त्रिभुवननगर जेसीजको पद हस्तान्तरण

दाङ, पुस  । त्रिभुवननगर जेसीजको पद हस्तान्तरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । वर्ष २०२३ का अध्यक्ष कुलबहादुर वलीले वर्ष २०२४ का अध्यक्ष रविकिरण केसीलाई पद हस्तान्तरण गर्नुभएको हो ।
पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले समृद्धि र विकासका लागि युवाहरु जागरुक हुनुपर्ने बताउनुभएको थियो । युवाहरु राज्यको बलियो आधार भएको भन्दै मन्त्री खनालले स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले युवाहरुको नेतृत्व विकासका लागि जेसीजले सिर्जनशील कार्य गर्दै आएकोमा प्रसंशा गर्नुभयो ।
उक्त अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले जेसीज सामाजिक अभियानको नेतृत्व गरिरहेको बताउँदै समाजलाई सही दिशा दिन आग्रह गर्नुभयो । समाजमा चौतर्फि निराशा छाइरहेको भन्दै संयोजक प्रियासनले निराशा चिर्नतर्फ सबै लाग्नुपर्ने बताउनुभयो ।

उक्त अवसरमा वर्ष २०२४ को कार्यसमितिले सपथ ग्रहण गरेको थियो । अध्यक्ष रविकिरण केसी, कार्यकारी उपाध्यक्ष रोशन दाहाल र प्रेमलाल न्यौपाने, उपाध्यक्षहरु कमलकुमार शर्मा, मिनेश श्रेष्ठ, राजन घर्तीमगर र हिमाल पौडेल, महासचिव रमेश घिमिरे, सचिव महेश खनाल, कोषाध्यक्ष समीर केसी, जनसम्पर्क अधिकृत महेश गुप्ता, तालिम निर्देशक बिमल खड्का, शाखा सम्पादक रोमन अधिकारी, शिक्षा संयोजक विवेक देवकोटा, दीगो विकास लक्ष्य संयोजक महेश बस्नेतले सपथ ग्रहण गर्नुभएको थियो ।
कार्यक्रममा वर्ष २०२३ का अध्यक्ष कुल बहादुर वलीले वर्ष २०२४ का अध्यक्ष रविकिरण के.सी.लाई पद हस्तान्तरण गर्नुभएको थियो ।