धर्म र राजनीति

लोकराज बराल
रामको मूर्ति स्थापना (प्राणप्रतिष्ठा) कार्यक्रम र त्यसको व्यापक प्रचारप्रसारले भारतीय राजनीतिलाई तरंगित पारेको छ । यसको बाछिटा अरू देशतिर पुग्ला भन्ने अनुमान पनि छ । विशेषगरी नेपालजस्तो अति नजिकको छिमेकीको वातावरणमा कस्तो प्रभाव पर्ला भन्ने पनि त्यस्तै चासो छ । अयोध्याप्रति धेरै चासो भाजपाको राम जन्मभूमिको लामो अभियान र भारतलाई हिन्दु सभ्यताको केन्द्र बनाउने उद्देश्यसित गाँसिएको छ ।
धर्म र राजनीति
भारतलाई एक सभ्यतामुखी देश बनाउने एजेन्डाका साथै हिन्दुत्वको गतिविधि अघि बढाउने थलोका रूपमा लिई राजनीतिक अभीष्ट पूरा गर्ने ध्येयले भाजपा अघि बढिरहेकाले विविधतामा अडेको सामाजिक र राजनीतिक अवस्थामा तलमाथि पर्ला कि भन्ने आशंका बढेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यस अभियानमा विशेष सक्रियता देखाउँदा आगामी निर्वाचनलाई आफ्नो पक्षमा पार्न यस्तो महत्त्व दिएको भन्ने डर पनि विपक्षी र अन्य सचेत वर्गमा परेको छ ।

आज विश्वमा राजनीतिक धर्म (पोलिटिकल रिलिजन) को प्रवृत्तिको आडमा घोर दक्षिणपन्थी राजनीति अघि बढिरहेको छ । यसले अधिनायकवादलाई बढाएको आभास पाइन थालेको छ । भारत र अन्य कतिपय देशमा धर्मका नाममा द्वन्द्व चर्किरहेको र यसले लोकतन्त्रप्रति वितृष्णा फैलाई पुराना रूढिवादी मान्यता र कामगराइ त अघि बढिरहेको छैन भन्ने डर आज सबै लाकतान्त्रिक देशमा पर्न गएको छ । भाजपाको उद्देश्य हो— भारतको पहिचान प्राचीन सभ्यता र संस्कृतिसित जोड्दै राष्ट्रनिर्माण गर्नु । तर यसो गर्दा अब धर्म र राजनीति छुट्टिन गाह्रो भएको छ । देशको राज्य व्यवस्था यस्तै पौराणिकतामा संगठित भइरहेकाले सबै दक्षिण एसियाली क्षेत्रलाई बृहत् भारतवर्ष बनाइने प्रयास त भइरहेको छैन भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

हिन्दू धर्म त्यसै पनि फराकिलो र उदार भएकाले यो लचिलो छ, यसमा अतिवाद पाइँदैन । तर धर्मले संकुचित राजनीतिक हतियारको रूप लियो भने अरू धर्म र सम्प्रदाय पनि यसको प्रतिकारमा उत्रिने सम्भावना रहन्छ । आज भारतमा हिन्दुत्व न कि हिन्दुवाद भन्ने तिखो बहस चलिरहेकाले समाज र धार्मिक समुदायहरू ध्रुवीकृत भइरहेका छन् । धार्मिक स्थल भनिँदै आएका ठाउँहरू दलविशेषको क्रीडास्थल भए सामाजिक विभाजन अरू तीव्र भई देश र लोकतन्त्रलाई घात गर्नेछ ।
भाजपाले उठाएको हिन्दु संस्कृतिमा आधारित व्यवस्था आफैंमा नराम्रो होइन । किनभने, करिब १ हजार वर्ष मुसलमानले शासन गरेकाले भारतमा आफ्नै मौलिक संस्कृति ओझेल परेको थियो । हिन्दुहरूको धार्मिक परम्परा—जसलाई सभ्यता भन्दा हुन्छ—को रक्षाका लागि उग्र प्रतिकार गर्ने क्षमता नदेखाउँदा मुसलमान शासकले सजिलै त्यतिका वर्ष राज गरे । भारतमा अंग्रेजले मुसलमान शासकहरूलाई पराजित गर्दै नलगेका भए र अंग्रेज असफल भएका भए सायद भारतमा स्वतन्त्रताको आन्दोलन हुने थिएन र इस्लाम आधिपत्य लामो समय कायम हुने सम्भावना थियो ।

