बैंकका कर्मचारी पलायन हुँदै, ७० प्रतिशतको गन्तव्य विदेश

दाङ, पुस । सेञ्चुरी कमर्सियल बैंकलाई गाभेपछि प्रभु बैंकले कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना ल्यायो। त्यो योजनामा १४५ कर्मचारीले आकर्षक सुविधा लिएर जागिर छाडे।
मर्जरमा गएका ग्लोबल आइएमई, लक्ष्मी सनराइज, नबिल, कुमारीलगायत अधिकांश बैंकले स्वेच्छिक अवकाश योजना ल्याएका थिए। ती संस्थाहरुबाट पनि कर्मचारी आकर्षक सुविधा लिएर बाहिरिए।
स्वेच्छिक अवकाश योजना नल्याएका बैंकहरुबाट समेत कर्मचारीले जागिर छाड्न थालेका छन्। उनीहरुमध्ये धेरैले नेपालकै अर्को कुनै कम्पनीमा आकर्षक तलब सुविधा पाएरभन्दा पनि विदेश जानका लागि जागिर छाडेका हुन्। ‘बीचमा जागिर छाड्नेमध्ये करिब ७० प्रतिशत हाराहारीले विदेश रोजेको देखियो,’ बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भन्नुभयो, ‘खासगरी राम्रो आम्दानी र सामाजिक–आर्थिक सुरक्षा भएका ठाउँमा उनीहरु गएको देखिन्छ।’

केसी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत हुनुहुन्छ। तुलनात्मक रुपमा पहिलेभन्दा अहिले उनको बैंकबाट जागिर छाड्नेहरुको संख्या बढेको छ। त्यसैका आधारमा उनले ७० प्रतिशतको हिसाब लगाएका हुन्। ‘मलाई लाग्छ बैंकिङ उद्योगमा पनि यस्तै होला’, उहाँले भन्नुुभयो।
बैंकिङ क्षेत्रमा तुलनात्मकरूपमा गुणस्तरीय शिक्षा पाएका कर्मचारी हुन्छन् भनिन्छ। सोर्सफोर्स लगाएर छिर्ने अपवादलाई छाडेर हेर्ने हो भने व्यवस्थापनमा राम्रो प्रतिशतसहित कम्तिमा स्नातक गरेकाहरु बैंकको ‘इन्ट्री लेभल’ मा हुन्छन्। कनिष्ट अधिकृत हुनै स्नातकोत्तर चाहिन्छ। एमबिए, सीए गरेकाहरुको रोजाइ बैंकिङ क्षेत्र हुने गरेको छ।
अहिले ती जनशक्तिले धमाधम बैंक छाड्न थालेका छन्। बैंक छाड्नुको प्रमुख कारण– भविष्य खुम्चँदो देख्नु हो । अर्थतन्त्रमा आएको मन्दीको असर बैंकिङमा पनि परेकाले कर्मचारीमा ‘यो पेसामा वा देशमा मेरो केही पनि हुँदैन’, भन्ने निराशा कर्मचारीमा बढेको बैंकरहरु बताउँछन्।

नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली ‘अर्थतन्त्रमा निराशा छ। उद्योगधन्दा चलेका छैनन्। अधिकांश समस्यामा छन्। सबै समस्यामा पर्दा बैंकिङ मात्र अछुतो हुँदैन’ भन्नुहुन्छ । ‘त्यसैको असर कर्मचारीको मनोवृत्तिमा पनि परेको छ’, उहाँले भन्नुभयो, ‘पहिलेभन्दा कामको दबाब पनि बढेको छ।’
पछिल्लो समय बैंकका कर्मचारीहरुको गुनासो सामाजिक सञ्जालमा छरपस्ट हुन थालेको छ। कर्मचारीले– हाकिमले काममा बढ्तै पेल्न थालेको, पारिवारिक जीवन समाप्त भएको, ५ वर्षदेखि तलब सुविधा नबढेको, महिनाबाट हप्ता हुँदै दिनकै व्यावसायिक टार्गेट दिन थालेको जस्ता गुनासा गर्न थालेका छन्।

