सरकारका कारण मुलुक असफलताको मार्गमा–महासचिव पोखरेल

दाङ,  । नेकपा (एमाले) दाङको आयोजनामा बिहीबारदेखि तीनदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । अगुवा नेता कार्यकर्ता सहभागी भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै महासचिव शंकर पोखरेलले सरकारका कारण मुलुक असफलतातर्फ लम्किरहेको टिप्पणी गर्नुभयो । ‘मुलुक दिन प्रतिदिन असफल बन्दै गइरहेको छ । सरकारसँग मुलुक हाँक्ने भिजनको अभाव देखियो । वर्तमान सरकार रहँदासम्म समृद्धिको यात्रा अगाडि बढ्दैन’, पोखरेलले भन्नुभयो ।

मुलुकको सबैभन्दा लोकप्रिय मत प्राप्त गरेको पार्टी नेकपा (एमाले) सरकारबाहिर हुनु दुर्भाग्य रहेको भन्दै उहाँले भन्नुभयो, ‘जनताले रोजेको शक्तिले शासन गर्न नपाएको कारण मुलुक असफल बन्दै छ । जनतामा चौतर्फि निराशा बढेको छ ।’ सरकारका मन्त्रीहरुमा मनपरि चलिरहेको भन्दै उहाँले यो क्रम बढ्दै जाने हो मुलुक कहिल्यै उठ्न नसक्ने गरी कमजोर बन्ने बताउनुभयो । बलियो राष्ट्रिय शक्ति निर्माण गरेर मात्र जनताको निराशा चिर्न सकिने भन्दै पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माणको दिशामा लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘देशलाई विकासको मार्गमा अघि बढाउन बलियो राष्ट्रिय शक्तिको आवश्यकता भइसकेको छ’, पोखरेलले भन्नुभयो, ‘गठबन्धनको नाममा जे गरे नि हुन्छ । जसरी अगाडि बढ्दा नि हुन्छ भन्ने मानसिकता देखिएको छ । जिम्मेवार नेताहरु नै जालझेल गरेर जनता झुक्याउने दिशातर्फ उन्मुख भइरहनुभएको छ । यसलाई समयमै बुझ्न सकिएन भने मुलुक थप दुर्घटनामा फस्छ ।’

अहिलेको जनादेशले मुलुकलाई स्थिरताको बाटोमा लैजान नसक्ने दाबी गर्दै महासचिव पोखरेलले वर्तमान सत्ता गठबन्धन सबै हिसाबले असफल भएको दाबी गर्नुभयो । ‘अहिलेको जनादेशले मुलुकलाई स्थिरताको बाटोमा लैजान सक्दैन भन्ने प्रमाणित स्वयं सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले गरिसक्नुभएको छ’, पोखरेलले भन्नुभयो, ‘वर्तमान सत्ता गठबन्धन सबै हिसाबले असफल भइसक्यो । यो गठबन्धन जनमतबाट पनि अस्वीकृत भइसकेको छ र कर्मद्वारा पनि असफल भइसकेको छ, यो सरकार हनु भनेको मुलुक बरबादी तर्फ जानु हो ।’
गठबन्धन सरकार निर्माण पछि सांस्कृतिक विगठनको क्रम पनि तीव्र रूपले बढेको उहाँले टिप्पणी गर्नुभयो । त्यस्तै अहिले मुलुक चरम आर्थिक मन्दीको अवस्थामा रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्रीका विदेश भ्रमणको कुनै पनि औचित्य नदेखिएको दाबी गर्दै उहाँले अघिल्ला सरकार उपलब्धी बचाउनसमेत वर्तमान सरकार असफल भएको बताउनुभयो ।

नेकपा (एमाले) जनताले हुर्काएको पार्टी भएको बताउँदै उहाँले भन्नुभयो, ‘एमाले जनताको मायाले हुर्किएको पार्टी हो । नेताहरु जनतासम्म पुग्न नसकेको गुनासा आइरहँदा हामीले मिसन ग्रासरुट अभियान चलायौं । जसले वडासम्मको पार्टीको अवस्था विश्लेषण गर्न सकेका छौं । अभियानबाट आएका सुझावका आधारमा व्यवस्थित योजना बनाएर पार्टी अघि बढेको छ ।’

नेकपा एमालले सम्पन्न गरेको मध्यपहाडी लोकमार्ग समृद्धिका लागि संकल्प यात्राले मुलुकको राजनीतिलाई गलत बाटोमा लैजाने कार्यलाई ब्रेक लगाइदिएको दाबी गर्दै महासचिव पोखरेलले मुलुकलाई जातीय अतिवाद, धार्मिक अतिवाद तथा पश्चगमनतर्फ लैजाने प्रवृत्ति माथि सो यात्राले लगाम लगाइदिएको बताउनुभयो । मध्यपहाडबाट मानिसहरूको बसाइसराई नरोकिएकोप्रति चिन्ता व्यक्त उहाँले पूर्वाधार पहाड चढ्ने तर मानिस ओरालो झर्ने प्रवृत्तिलाई कसरी रोक्न सकिन्छ भनेर सो यात्रा आयोजना गरिएको प्रष्ट पार्नुभयो ।

‘संकल्प यात्रा एमालेको मात्र नभएर देशकै यात्रा थियो । मध्य पहाडलाई कसरी मानिस बस्नलायक बनाउन सकिन्छ भन्ने कुरामा सबै क्षेत्रबाट सल्लाह सुझाव पार्टीलाई प्राप्त भएका छन्’, पोखरेलले भन्नुभयो, ‘यात्राको क्रममा मध्यपहाडको सांस्कृतिक विविधता पनि प्रकट भएको छ । अत्यन्त छोटो समयमा नेपालको विविधता यात्राको क्रममा प्रकट भएको छ । सांस्कृतिक विशेषतालाई एउटै मालामा उन्ने काममा यात्रा सफल भएको छ ।’

सरकारका गलत प्रवृत्तिलाई एमाले कार्यकताले बिरोध गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘सरकारका गलत क्रियाकलापको बिरुद्ध जुटेर प्रतिवाद गर्नुपर्ने अवस्था आएको छ । प्रतिपक्षमा रहेको बेलामा पनि सत्ता पक्ष, कथित नयाँ शक्ति र राजवादी भनिएकाहरूको प्रहारको निशाना पनि एमाले परेको छ । यसको बिरुद्ध एमाले प्रतिबद्ध भएर लाग्नुपर्छ ।’
विहिबारको प्रशिक्षण कार्यक्रममा महासचिव शंकर पोख्रेल, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थी र नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेलले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्यक्रममा एक सय बढी अगुवा कार्यकर्ताहरुको सहभागीता रहेको छ ।