गणतन्त्र राष्ट्रिय दैनिक- आजबाट १७ औं वर्षमा प्रवेश

गणतन्त्र राष्ट्रिय दैनिक आजबाट १७ औं वर्षमा प्रवेश गरेको छ । विगत १६ वर्षदेखि अनेक आरोह अवरोध पार गर्दै निरन्तर प्राकाशित भैरहेको यस पत्रिकाले हालको दिनसम्म दाङलाई सबै कोणबाट अगाडी बढाउनका लागि पत्रकारिताको माध्यमबाट सहयोग गरिरहेको छ । पत्रकारिता क्षेत्र राज्यको चौथो अंग हो । समाजले पनि यसलाई- यही दर्जा दिएको छ । यही कुरालाई मनन गर्दै गणतन्त्र दैनिकलाई हामीले समाज रुपान्तरणको अभियानमो जोडेका छौ ।

स्थानीय विषयवस्तुहरु, परिवर्तनकामी आवाजहरु, खोज, अनुसन्धानका पाटाहरुमा समेत हाम्रो बलियो सहभागिता छ । शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन, संस्कृति, साहित्य, भाषालाई पनि हामीले उच्च प्राथमिकता दिएका छौं । आर्थिक गतिविधिहरुलाई बढावा दिन, स्थानीय उत्पादन, कृषि क्षेत्रलाई व्यवसायीक बनाउनका लागि समेत पत्रिकाको माध्यमबाट विभिन्न किसिमका समाचार, लेख, सम्पादकीय मार्फत भूमिका खेलिरहेका छौं । खेल क्षेत्रले पछिल्लो समयमा जिल्लामा गति लिइरहेको छ । खेल क्षेत्रको विकासका लागि समेत पत्रिकाको तर्फबाट साथसहयोग गरिरहेको अवस्था छ । आजका मितिसम्म पत्रिकाले सामाजिक उत्तरदायित्व वहन गर्ने सवालमा सदैब एककदम अगाडी बढेर भूमिका निर्वाह गर्दै आएको छ । हामीले आफ्नो ल्याकतबाट जेजति सकेका छौं, गरिरहेका छौ, भोलिका दिनमा पनि यस प्रकारका गतिवधिहरुलाई उच्च प्राथमिकता दिएर निरन्तरता दिने प्रण गर्दछौ ।

कोरोनाकालपछि मुलुकको आर्थिक अवस्था अति नै दयनिय अवस्थाबाट अगाडी बढेको छ । यसको प्रत्यक्ष असर सञ्चार क्षेत्रमा पनि परेको छ । एक हिसाबले हामीले सामाजिक उत्तरदायित्व वहन गर्दै समाज रुपान्तरणको अभियानमा आफूलाई सहभागि बनाई रहँदा हामी आफू पनि टिकि रहनका लागि धेरै नै संघर्ष गर्नुपर्ने समय आएको छ । पातलिएको बजार, राज्यको सञ्चारलाई टिकाउने ठोस योजनाको अभावलगायतका समस्याका बीचमा निकै नै चुनौतीपूर्ण अवस्थाबाट नेपाली सञ्चार क्षेत्र अगाडि बढि रहेको छ । यसको असर हामी माथि पनि परेको छ । तर जेजस्तो असर परेपनि हामी समाज रुपान्तरणको अभियानमा कटिबद्ध भएर लागि रहनेछौं । हाम्रो मिशन परिवर्तन हो, समाजको रुपान्तरण हो, खस्किएको मनोबल माथि उकास्दै समाजलाई गति प्रदान गर्न हामी अनवरत लागि रहनेछौ । हामीलाई विश्वास छ, समस्याका दिनहरु चाडै नै पार लाग्नेछन् ।

यतिबेला घोराही अनि दाङ बनाऔं भन्दै संगठित आवाजहरु अगाडी बढेका छन् । हामी पनि परिवर्तन अनि समाजलाई बदल्नुपर्छ, समृद्धि, विकास र सुशासन सबै ठाउँमा लागू हुनुपर्छ भन्ने उद्देश्यसहित अगाडी बढेका कारण समाजलाई बनाउन अगाडी सारिएका सबै खाले पाइलाहरुमा हाम्रो सँगसँगै सहयात्रा हुनेछ । समाज परिवर्तनको अभियानमा होमिएका सबै मनहरुलाई हामी सलाम गर्न चाहन्छौ । सबैले लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यौ, तर गणतन्त्रको उपलव्धी अहिलेपनि पछाडि पारिएको वर्ग, समुदाय, क्षेत्रमा जान सकेको छैन । यसको लागि पनि राज्यसत्तामा बसेकाहरुलाई घचघच्याउँदै बाटो बिराएका दल अनि नेताहरुलाई सहीबाटोमा हिँडाउने सवालमा पनि हामीले खवरदारी गरिरहने छौं ।

गणतन्त्र पत्रिका १७ वर्षसम्म आइपुग्दा हामीलाई साथसहयोग गर्ने सबैसबै हाम्रा लागि अतिनै प्रिय हुनुहुन्छ ।  हामीसबैप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छौं ।