अंग्रेजको लामो इतिहास, धर्म र राज्यको मध्ययुगीन लडाइँको ज्ञान भएकाले नै आज पोप सरकारी कामकाजमा हावी हुन पाउँदैनन् । राज्यको आफ्नै काम र चर्चको क्षेत्र अर्कै भएको मान्यतामा आधारित राज्यव्यवस्था भनेकै धर्मनिरपेक्षको मान्यता हो । लोकतन्त्रमा राज्यको आफ्नै घोषित धर्म हुँदैन । धर्मनिरपेक्षतालाई लोकतन्त्रको एक आधारभूत सिद्धान्तका रूपमा मानिएको छ । धर्म र राजनीतिको भेद नबुझ्दा या धर्मलाई राजनीतिक हतकण्डाका रूपमा प्रयोग गर्दा राजनीतिक–धार्मिक विवाद बढ्न थालेको हो । तर युरोपेली देशहरूले धर्म र उपनिवेशलाई साथसाथै अघि बढाए र कतिपय अवस्थामा पहिले बाइबल अनि बन्दुक र रणनीति प्रयोग गरी विश्वस्तरमा प्रभुत्व जमाए । तर आफ्नो धर्म अरूलाई लादेनन् । भारतमा अंग्रेज शासनले भारतीय राष्ट्रिय आन्दोलन अघि बढाउन सहयोग पु¥यायो । उनीहरू लामो संघर्षपछि प्राप्त उदार लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्थे जसले गर्दा भारतका नेता–बुद्धिजीवी सबै यस्तै परम्परामा दीक्षित भए । उनीहरूलाई आफ्नो हराएको सभ्यता, संस्कृति र पहिचानको खोज गर्ने प्रेरणा मिल्यो ।

अतः उपनिवेशवादले मुस्लिम शासनको अन्त्य गरी नयाँ भारत निर्माणको बाटो बनाइदियो । यो एक किसिमको लामो संक्रमणकालीन अवस्था थियो । अंग्रेज शासनले भारतीय साधनस्रोतको दोहन गरी जनस्तर उठाउन ठोस काम नगरेको भए पनि भारतीय पुनर्जागरणको युगको थालनी गर्न ठूलो मद्दत ग¥यो । सन् १७५७ को प्लासीको लडाइँदेखि सन् १९४७ सम्म अनेक घात–प्रतिघात भए तर यहीबीच भारतले उदार लोकतन्त्रको राम्रो अभ्यास गर्ने (इन्टर्नसिप) समय पनि पायो जसको फल आजको भारतको संविधान हो । अनेक दार्शनिक, चिन्तक, संविधानविद् र राजनेताको भूमिकाको पृष्ठभूमि अंग्रेज शासनकै समयमा बन्यो । त्यसैमा दीक्षित नेतृत्वले भारतको राजनीतिलाई स्थायित्व दियो र पश्चिमी प्रभावबाट आएका लोकतन्त्रका मान्यता ग्रहण गरी संस्थागत विकासमा प्रगति ग¥यो ।

आज (जनवरी २६) भारत ७५ औं गणतन्त्र दिवस मनाइरहेको छ । विश्वमा आफ्नो पहिचानको नयाँ रूप देखाउन लागिरहेको छ । सरकार परिवर्तन भए पनि व्यवस्था परिवर्तन गर्ने वा राजनीतिक दल वा नेताको असफलतालाई व्यवस्थाको असफलता मानिँदैन । यसका अभ्यासक्रममा अनेक समस्या झेल्नुपरे पनि लोकतन्त्रको विकल्पमा सडेगलेको पुरानो अधिनायकवादी तन्त्र ल्याउने कुरा चलेको कतै पाइँंदैन । यसै व्यवस्थाभित्र भारतले विकासमा फड्को मारिरहेको छ एवं अब विश्वगुरुको पहिचान र आफ्नै सभ्यतामा आधारित राज्य (सिभिलाइजेसनल स्टेट) बनाउने अभियानमा लागेको छ ।

