शिक्षासंगै संस्कार सिकाउँदै गुरुकुल एकेडेमी

दीपक वली
कुरा माघ २० गतेको हो गुरुकुल एकेडेमी घोराहीको बार्षिकोत्सव थियो । धेरै अतिथिहरुलाई निमन्त्रणा थियो । त्यो अतिथि मध्य म पनि परेको थिए । गुरुकुलको मुख्यद्धार अगाडि अतिथि तथा विद्यार्थी र सवारी साधनको भिड थियो । यही भिड छिचोल्दै भित्र प्रबेश गर्दै थिए । मुख्यद्धारमा विद्यालयका प्रधानाध्यापक डा.कृष्णराज डिसी, विद्यालयका भिभिन्न तहका संयोजकहरु हुनुहुन्थ्यो । उँहाहरु गेटमा उभिएको हेर्नलाई भन्दा पनि आगन्तुक पाहुनाहरुलाई स्वागत गर्नलाई तयारी अवस्थामा रहनुभएको थियो । त्यसै क्रममा विद्यालयको गाडी बच्चा लिएर विद्यालयमा आइपुग्यो र विद्यालय प्रवेश पश्चात गाडिबाट साना नानिबाबु ओर्लनुभयो र विद्यालयका म्यामहरुले गाला मुसारदै माया व्यक्त गर्दै स्वागत गर्नुभयो । त्यो क्षणले मलाई चसक्क छोयो । मैले पुलुक्क हेरें, गुरुकुल एकेडेमी लेखिएको हेर्दा टलक्क टल्किने हाइस थियो । यो सबै कृयाकलाप देखेपछि सानो कथा लेख्न मन लाग्यो ।

हो त्यहि दिन मैले पनि धेरै कुरा नियाल्न थाले । कहिले कार्यक्रम स्थल कहिले भान्सा कहिले कक्षा कोठा त कहिले त्यँहा आएका अभिभावकहरुलाई नजिकबाट नियाल्दै कथा संकलन गर्न थाले । विद्यालय पुग्दा गार्डले गर्ने ड्युटि चिनेका र नचिनेका ब्यक्तिहरुलाई समान हुन्छ किन कि विद्यालय भनेको हजारौ विद्यार्थीको सुरक्षाको जिम्मेवारी बोकेको हुन्छ त्यसैले मैले पनि गार्ड त्यहि अनुरुप गरिरहनु भएको थियो । विद्यालयले भावि पुस्ताको जिम्मा लिएको हुन्छ । अब्बल मानिस जन्माउने थलो विद्यालय हो । सीपयुक्त र क्षमतावान जनशक्ति तयार गर्ने विद्यालयले हो । ताते–ताते हिड्ने र तोतेबोली बोल्ने उमेरदेखि नै मन्टेश्वरीका नाममा विद्यालय पठाइन्छ । त्यहाँको पस्यो, किन पस्यो भन्ने जानकारी राख्न जरुरी छ । त्यसैले विद्यार्थीको सुरक्षाका लागि एकै समयमा ३ जना गार्डले ड्युटि गर्ने गरेको जानकारी मलाई गुरुकुल एकेडेमीका अध्यक्ष ई. अनन्तराज घिमिरेले दिनुभयो यो जानकारी पश्चात निकै खुशी लाग्यो किन कि अन्य विद्यालयमा यस्तो कडा नियम कतै भेटाएको छैन ।

म धेरै विद्यालय, सभा सम्मेलन तालिम गोष्ठीलगायत धेरै ठाँउमा गएको छु । तर गुरुकुल एकेडेमी जस्तो राम्रो वातावरण कतै भेटाउन सकिन । म गुरुकुल एकेडेमीमा पुग्दा त्यँहाका शिक्षक तथा कर्मचारी कोहि पनि खालि थिएनन् सबै आफ्नै ड्युटिमा ब्यस्त थिए । उता रोस्टम बाट अनुशासन संयोजक दुर्गा न्यौपाने म्यामले कसको ड्युटि के हो ? भनेर माइकबाट नाम बाचन गरिरहनु भएको थियो । विद्यालयका विद्यार्थीहरुको स्वास्थ्यमा निकै शतर्कता रहेको गुरुकुलमा स्वास्थ्य सेवाको ब्यबस्था पनि गरेको रहेछ । त्यसैले सबै विद्यार्थी तथा अतिथिहरुको स्वास्थ्य चेक जाँच गरिरहेको थियो । विद्यालयका मुख्य ब्यक्ति प्रधानाध्यापक लगायतको समुह अतिथि स्वागतमा ब्यस्त थियो भने भित्र कार्यक्रम तय गर्ने विवेक देवकोटा सरको समुह ब्यस्त थियो । पछि थाहा पाए विवेक देवकोटा सर त्यस बार्षिक उत्सव कार्यक्रमको संयोजक हुनुहुँदो रहेछ । हुन त त्यसै पनि विवेक देवकोटा काममा निकै मेहनतका साथ लाग्ने सर मध्ये उँहा पनि एक हुनुहुन्छ ।

