घोराहीमा पार्किङको समस्या र समाधान

नारायण विवश
सडक सञ्जालको बिस्तार र बढदो शहरीकरणसँगै दाङमा दिनहँु यातायातका साधनहरुको पनी बृद्धि भइरहेको छ । घोराही र त्रिपुर नगरपालिका मर्ज भई घोराही उपमहानगरपालिका भइसकेपछि दुवै भुगोल र जनसङ्ख्यामा पनि बृद्धि हुनु स्वभाविकै हो । स्थापनाको हिसाबले पाँच दशक पार गरिसकेको छ ।  अझ घोराही दाड जिल्लाको सदरमुकाम भएका कारण जिल्लास्तरीय कार्यालय हुनुले पनि मानिस र यातायातका साधनको चाप बढ्नु स्वाभाविक हो । अहिले घोराही उपमहा नगरपालिकाका मुख्य मुख्य चोक र व्यस्त वजारमा सडक नै अवरुद्ध हुने गरी यातायाताका साधन खचाखच भरिएको देखिन्छ । यसले एकातिर दुर्घटनाकको खतरालाई निम्त्याइरहेको छ, भने अर्काेतीर शहर बजारलाई कुरुप बनाई दिएको छ ।
बित्तीय संस्था होउन या व्यापारिक पसल, सबैको अगाडि यातायातका साधनले बाटो छेकेको देखिन्छ । सडकमा यातायातका साधन निर्बाध चल्न पाउँदैनन् भने पैदल यात्री पनि दुर्घटनाको जोखिमबाट डराइडराइ हिड्नुपर्ने अवस्था छ । अझ त्यसैमा पनि सडक पेटीबाट हिड्ने पैदल यात्रीको अभ्यास नै बनिसकेको छैन ।
 सडक मिचेर यातायातका साधन तेस्र्याउने र व्यापारीले पेटीमा सामान सजाउने गरेकोमा केही समय यता नगरपालिकाले पेटीका सामान हटाउने कामको थालनी  गरेकोपछि केही सहज भए पनि पूर्णरुपमा समाधान भएको छैन । सडकमा तेर्साइएका सवारी साधनको व्यवस्थापन गर्ने काम पनि अघि बढाउन आवश्यक भइसकेको छ । यहाका बित्तीय संस्था तथा व्यापारीहरुको निजी पार्किङको व्यवस्था छैन । त्यसो हुँदा कर्मचारीले आआफ्ना कार्यालय तथा संस्था अगाडि र व्यवसायीले आफ्नो पसल अगाडि सडकमा आफूहरुका सवारी साधन तेर्साउँछन् । उता शहर बजारमा चल्ने अरु सवारी साधन कहाँ पार्किङ गरेर आफू लक्षीत काममा जाने यो समस्याबाट पनि पिरोलिएका छन्–सवारी चालकहरु ।
त्यसो त घोराहीस्थित सरकारी कार्यालयहरु, बित्तीय संस्थाहरु, स्वास्थ्य संस्थाहरुमा पार्किडको व्यवस्था भएको पाइदैन । जिल्लाकै ठूलो स्वास्थ्य संस्था राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत पार्किडको व्यवस्था नहुनु लज्जास्पद हो । जहाँ एम्बुलेन्स, निजी तथा भाडाका सवारी साधनहरु समेत दैनिक दुई सय जति सवारी साधनको आऊ जाऊ हुल्छ । तर, उसले आफ्ना कर्मचारीका साधनको मात्र पार्किडको व्यवस्था गरेको छ । पार्किङको अभावका कारण सडकमा यातायातका साधन तेस्र्याउन बाध्य पारिएको छ ।
उता सरकारी कार्यालय तथा बित्तीय संस्थाहरुमा पनि पार्किङको व्यवस्था नहुँदा सडकमा पार्किड गर्नुको बिकल्प छैन । त्यसो त अन्डरग्राउन्ड पार्किङको संरचना तयार गरिएका ठूलाठूला भवनहरुमा पनि पार्किङको व्यवस्था गरिएको छैन । ती भवनका अगाडि सडकमा साधन तेर्साएको देखिन्छ ।
उपमहानगरपालिकाले पार्किङको व्यवस्था नगर्दा समस्या त छँदैछ, उसैमा सडकमै सवारी साधन तेस्र्याएर मर्मतको काम गर्दा पनि नगरपालिका आँखा चिम्लिन्छ । अर्काे समस्या बजारका सडकहरुको दाँयाबाँया पहेलो रेखा लगाइएका कारण त्यसले उल्टो सन्देश दिएको छ । सडकपेटीबाट दुई फिट छोडेर रेखा लगाउनुपर्नेमा सडकदेखि पेटीसम्म सवारी साधन नै पार्किड गर्न मिल्नेगरी ठाउँ छोडेर रेखा लगाइएका कारण यो त पार्किङ गर्ने स्थल हो भन्ने बझाइका कारण  निर्वाध सडकमा सवारी साधन तेर्साइने गरिदा समस्या झन् जटिल बनेको हो । सवारी साधनहरु पैदलयात्री हिड्ने पेटीको नजिक नआउन भनेर पहेलो रेखा लगाइएको हो ।
