, महात्मा गान्धी, जयप्रकाश नारायण, डा.
राममनोहर लोहिया लगाएतका भारतीय नेताहरु संग सम्पर्क स्थापित गरि कोइराला परिवार पनि कसरी भारतीय स्वतन्त्रता आन्दोलनमा भाग लिए बापत जेलनेलको सास्ती भोग्नु पर्यो ?

त्यसैगरी राणा शासन र एकमना पन्चायती शासन विरुद्ध प्रजातान्त्रिक हकाधिकारको लागि आन्दोलित हुँदा कसरी स्वदेशमै जेलनेलको सास्ती भोग्नु पर्यो ? इत्यादि बारे पनि बिपि आत्मबृतान्त मार्फत पोखिएका छन् ।
त्यसै गरि ००७ सालको क्रान्ति स्पष्टत भारतकै भरथेग, सहयोग र भाइचाराबाट भएको, राजाको बैधानिक नायकत्वमा राणा, राजा र काङ्ग्रेस बीच मन्त्रीमण्डल बिस्तार र त्यसमा भारतको अरहनखटन, दबदबा रहे भएको पनि उल्लेख गरेका छन् ।
राजा त्रिभुवन र महेन्द्रले कोइराला परिवारलाई कसरी उपयोग गरे र आखिरमा रच्छ्यानमा मिल्काए ? ०१७ सालको कु कसरी भयो ? बिपि र सुबर्ण शमशेरहरुको नेतृत्वमा कसरी सशस्त्र संघर्ष शुरु भयो ?

सशस्त्र संघर्षबाट शुरु गरिसके पछि हतियार खरिदमा परेका उल्झन आर्थिक समस्या, आफ्ना लडाकु कार्यकर्तालाई ब्यबस्थापन गर्न चुनौतीहरु, आफू कसरी मार्क्सवादको गहन अध्ययन अनुसन्धानमा लागेको र बिश्वास भाब पैदा भएको र झण्डै कम्युनिस्ट हुदै के कारणले कम्युनिस्ट बिरोधि हुन पुगेको ? आफू क्यान्सर जस्तो डरलाग्दो रोगले सताइदा, आर्थिक समस्याले थिलथिलो परेको अबस्थामा सुबर्ण शमशेरको भरपर्दाे आर्थिक, भौतिक तथा नैतिक सहयोग, जेलमा रहदा गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजा, पत्नी शुशिलाको मनोदशा र सहयोग, प्रधानमन्त्री हुँदा होस् वा गृहमन्त्री हुँदा आफ्नै सहोदर दाजु मातृकाप्रसाद कोइराला, आफ्नै मातृ पार्टी नेपाली काङ्ग्रेस,बिश्वबन्धु थापा,डा.केआइ सिह,टंकप्रसादआचार्य, डा.तुलसी गिरि जस्ता सहकर्मी साथीहरूले आफू विरुद्ध गरेका साजिस ÷ मोर्चाबन्दी, षड्यन्त्र, छलछाम र झेली हर्कतहरुलाइ पनि बिपिले ओकलेका छन्।

राणा प्रधानमन्त्री मोहनशमसेर कहाँ रहेको बिजुलि गारद सिहदरबारबाट नारायणहिटिमा गएको भोलिपल्टैबाट राजा त्रिभुवनको चमकदमक, पल्टनको सलामी लिन आतुर भाब मुद्रा, फुर्तिफार्ती देख्दा त्यसैदिन देखि राजाको हात माथि रहेको र प्रजातन्त्रको हात तल परेको दुखेसो र आफू स्वयंले समेत सिहदरबारमा रहेको पल्टनलाई नारायणहिटिमा ल्याउन राखेको प्रस्ताव र स्वीकृतिलाई समेत गलत र बेठीक भएको गहिरो अनुभुति, आत्मस्विकृती पनि बिपिले नढाटी भनेका छन् । ०३३ सालमा राजा संग मेलमिलापको नीति किन लिन पर्यो?यसबारेमा देशबासिको नाममा अपिल जारी गरेका छन् देशको समसामयिक बिषयबस्तुबारे आत्मबृतान्तमा काफी बर्णन गरिएको छ । आत्मबृतान्त
बारे बुझ्न् त पुस्तक पढ्नु नै पर्छ । जम्मामा आत्मबृतान्त पठनिय र संग्रहनिय छ ।