जुल्के सामुदायिक वनको अध्यक्षमा ओमप्रकाश निर्विरोध

शिवु खनाल
देउखुरी, १० माघ
जुल्के सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा ओमप्रकाश रोका निर्विरोध निर्वाचित भएका छन् । बुधवार सम्पन्न २२ औँ वार्षिक साधारण सभाले रोकाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा तिलसरी नेपाली बादी, कोषाध्यक्षमा विद्याकुमारी गुरुङ्, सचिवमा दिलकुमारी रोका, सदस्यमा नन्द पुन मगर, सुनकुमारी बुढा, रुद्रविर दमाई, सिता रावत, लक्ष्मी बुढा मगर चयन भएका छन् ।

राजपुर गाउँपालिका वडा नम्बर ७ एैराना स्थित जुल्के सामुदायिक वन उपभोक्ता समूहको २२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । श्री जुल्के सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष ओमप्रकाश रोकाको अध्यक्षता तथा सव–डिभिजन वन कार्यालय गंगदीका प्रमुख मनोज शाहको प्रमूख अतिथिमा सम्पन्न कार्यक्रमा बोल्दै शाहाले सामुदायिक वनले उद्यमशिलता तर्फ जोड दिनुपर्ने बताउनुहुदैँ, सामुदायिक वन क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उहाँले वनको क्षेत्रमा भइरहेको अतिक्रमण हटाउन नवनिर्वाचित समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राख्नुभयो । उहाँले भन्नुभयो–। ‘वडाको अपेक्षा अनुसार वन क्षेत्रको विकास र पर्यटक ल्याउने गुरुयोजना तयार गर्न सबैको सहयोग अपरिहार्य छ । वन क्षेत्रलाई उत्पादनमुखी बनाउन फलफूलको रुख रोप्नुपर्ने जरुरी रहेको छ ।’ वन क्षेत्रको संरक्षण गर्न सव–डिभिजन वन कार्यालय गंगदीले आर्थिक, भौतिक र नैतिक रूपमा सक्दा सहयोग गर्ने प्रतिद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै वनका अध्यक्ष ओमप्रकाश रोकाले करिब ४ सय ९८ हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रको संरक्षण गर्ने दायित्व सबै स्थानीयवासीको रहेको उल्लेख गर्नुभयो । उहाँले २०५८ सालमा स्थापना भएको सामुदायिक वनलाई पर्यटकीय क्षेत्रको नामकरण गर्न यो समूहले मुख्य भूमिका खेलेको बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष ओमप्रकाश रोकाले वन क्षेत्रलाई आयआर्जनको लागि प्रयोग गरिने बताउनुभयो । कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य धनिप्रसाद खड्का, सल्लेरी सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष दिपक घर्ती लागायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।।