प्रधानमन्त्री कार्यालयको पुनर्संरचना आजैदेखि

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीपरिषद् बैठक बोलाएका छन्।

दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाका बारेमा छलफल हुनेछ।

बिहान भौतिक पूर्वाधार मन्त्रालयका पदाधिकारीहरूको छलफलमा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाको काम आजैदेखि सुरू हुने बताए।

‘आज नै हामी प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गर्दैछौं। अरू काम पनि क्रमशः अगाडि बढ्छन्। सम्बोधन अक्षरशः पालना गरिन्छ,’प्रधानमन्त्री प्रचण्डले भने।

प्रधानमन्त्रीले मंगलबार राष्ट्रका नाममा संबोधन गर्ने क्रममा पनि चुस्तदुरूस्त सरकारी संरचना बनाइने र त्यसको सुरूआत प्रधानमन्त्री कार्यालयबाटै गर्ने बताएका थिए।

 

प्रधानमन्त्री कार्यालयले पुनर्संरचनाबारे अध्ययन गर्न बनाएको कार्यदलको प्रतिवेदन आजको मन्त्रिपरिषद् बैठकमा पेश हुने र छलफल त्यसैमा केन्द्रित हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रधानमन्त्री कार्यालयले प्रशासन सचिव गणेश पाण्डेको संयोजकत्वमा कार्यदल बनाएको थियो।

प्रधानमन्त्रीले प्रधानमन्त्री कार्यालयमा रहेका सचिवहरूको दरबन्दी घटाउने, अरू अनावश्यक पदहरू पनि कटौती गर्ने तयारी गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए।