माघ २ गते सरकारले भूकम्प सुरक्षा दिवस मनाउने

काठमाडौं, पुस २६ गते। सरकारले माघ २ गते २६ औँ भूकम्प सुरक्षा दिवस, २०८० मनाउने भएको छ।

बिहीबार २६ औँ भूकम्प सुरक्षा दिवस प्रचारप्रसार समितिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो।सरकारले माघ २ गते ‘स्थानीय श्रोत र प्रविधि समेत प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नारासहित दिवस मनाउन लागेको हो।

वि.स. १९९० साल माघ २ गतेका दिन गएको महाभूकम्पको स्मृतिमा २०५५ सालदेखि सरकारले हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ।विगतका वर्षको जस्तै यो वर्ष पनि सरकारले देशभर विभिन्न भूकम्पीय सचेतना कार्यक्रम गर्दै मनाउन लागिएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले जानकारी दिनुभयो।

उहाँले २६ औँ भूकम्प सुरक्षा दिवस समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति रहने बताउनुभयो।

उहाँले नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवन संहिता विशेष गरी स्थानीय तहबाट हुने नक्सा पासमा अक्षरशः पालना हुँदा मात्रै सोचेको भूकम्प सुरक्षा सुनिश्चित गर्न सकिने बताउनुभयो।उहाँले कमजोर घर संरचनालाई सुरक्षित बनाउन प्रबलीकरण कार्य अगाडि बढाउनु आवश्यक रहेको बताउनुभयो।