‘केही संस्थामा ज्यादत्ति होला। तर अहिले आएर सबैको वर्किङ आवर बढेको छ। समय नै त्यस्तै अप्ठेरो छ’, ज्ञवाली भन्छन्, ‘म नै बिहान ९ बजेदेखि राति ९ बजेसम्म काममा हुन थालेको छु। सबै क्षेत्रमा समस्या हुँदा काम अलिक बढी गर्नुपर्ने दबाब छ। तर, पारिवारिक जीवन नै समाप्रुत हुनेजस्ता कुरा बैंकमा हुन्छ भन्ने मलाई लाग्दैन।’
जागिर छाडेका र सामाजिक सञ्जालमा गुनासा पोखिरहेकाहरुसँग कुराकानी गर्दा उनीहरु–अवसर घट्दै गएको, माथि पुग्ने बाटो साँघुरो हुँदै गएको, काम अनुसार आय कम भएको बताउँछन्।
‘पढेलेखेको, राम्रै उन्नति गरिरहेको मान्छे किन निराश हुनु प¥यो त रु कारण काम अनुसार आय छैन, पहिलेभन्दा बढी पेलान हुन थालेको छ। माथि पुग्न पनि अब क्षमता होइन चाकडी महत्त्वपूर्ण हुन थालेको छ,’ भर्खरै सहायक प्रबन्धक पदबाट जागिर छाडेका एक कर्मचारीले भने।
राष्ट्र बैंकको नीतिपछि बैंकहरु मर्जरमा गएका छन्। मर्जरमा गएका बैंकहरुमध्ये अधिकांशको हालत खराब छ। मर्जरमा नगएका बैंकहरुमा पनि व्यवसाय नहुँदा अवसर खुम्चिँदो छ।

‘यहाँ फ्रस्टेसन धेरै भएको देखिन्छ। बाहिर गयो भने मेरो भविष्य त बन्छ, यहाँ के नै हुन्छ ररु भन्ने सोचेको देखिन्छ,’ प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त भन्नुहुन्छ, ‘अझै धेरैले बैंक छाड्छन् भन्ने लाग्छ मलाई।’ उहाँका अनुसार, अलि बढी महत्वाकांक्षा हुनेहरुमा निराशा पनि बढी छाएको छ। ‘सधैँ भनेजस्तो माथि–माथि पुगिरहने भन्ने हुँदैन’, उहाँले भन्नुभयो, ‘यसले पनि मान्छेलाई निराश बनाउँछ।’ उहाँका अनुसार, पछिल्लो समय बाहिर अवसरका ढोकाहरु अलि बढी खुलेका छन्। नेपालमै बसेर बाहिरको ‘पीआर’ लिन सकिन्छ।

‘यहाँ फ्रस्टेट भएर बस्नुभन्दा बाहिर जाँदा राम्रो अवसर पनि देखिएको छ,’ उहाँले भन्नुभयो, ‘त्यही भएर पनि पछिल्लो समय राम्रो एक्सपेरियन्स र पढाइ भएका जनशक्ति पलायन भइरहेका छन्।’ बैंकिङ क्षेत्रका कर्मचारीका बारेमा अघिल्लो साता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि टिप्पणी गर्नुभएको छ । उहाँले बैंकर्स संघकै कार्यक्रममा पारिवारिक जीवन सकिने गरी बैंकका कर्मचारीलाई काम नलगाउन भन्नुभएको थियो।
त्यसपछि सामाजिक सञ्जालमा अझ धेरै बहस हुन थालेको हो। काठमाडौंभन्दा उपत्यकाबाहिर अझ धेरै शोषण रहेको ति कर्मचारीहरुको भनाइ छ ।