उता साना बालबालिकाको हेरचाहमा मन्टेश्वरी संयोजक लोचना पौडेल म्यामको समूह ब्यस्त थियो । यो दृष्य हेर्दा म निकै आनन्दित भइरहेको थिए, सायद त्यो विद्यालयका अभिभावक पनि निकै खुशी र आनन्दित रहनु भएको थियो होला । त्यहाँ रहेका शिक्षकको फरक पोशाकमा पनि रहेको देखे र सबैको पोशाक किन फरक हो भनेर विद्यालयका अर्का शिक्षक तथा प्लस टुसंयोजक निमानन्द गैरेलाई प्रश्न तेर्साइ हाले त्यसपछि बल्ल थाहा पाए गुरुकुल एकेडेमीले शैक्षिक सत्र २०८१ बाट लमही र तुलसीपुरमा पनि विद्यालय संचालनमा ल्याउन लागेको रहेछ । विद्यालयका नव नियुक्त शिक्षक तथा शिक्षिकाहरु हुनुहुदो रहेछ जुन फरक पोशाकमा सजिनुभएको थियो । उहाँहरु पनि कार्यक्रम स्थलमा स्वागत कार्यमा ब्यस्त हुनुहुन्थ्यो । खेल प्रशिक्षक भुगोल पुनले मार्च पास तयारी गराउँदै हुनुहुन्थ्यो भने विद्यालयका प्लसटु संयोजक निमानन्द गैरेले प्रमुख अतिथि आइपुगेको जानकारी गराउँदै कार्यक्रम संचालन गर्न थाल्नुभयो ।

गुरुकुल एकेडेमीका अध्यक्ष तथा त्यस बार्षिक उत्सवको सभाध्यक्ष ग्रहण गर्नुभएका ई. अनन्तराज घिमिरे कसलाई अतिथि आशन गराउने, बोल्ने पालो कसलाई दिने, मायाको चिनो दिएर बिदाइ कति बेला गर्ने भनेर कार्यक्रमको संयोजकलाई निर्देशन दिइरहनु भएको थियो । कार्यक्रमको अध्यक्ष बनेर धुम्म परेर बसेको उहाँलाई मैले देखिन । कहि कतै गलत हुन जान्छ कि भन्ने डर उहाँमा थियो । यसले मलाई औधी आनन्द आयो । अगुवाले काम गर्नुपर्छ । त्यसपछि परिवर्तन हुन्छ भन्ने मान्यता मैले त्यस कार्यक्रममा भेटाए ।
मञ्चमा बच्चाहरुलाई लैजाने र ओराल्ने । सम्मानपत्र एवं मेडल तयारी गर्ने र अतिथिलाई उपलब्ध गराउने । खाजा बनाउने, पानी खुवाउने यावत काममा विद्यालयका सबै टिम खटेका थिए । म शिक्षक हुँ, मेरो काम यो मात्रै हो भनेर अखट्टो थापेको देखिएन । आइपरेको काम जेपनि, जसले पनि र जतिखेर पनि गर्ने सक्रियता देखे पछि मेरो मन असाध्यै रमायो । यदि विकास गर्नुछ भने जाँगरका साथ कुनै पदीय बार नहाली गर्नुपर्छ । यदि विद्यालयको चउरमा वा झ्यालबाट बच्चाले कागज फाल्यो भने प्रधानाध्यापक वा प्रिन्सिपल आफैले टिप्नुस् भन्दै आएका छौं । केही विद्यालयका शिक्षकहरुले बच्चाको फोहोर छुन घिन मान्नु हुन्छ । हातमा धुलो मैलो लाग्ला भन्ने डर मान्नुहुन्छ । कसैले फोहोर टिपेको देख्यो भने लाज होला भन्ने सोच्नुहुन्छ । अझ कतिपयमा फोहोर उठाउने काम कार्यालय सहयोगीको हो भन्ने चलन छ ।