त्यो ठाउँ पार्किङका लागि खाली राखेको होइन भनेर बझाउनु भन्दा पहेलो रेखा नै हटाउन जरुरी भइसकेको छ । पार्किङको संरचना भएका विशाल भवनहरुमा समेत पार्किङको व्यवस्था देखिन्न । घोराहीको मनटावर जुन भवनमा बैंकलगायत दर्जन बढी पसलहरु छन् । तर, पार्किड स्थलमा सवारी साधन पार्किङ नगरी सडक अबरुद्ध हुने गरी सवारीसाधन तेर्सिएका देखिन्छन् । अहिले त व्यवसायीहरुले आफ्नो पसल अगाडि अरुले सवारी साधन खडा गरिदिँदा रिसाउन थालेका छन् । घोराहीका कति व्यवसायीले पसल अगाडि नो पार्किङ, यहाँ पार्किङ निषेधजस्ता बोर्ड राख्न थालिसकेका छन् । यो सवारीसाधनवालाहरुलाई भन्दा नगरपालिकाका लागि चुनौति हो ।
पार्किङ यसरी व्यवस्था गर्न सकिन्छ
घोराहीमा भएको मनपरि पार्किङ नियन्त्रण गर्न घोराही उपमहानगरपालिकाले पनि शहरीक्षेत्रभित्र खाली जग्गा, ऐलानी, सिचाइ बन्द भएका कुलोहरु, वा फराकिलो सडकका किनारहरु खोजी गरी साना सवारीसाधनको पार्किङ व्यवस्था गर्न सक्छ । त्यस्तो सम्भव नभएका ठाउँहरुमा कसैका निजी जग्गा नगरपालिकाले भाडामा लिएर पनि पार्किङका लागि ठेक्का दिनुपर्छ ।
घोराहीको कुरा गर्दा बालमन्दिरको दक्षिणी पर्खालदेखि दक्षीण  र उत्तरी पर्खालदेखि उत्तर पट्टीको पश्चिमी पर्खालदेखि पश्चिमको साबिकको कुलो पार्किङका लागि ठेक्का दिन सकिन्छ । यसो गरियो भने रामजानकी मन्दिरदेखि पश्चिम, दामोदरचोक आसपास, तरकारी मण्डीदेखि पश्चिम मा हुने अन्धाधुन्ध पार्किङलाई तह लगाउन सकिन्छ । तुलसीपुर चोक आसपासमा हुने पार्किङलाई तुलसीपुरचोकदेखि पश्चिमस्थित बिधुत प्राधिकरणको पर्खालदेखि उत्तरको खाली ठाउँमा पार्किङ व्यवस्थापन गर्न सकिन्छ ।
यसैगरी निमा चलचित्र मन्दिर, अस्पताल, जिल्ला ट्र«ाफिक कार्याललय र बुद्ध हस्पिटल क्षेत्रमा हुने पार्किङलाई ट्र«ाफिकनेरको पिपलबोट वरिपरि रहेको खाली जमिनलाई प्रयोग गर्न सकिन्छ । यसैगरी बीपी चोकदेखि पश्चिम चौधरीगाउँ चोकसम्मका लागि र त्यहाँदेखि शहीद गेटसम्मका लागि सार्वजनिक जग्गा खोजी गरेर पार्किङ व्यवस्थापन गर्नुपर्ने देखिन्छ । यस्तै गणेश मन्दिरदेखि दक्षिण तथा शंकर मेडिकल हलदेखि उत्तरका लागि रझेना जाने चोकनेरका पूर्व र पश्चिमका दुई वटा पिपलका रुखको वरिपरि व्यवस्थापन गर्न सकिन्छ । यसका अतिरिक्त सार्वजनिक स्थानको अभाव हुन नसकेको अवस्थामा नगरपालिकाले स्वयं जग्गा खरिद गरेर वा जग्गा लिजमा लिएर पार्किङ व्यवस्थापन गर्नुपर्छ ।
यी सबै पार्किङ व्यवस्थापनको जिम्मा टेण्डर प्रथाबाट ठेक्कामा दिइयो भने नगरपालिकालाई आर्थिक भार पर्दैन । यसरी सःशुल्क पार्किङको व्यवस्था गर्न सकियो भने अन्धाधुन्ध सडकमा मोटर साइकल पार्किङको समस्या केही हदसम्म समाधान हुने देखिन्छ ।
व्यवसायीक पार्किङको पनि खाँचो
यहाँ मोटर साइकल पार्किङको समस्या जल्दो बल्दोरुपमा देखिएको छ भने हलुका सवारीसाधन कार भ्यानजस्ता सवारीसाधनको व्यवस्थापन गर्न पनि जरुरी भइसकेको छ । त्यसका लागि पार्किङको व्यवस्था निजीरुपबाट पनि गर्न सकिन्छ । पँैसा कमाउनका लागि पसलनै गर्नुपर्छ वा उद्योग नै खोल्नुपर्छ भन्ने केही छैन खाली दृष्टिकोणमा भर पर्ने कुरा हो । बजार क्षेत्रमा रहेका खाली जग्गामा जग्गाधनी स्वयंले पनि हलुका चारपाङ्गे सवारीसाधन सःसुल्क पार्किङको व्यवस्था गर्न सक्छन् ।
आफ्नो जग्गा नहुनेले अरुको जग्गा भाडामा लिएर पार्किङको व्यवस्था गरी पँैसा कमाउन सक्छन् । हाल मोटरसाइकलको समस्याले बढी आक्रान्त बनाएको छ । यसका लागि घोराही उपमहानगरपालिकाले तत्काल पहल गर्नुपर्ने देखिन्छ भने सरकारी भवन निर्माणको अनुमति दिदा नगरपालिकाले पार्किङको सर्त अनिवार्य गर्नुपर्छ । निजी स्तरबाट पनि पार्किङ व्यवस्थापनका लागि लगानी गर्न चाहनेहरुका लागि राम्रो सम्भावना छ । यसका लागि नगरपालिकाको चासो अनिवार्य छ ।