अवधि नपुगी जन्मेका ३३ प्रतिशत बच्चा भरतपुर अस्पतालको एनआईसीयूमा भर्ना

१६ माघ, चितवन । चितवनको भरतपुर अस्पतालको एनआईसीयूमा भर्ना भएका नवजात शिशुमध्ये करिब ३३ प्रतिशत अवधि नपुगी जन्मिएको (प्रिम्याच्योर) रहेको पाइएको छ ।

पछिल्ला वर्षहरुमा यस्ता नवजात शिशुहरुको संख्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । भरतपुर अस्पतालको एनआईसीयू इन्चार्ज डा. ओमकृष्ण पाठकका अनुसार यसरी एनआईसीयूमा भर्ना भएका प्रिम्याच्योर बच्चालाई तीन महिनासम्म उपचार गर्नुपरेेको बताउँछन् ।

सानै उमेरमा गर्भवती हुने, छिटो छिटो गर्भवती हुने, धेरै बच्चा जन्माउने, चुरोट, रक्सी सेवन गर्ने, प्रदूषण, संक्रमणजस्ता कारणले पि्रम्याच्योर बच्चा जन्मिने गरेको उनको भनाइ छ ।

भरतपुर अस्पतालमा गर्भ रहेको २५ हप्तामा ६१० ग्राम तौल भएको शिशु समेत जन्मिएको थियो । उनलाई ९७ दिनसम्म एनआईसीयूमा राखेर उपचार गरेर घर पठाएको डा. पाठकले बताए ।

प्रिम्याच्योर शिशुको संख्या बढ्दै जाँदा एनआईसीयूको बेड लामो समयसम्म होल्ड हुने र अरु शिशुले उपचार नपाउने समस्या देखिन थालेको छ । गर्भ रहेको ३७ हप्तादेखि ४० हप्तासम्म जन्मिएको बच्चालाई साधारण मानिन्छ । त्यसभन्दा अगाडि जन्मिएका शिशु र तौल निकै कम भएको शिशुको एनआईसीयूमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।

२८ हप्ताभन्दा कम समयमा जन्मिएको शिशुलाई एक्सट्रिम प्रिटम, २८ देखि ३२ हप्तासम्मको लागि भेरी प्रिटम र ३२ देखि ३७ सम्मकोलाई मोडरेट टु लेट प्रिटम भन्ने गरिन्छ ।

डा. पाठकले नेपालमा नवजात शिशुको मृत्युदरलाई पछिल्लो ५ वर्षको अवधिमा खासै घटाउन नसकिएको बताए । १ हजार जीवित जन्ममा एक वर्षभन्दा कम उमेरका २१ जना बच्चाको मृत्यु हुने गरेको छ । नेपालले १ वर्षभन्दा बढी र ५ भन्दा भन्दा कम उमेरका बच्चाको मृत्युदरमा अपेक्षाकृत कमी ल्याउन सके पनि १ वर्षभन्दा कम उमेरका बच्चाको मृत्युदरमा कमी ल्याउन भने सकेको छैन ।

सन् २०३० भित्र प्रति १ हजार जीवित जन्ममा हुने मृत्यु हुनेको संख्या १२ मा झार्ने सरकारको लक्ष्य रहेको डा. पाठकले बताए । जन्मदा निस्सासिने, संक्रमण तथा पिम्याच्यार सुत्केरीका कारणले नवजात शिशुको मृत्यु हुने गरेकाले यसमा नै कमी ल्याउनुपर्ने डा. पाठकको भनाइ छ ।

बच्चाको घाँटीमा साल बेरिएमा वा फोक्सोमा असिक्जन नपुगेमा बच्चा निस्सासिने गर्छ । जन्मिने क्रममा निस्सासिएको बच्चा जन्मेपछि पुछपाछ गर्दा रुन पनि सक्छ, नरोएमा अक्सिजन दिनुपर्ने वा भेन्टिलेटरमा राख्नुपर्ने डा. पाठकको भनाइ छ ।

२.५ देखि ४ किलोग्राम तौल भएका बच्चालाई साधारण, २.५ देखि १.५ किलोग्रामको बच्चालाई कम तौल, १.५ देखि १ किलोग्रामको बच्चालाई कम तौल भएको बच्चालाई मानिन्छ । १ किलोग्राम भन्दा कम तौल भएकोलाई अति कम तौल भएको भनिन्छ । जति कम तौल हुन्छ त्यति नै पि्रम्याचोर बच्चा जन्मिने र खतरा हुने डा. पाठकको भनाइ छ । पिम्याच्योर डेलिभरी हुन नदिनका लागि जनचेतना फैलाउनुपर्ने डा. पाठक बताउँछन् ।

‘गर्भवतीलाई विशेष ख्याल गर्ने, गर्भवती भएपछि फोलिक एसिड खुवाउने, बेलाबेलामा गर्भवती जाँच गराउने, आराम गर्ने हो भने यस्ता समस्या कम हुन सक्छ’, डा. पाठक भन्छन्, ‘पछिल्लो समय शहरीकरणको प्रभाव, त्यसबाट सिर्जित दीर्घरोग, वातावरण प्रदुषण र खानपिनले गर्दा पनि पिट्रम डेलिभरी हुने गरेको देखिन्छ ।’

महिना नपुगेका र समस्या देखिएका गर्भवती महिलाहरुले सुविधा सम्पन्न अस्पतालमा मात्रै प्रसुति सेवा लिनुपर्ने सुझाव डा. पाठकको छ । जन्मिएपछि पि्रम्याच्योर बच्चा उपचारका लागि ल्याउनु खतरा हुन सक्ने भएकाले जोखिम समूहमा रहेका आमाहरुले सुविधा सम्पन्न अस्पतालमा प्रसुति सेवा लिंदा बच्चामा आउन सक्ने जोखिमलाई कम गराउन सकिने डा. पाठकले बताए ।

जन्मने बेलामा बच्चाको मुटु, फोक्सो र दिमागलाई राम्रो बनाउने औषधि, आवश्यक पर्दा तत्काल शल्यक्रिया गर्ने अवस्था र एनआईसीयूसम्मको व्यवस्था नहुँदा नवजात शिशुको मृत्यु हुन सक्छ । तौल पुगेका बच्चाहरुलाई जन्मनेबित्तिकै पुछेर तापक्रम सन्तुलनमा राख्न ‘कंगारु मदर केयर’ आवश्यक पर्छ ।

भरतपुर अस्पतालमा ४० बेड क्षमताको एनआईसीयू, १० जना एनआईसीयू मात्रै हेर्ने मेडिकल अफिसर, ११ जना विशेषज्ञ चिकित्सक र ३० जना तालिम प्राप्त नर्सहरु छन् ।

काठमाडौंको प्रसुति गृहपछि सबैभन्दा धेरै प्रसुति गराउनेमा भरतपुर अस्पताल पर्छ । यहाँ अझै एनआईसीयूको पूर्वाधारमा लगानी गर्नुपर्ने आवश्यकता रहेको डा. पाठकले बताए ।

उनले नवजात शिशुका लागि अति आवश्यक पर्ने कतिपय औषधिहरू औषधि व्यवस्था विभागले बिक्री अनुमति नदिएका कारण उपचारमा असहज हुने अवस्था छ । विश्वका सबैजसो देशमा चल्ने कतिपय अत्यावश्यक औषधि नेपालमा रोक लगाइनु दुःखद भएको डा. पाठक बताउँछन् ।