 

शिक्षकहरु घर व्यवहारका गफ छाँटेर बस्छन् विद्यालय फोहोरको डंगुर हुन्छ । आफू धेरै पढेर लोक सेवा आयोग पास गरेर आएको शिक्षक ठूलो मान्छे हो । अरुलाई काम गराउनु पर्छ भन्ने सोच्छ । त्यसै भएर हुनुपर्छ धेरै सामुदायिक विद्यालय घुम्दा फोहोरको राश भेटिन्छ । विद्यार्थीको संख्या हरेक वर्ष घट्दा शिक्षक भन्दा कम हुन्छन् । कुन चाँही सामुदायिक विद्यालयमा त झन विद्यार्थी भन्दा पढाउने शिक्षक धेरै भन्ने सुनेको थिए । मलाई त्यो मञ्चको दृश्यले मात्रै पुगेन । उठेर अवलोकन तिर लागें । स्वीमिङ पुल असाध्यै सुन्दर देखियो । निकै रिस उठेको बेला त्यही पुलको डिलमा उभिएर एकहोरो हेर्दा पनि दुःख बिर्सिन्छ होला । छेउमै बगैंचा रहेछ । गमलामा केही हजारी थिए । अरु बोट विरुवाहरु पनि रोपिएका छन् । क्रिकेट खेल्नको लागि बगैचा भित्र जालि लगाएर बनाइएको रैछ । सम्पूर्ण शिक्षकहरुको फोटो सहित ठूला ठूला बोर्ड देखे अनि त्यो भन्दा पनि २०७९को एसईईमा ४ जिपिए संगै उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुको फोटो सहित ठूलो बोर्ड थियो । त्यहि बोर्ड धेरै अभिभावकको नजरमा थियो किन भने भोलिका दिनमा आफ्नो बच्चाको फोटो पनि यसरी ठूलो बोर्डमा देख्न पाउने आशा राखेर हुनुपर्छ । अनि गेटनजिकै पानीका फोहोरा फाल्ने बनाइएको छ ।

त्यो के जाते फाउन्टेन पनि भन्छन हो त्यहि बनाइएको रहेछ । असाध्यै सुन्दर ढंगले
रंग–रोगन गरिएको मुनाबाट पानी झर्ने बनाइएको रहेछ । त्यसको नजिकै हरियालीले गर्दा फोटो पनि लोभ लाग्दो दृश्य सहितको आउँदो रहेछ । यसो सेल्फी हानु कि जस्तो मनमा लागेको थियो, कता भुलेछु कुन्नि खिचेकै रहेनछु । पाँचवटा भवन रहेछन् । बीचमा पिच बाटोले छुट्याएको छ । जाँगरिलाको सुन्दर घर अगाडि जस्तै फूलको बगैंचा छ । हामीहरु धेरैका घर अगाडि नचाहिने झाडीले घिन लाग्दो बनाएको छ । त्यहाँ गेट नजिकै आफ्नो भूगोल जतिमा फूल रोपिएका रहेछन् । सबै बिल्डिङको दृश्य आँखामा खिच्ने मौका मिल्यो । पर्खाल पनि रङग रोगन गरेको सफाचट रहेछ । खेलकूदका अनेक सामग्री रहेछन् । मन्टेश्वरीका बच्चाहरुलाई खेल्न, रमाउन तथा दैनिकी रोचक बनाउन मद्दत गर्छन् ।

शौचालय जान मन लाग्यो फेरी अन्य ठाँउको शौचालयको हविगत देखेकै हो यँहा पनि यस्तै होला भनेर जान मन लागेन फेरी नगएर पनि सकेनँ अनि गए । मैले सोँचेको भन्दा फरक पाए । यस विद्यालयको शौचालय त्यहाँ सास फेर्दा कुनै किसिमको गन्ध नआएपछि आराम महसुस भयो । घरकै शौचालयमा समेत त्यति स्वच्छ सास फेर्न पाइँदैन । त्यति धेरै अभिभावक सहित ९ औं बार्षिक उत्सव मनाइ रहेको विद्यालयको शौचालयमा भने कुनै खोट लगाउन सकिन । त्यो दिनमा समेत शौचालय सफा थिए । बच्चाहरूका लागि उपयुक्त वातावरण लाग्यो । एउटा सफा घरमा पाइने सुविधा त्यहाँ थियो । शौचालयबाट बाहिर निस्कने बेला बेसिन नजिकको साबुन दानीमा ठुला साबुन तथा डेटोल राखिएको थियो । शौचालयबाट निस्केपछि बच्चाले साबुन पानीले हात धोएन भने अरु सफाइ व्यर्थ हुन्छ । एउटा कक्षा कोठाको ढोका खुल्यो ।

