पत्रकार महासंघ दाङ र दाङ उवासंघबीच मैत्रीपूर्ण फुटबल सम्पन्न

दाङ, २१ पुष ।
दाङको घोराहीबाट प्रकाशित हुँदै आएको गणतन्त्र राष्ट्रिय दैनिकको १७ औं वार्षिकोत्सवको अबसरमा नेपाल पत्रकार महासंघ दाङ शाखा र दाङ जिल्ला उद्योग बाणिज्य संघबिच मैत्रीपूर्ण फुटबल प्रतियोगीता सम्पन्न भएको छ। घोराही बनाऔं अभियानको समन्वयमा नवलपुर खेल मैदानमा सनिवार बिहान भएको खेल बराबरीमा टुंगिएको छ ।
प्रकाशक, सम्पादक एंव घोराही बनाऔं अभियानको संयोजक सविन प्रियासनको अध्यक्षता तथा घोराही १४ का वडा अध्यक्ष भानसिं बुढाको प्रमुख आतिथ्यता र घोराही १५ का वडा अध्यक्ष रमेश पाण्डेको विशिष्ठ आतिथ्यमा एक औपचारिक कार्यक्रम गरेर खेलको सुरुवात गरिएको थियो ।

पत्रकार महासंघको टिमबाट खेलको पहिलो हापमा आरके सितलले १ गोल गर्दै टिमलाई अग्रता दिलाउनु भएको थियो । त्यसपछि खेलको पहिलो हापमै उद्योग वाणिज्य संघको टिमका तर्फबाट जर्सी नम्बर ५ का लुमाकान्त पुलले दुई गोल गर्दै टिमलाई अग्रता दिलाउनु भएको थियो । विक्रम राणाले खेलको दोस्रो हापमा थप एक गोल गर्दै टिमलाई जितको नजिक पुराउनु भएको थियो । खेलको अन्तिम समयमा पारश पुन मगरले एक र सविन प्रियासनले एक गोल गर्दै खेललाई बराबरीमा पुराउनु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशी, जिल्ला ट्राफिक प्रहरी कार्यलय दाङका प्रमुख किरण प्रकाश मल्ललगाएत उद्योगी व्यवसायी तथा पत्रकारहरुको सहभागीता रहेको थियो । खेलमा सहभागी दुवै संस्थालाई सम्मान पत्र प्रदान गरिएको थियो ।

गणतन्त्र राष्ट्रिय दैनिकले हरेक बर्ष विभिन्न रचनात्मक काम गर्दै आफ्नो स्थापना दिवस मनाउदै आएको छ । शनिवार मैत्रीपूर्ण खेलकूद प्रतियोगिता सम्पन्न गरेको गणतन्त्र दैनिकले समृद्ध दाङ, सम्भावना र चुनौती विषयमा छलफल कार्यक्रम, विभिन्न क्षेत्रमा योगदान पुराउनु भएका व्यक्तित्वलाई सम्मान र पुरस्कृत गर्नेलगायतका कार्यक्रम तय गरिएको प्रियासनले जानकारी दिनुभएको छ ।