रामराज्यको परिकल्पना भनेको असल शासन हो । त्यहाँ भ्रष्टाचार, ठगी, चोरी, बिचौलियाको बिगबिगी केही हुँदैन । जनमुखी हुने भनेकै मर्यादित रामको शासन जस्तो हुने भन्ने हो । धर्म भनेको मूर्तिपूजा, कर्मकाण्ड होइन तर धेरैजसोले यही बाटामा आफ्नो आचरण सुध्रिने विश्वास गर्छन् । ‘मुखमा रामराम बगलीमा छुरा’ धर्म होइन । व्यक्तिविशेष जतिसुकै धेरै मन्दिर धाए पनि, होम गरे पनि आचरणमा परिवर्तन भएन भने त्यो आडम्बर मात्र हुन्छ । लोकतन्त्रमा धर्म भनेको जनप्रेमी, दया र करुणाको अभ्यास गर्नु हो । मलाई कर्मकाण्डमा विश्वास छैन तर आफूलाई अधर्मी ठान्दिनँ, किनभने मैले कसैको गाँस खोसेको छैन ।

समाज कल्याणमा आफ्नो गच्छेअनुसार लाग्न सकूँ भन्ने उत्कट अभिलाषा छ । अन्याय नसहनु, साँचो कुरा गर्नु र राग–द्वेष भरसक त्याग्नु नै धर्म हो । तर विडम्बना के छ भने, मानिसहरूले आफ्नो महत्वाकांक्षाका लागि धर्मलाई हतियारका रूपमा प्रयोग गरिरहेका छन् । कोही कुनै एजेन्डा नपाएर हिन्दुराष्ट्र बनाउने अभियानमा लागेका छन्, अरू कोही स्थापित गणतन्त्रलाई अचानो बनाई मार्न उद्यत छन् । उनीहरूमा न दूरदृष्टि छ, न त कुनै योजना । आजका केही विसंगति र कमजोरीका बलमा यी जुर्मुराउन खोज्छन् । यो त राजनीतिको चलन नै भएको छ । चुनावमा यस्ता भ्रष्ट र अयोग्य नेतालाई पाखा लगाए त भइहाल्छ, किन अन्य बहाना खोज्नु ? उनीहरू गरिब, दलित र असहायका कति हिमायती छन् ?
अयोध्यामा देखिएको तामझामले नेपालमा पनि मोदी जादु चल्छ कि भनी आस गर्नेहरू पनि छन् । भारतमा जे हुन्छ यहाँ पनि त्यही हुन्छ भन्ने आधार छैन । हिन्दुत्वको एजेन्डाले भारतलाई हित गर्ने आधार अत्यन्त कमजोर छ । नेपाल र भारतको स्थिति फरक छ । नेपाली समाजको संरचना भारतको भन्दा बेग्लै छ । यो समाज त्यसै पनि उदार, सहिष्णु, समन्वयकारी छ । सबै धर्मको सम्मिश्रण (सिन्थेसिस) ले नेपाली समाज बनेकाले यहाँ धार्मिक अतिवाद छैन । सबैले सबै धर्मको संरक्षण र मर्मको पालना गरेका छन् ।

भारतमा जस्तो इस्लाम र इसाई धर्मको ऐतिहासिक बिगबिगी यहाँ थिएन र छैन । कुनै धर्मको प्रचारमा केही गतिविधि भए पनि त्यसको प्रभाव कम छ । सबैले आआफ्ना धर्ममा आस्था राखेका छन् । अर्काले धर्मका नाममा दंगा गराउन खोजे पनि जनता आफैंले समाधान खोज्ने गरेका उदाहरण छन् । संविधानमा एक शब्द धर्मनिरपेक्ष राख्ता सबैको चित्त बुझ्छ भने यस

मा वितण्डा किन मच्चाउनुप¥यो ? खालि राजनीतिक दुनो सोझ्याउन मात्र यस्ता असान्दर्भिक बहस उठाइरहनु किन प¥यो ?
नेपालको समस्या भनेको राजनीतिक नेता पीँधबिनाका लोटा हुनु हो । उनीहरूको सैद्धान्तिक धरातल बलियो भए अरूले जेजे गर्छन् हामीले त्यही बाटो लिनुपर्दैन । नेपाल त्यसै पनि हिन्दु, बौद्ध शैव, किरात आदि धर्म–संस्कृतिमा उभिएकाले यसको आफ्नै परम्परा छ । त्यसैले सबै धार्मिक छन् । यसका लागि हिन्दुराष्ट्रको रटान लगाइरहनु पर्दैन ।