राउन्ड टेबुल, भित्ताभरी शैक्षिक सामग्री, कक्षा कोठामा ठुला ठुला एलइडि थिए । सम्पन्न परिवारको वासस्थान भन्दा कम लागेन । घरमा जस्तै सरसफाइ पाउँछ । घरको भन्दा बढी खेलकूदका सामग्री र साथी छन् । त्यसैले घर भन्दा विद्यालय जान बच्चा रुचाउँछ । यही कुरा अभिभावक रामप्रसाद पोख्रेलले भन्नुभयो । सबैभन्दा बढी अनुशासन चाहिन्छ । जति पाउनुपर्ने हो मेरो छोराले पाएको छ । म स्थापना काल देखि पढाउँदै आएको छु । उहाँले २०७२ सालमा स्थापना भएको बताउनुभयो । कतिपय विद्यार्थीहरुले जिल्ला तथा आफ्नो नाम समेत पाएका हुदैनन् । दाङमा कतिवटा पालिका छन् भनेर सोध्यो भने पनि धेरै ठाउँमा जानेका थिएनन् । त्यस विद्यालयमा भने केजीका बच्चा तोते बोलीमै फटाफट अंग्रेजीमा जवाफ दिए । म्यामले अंग्रेजीमा सोध्नुभयो । उनीहरुले सार्कका सबै देशका राजधानीको नाम भने । आफ्नो घर कुन प्रदेशमा छ भनेर जाने । घोराही, तुलसीपुर र लमहीका प्रमुख उपप्रमुखको नाम भने । यसैगरी राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री हुँदै धेरै जनाको नाम सामूहिक रुपमा एकै स्वरमा भन्न सके । तिनको त्यो क्षमताले मलाई साचिँकै यो विद्यालय शिक्षाको खानी हो जस्तो लाग्यो । धेरै विद्यालयमा शिक्षकहरुले पुस्तकमा लेखिएको मात्रै सिकाउने रहेछन् । दश वर्ष अघिका कुरा मात्रै रटाउने रहेछन् ।

अतिरिक्त क्रियाकलाप नगराउने विद्यालयले आवश्यकताको ज्ञान दिदैन । चाहिने कुरा सिकाउँदैन । त्यहाँ भने संघीयता पछिको परिवर्तित नक्सा र कार्यकारीहरुका बारेमा ज्ञान दिएइको रहेछ । भात पकाउन, घाँस काट्न ब्यापार गर्न लगायतका कुरा सिकाएको त हामीले गुरुकुल दाङ नामक फेसबुक पेजमा फोटो देखिरहेका हुन्छौँ । त्यहाँका कार्यकारी पदका अगुवाहरुको सक्रियता, काममा जुट्ने शैली मज्जाको थियो । त्यसकै फलस्वरुप छोटो समयमै गुरुकुल एकेडेमीले अनेक सफलता हासिल गरेको बुझियोे ।

त्यति ठुलो कार्यक्रममा पनि त्यँहाका विद्यार्थी यत्र–तत्र अनुशासन बाहिर देखेन त्यहाँका शिक्षकहरु सबैले विद्यार्थीहरुलाई निगरानीमै राखेर बसालेको देखे माथि लेखेको कुराहरु अनुभव गर्दा लाग्छ गुरुकुल अन्य विद्यालय भन्दा धेरैफरक छ त्यसैले सबैको रोजाइमा परेको छ । अनि अर्को कुरा तुलसीपुरमा संचालन हुन लागेको गुरुकुल एकेडेमीकोे प्रधानाध्यापक घोराहीकै गुरुकुलमा स्थापनाकाल देखि कार्यरत सहायक प्रधानाध्यापक रहेर कार्य संचालन गर्नु भएका मुकुन्द गिरी हुनु हुँदोरहेछ । त्यसैले तुलसीपुरमा पनि यस्तै तरिकाबाट पढाई हुने विश्वास छ । लमहीमा पनि धेरै अनुभवि शिक्षक तथा शिक्षिकाहरु भएको कारण शिक्षा सँगै संस्कारको विकास गरिने छ ।