श्रीमतीको ब्वाइफ्रेन्डसँग दुई कठ्ठा जग्गा माग,नदिएपछि गोली हानी हत्या

गणेश आचार्य

दाङ । घोराही उपमहानगरपालिका ६ अघराका ४५ वर्षीय शिवराज केसीको हत्या उनकै गर्लफ्रेन्डका श्रीमानले गरेको खुलेको छ ।
केसीको शव शुक्रबार बंगलाचुली गाउँपालिका ४ गदारी जंगलको कोइला खानीमा छातीमा भरूवा बन्दुक लागेको लागेको अवस्थामा भेटिएको थियो ।

शिवराजको हत्यामा संलग्न रहेको आशंकामा बंगलाचुली गाउँपालिका ४ गदारीका ४३ वर्षीय शेरबहादुर कँवर, उनकी ३५ वर्षीया श्रीमती दीपा कँवर र दीपाका भाइ २९ वर्षीय तिलक पुनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेको छ । प्रहरी आज पत्रकार सम्मेलनगरी शेरबहादुरकी श्रीमती दिपा र हत्या गरिएका शिवराज विगत बर्षदेखि प्रेम सम्बन्धमा रहेको र उनीहरूको प्रेमका बारेमा श्रीमान जानकार रहेको बतायो । ´शेरबहादुरकी श्रीमती दिपा र हत्या गरिएका शिवराज विगत बर्षदेखि प्रेम सम्बन्धमा थिए । पत्रकार सम्मेलनमा दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीले भने-´श्रमती परपुरूषको प्रेममा भएको श्रीमान जानकार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।`

पछि शेरबहादुरले श्रीमती प्रयोग गरेर शिवराजसँग सम्पत्ति सम्पत्ति हडप्न खोजेको प्रहरीको भनाई छ । एसपी केसीका अनुसार पुष ८ गते दिपाले प्रेमी शिवराजलाई श्रीमानको योजनाम फोन गरेर कोइलाखानी बोलाएकी थिइन । प्रेमीका भेट्न कोइलाखानी पुगेका शिवराजलाई सुरूङ भित्र लगेर बन्धक बनाइ दुई कठ्ठा जग्गा दिन दबाब दिइएको थियो । ´श्रीमान श्रीमती दुवैले कि दुई कठ्ठा जग्गा दे । नत्र गोली हानेर मार्छौ भनेका रहेछन् ।` एसपी केसीले भने-´शिवराजले जग्गा दिन अस्विकार गरेपछि छातीमा गोली हानेर हत्या गरिएको रहेछ ।` प्रहरीका अनुसार शिवराजको हत्यामा प्रयोग गरिएको भरूवा बन्दुक अबैध हो ।

अभियुक्तहरू घटनापछि नयाँ दिल्ली पुगेको र भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अभियुक्तहरुको बयानको आधारमा व्यक्ति हत्यामा प्रयोग गरिएको बन्दुक र त्यसमा लाग्ने गोलिका खोका प्रहरीले बरामद गरिसकेको छ । घटना बारे विस्तृतरुपमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

घोराही ६ अघरा टोल विकास संस्थाका अध्यक्षसमेत रहेका शिवराज पुस ८ गते घरदेखि घोराही बजार जान्छु भनेर निस्किएका थिए । उनी सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो ।