गुणस्तरीय शिक्षा आजको आवश्यकता

देउखुरी,  पुस
लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले पढाई संगसंगै अतिरिक्त क्रियाकलाप तर्फ बालबालिकालाई आकर्षित गराउनु पर्ने कुरामा ध्यान दिन आग्रह गर्नु भएको छ । गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीको छैटौं वार्षिक खेलकुद सप्ताह समापन कार्यक्रममा बोल्दै उपप्रमुख योगीले सो कुरा बताउनुभएको हो । पुस्तकमा भएका ज्ञानका कुरा संगै विद्यार्थीले बाहिरको पनि शिक्षा हाँसिल गर्न सके मात्र उनीहरुको बौद्धिक विकासमा टेवा पुग्ने उहाँको भनाई छ ।

उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्नेमा विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । शैक्षिक गुणस्तर सुधारको लागि योग्य सक्षमक्षमतावान दूरदृष्टि र दृढ इच्छाशक्ति भएकाव्यक्तिलाई प्रधानाध्यापकको जिम्मेवारी दिइनुपर्दछ । जुन अहिले यस विद्यालयले पाएको छ, उहाँले भन्नुभयो,–। ‘विद्यालयमा बालबालिका सामाजिक, पारिवारिक, आर्थिक, मनोवैज्ञानिक भय, चिन्तारहित भएर सिक्न सदैव तत्पर रहनुपर्दछ । व्यवहारिक सिकाइः सिकाइ परीक्षामुखी मात्र नभएर कुनै पनि प्रकारको डर, त्रासरहित वातावरणमा आधुनिक प्रविधिको प्रयोग गर्दै रचनात्मक, सिर्जनशील प्रयोगात्मक, खोजमूलक, स्थलगत भ्रमणमा आधारित, अनुसन्धानमूलक, परियोजनाकार्यमा आधारित हुनुपर्दछ ।’

उहाँले शैक्षिक क्षेत्रले नै देशको भबिस्य निर्धारण गर्ने हुँदा गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुहुदैँ, शिक्षा क्षेत्रमा राजनीति गर्ने छुट कसैलाई पनि नभएको प्रष्ट पार्नुभयो । उहाँले लमही नगरपालिकालाई शिक्षाको क्षेत्रमा उत्कृष्ट बनाउन तर्फ लाग्न सबैमा आग्रह पनि गर्नु भयो । शिक्षाको ज्ञान बिना बिकास निर्माण हुन सक्दैन, देश बिकासको पहिलो खुड्किलो भनेकै शिक्षा हो, उहाँले भन्नुभयो,–। ‘देश विकासको आधार नै गुणस्तरीय शिक्षा हो । कुनै मुलुक समृद्ध छ भन्नुको तात्पर्य त्यो मुलुक शिक्षाको क्षेत्रमा अब्बल छ भन्ने बुझिन्छ ।’ ‘सो मुलुकलाई चाहिने हरप्रकारका जनशक्ति प्रचुर मात्रमा रहेछ भन्न सकिन्छ । देशले शिक्षा क्षेत्रमा उल्लेख्य मात्रमा लगानी गरेको ठहर्छ । राज्यले तय गरेको नीतिले नै नागरिकलाई गुणस्तरीय शिक्षा दिई सक्षम बनाउन मद्दत गर्दछ  ।’

छैटौं वार्षिक खेलकुद सप्ताह समापन कार्यक्रममा खेलकुद प्रदर्शन गर्नुका साथै विभिन्न भाषाका गीतमा नृत्य प्रस्तुत गरिएको थियो भने प्रतियोगितामा विजय हुने विद्यार्थीलाई प्रमाणपत्रले सम्मान गरिएको थियो । गोरखा ग्रुपका अध्यक्ष मान बहादुर बुढाको अध्यक्षता तथा नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन शिक्षक प्रकाश ओली र शिला रिजालले गर्नु भएको थियो भने विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले स्वागत गर्नु भएको थियो ।