छोराको प्रतीक्षामा तिलकुमारी

यमकला भुसाल

तुलसीपुर,मंसिर २६ ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीका २२ वर्षीय प्रतीक पुनले तुलसीपुर स्थित हिमाल एकेडेमीबाट कक्षा १२ पास गरे । निम्न वर्गीय परिवारका पुनले आर्थिक अभाबका कारण उच्च शिक्षा पढ्न पाएनन । उनका बुबा ताराप्रसाद पुनको एक वर्षअघि दुवै मिर्गौला फेल भएर उपचारका क्रममा निधन भयो । घरको मुख्य सदस्य बुबाको निधन भएपछी प्रतीक माथि परिवारको ठूलो जिम्मेवारी आइपर्यो ।

परिवारका एक्ला छोरा भएकै कारण पनि कलिलै उमेरमा सबै ऋणको भारी थाप्लोमा आयो । बुबाको उपचार गर्दा लागेको ऋण र घर बनाउँदा गरिएको खर्च तिर्न मामाहरूले उनलाई पोर्चुगल पठाउने योजना सुनाए । तर, प्रतीकलाई कुनै साथीले पोर्चुगलभन्दा रुसमा राम्रो कमाइ हुने बताइदियो । उनी काठमाडौंको एक कन्सल्टेन्सीमार्फत ११ लाख खर्चिएर असार अन्तिम साता रुसका लागि उडे । प्रतीककी आमा तिलकुमारी पुन छोरा रुस पुगेपछि कमाइ गर्ला भन्ने आशामा थिइन्, तर अहिले प्रतीक युक्रेनी सेनाको कब्जामा परेको खबर सुनेपछी उनको परिवार बिचलित भएको छ ।

केही दिन पहिले मात्र युक्रेनी सेनाको कब्जामा रहेकै बेला प्रतीकले बोलेको भिडियो सार्वजनिक भयो । सोही भिडियो देखे पछि परिवारले सो कुरा थाहा पाए । उनले भिडियोमार्फत आफू रुसी सेनामा भर्ती भएको र अहिले युक्रेनी सेनाले आफूलाई कब्जामा लिएको बताएका छन् । रुसि सेनामा भर्ती भएपछि उनी रुसको राजधानी मस्कोमा तीन महिना बसेका थिए । सेनामा रहँदा खासै समस्या नहुने र मनग्गे आम्दानी हुने प्रलोभनमा परी उनी रुसी सेनामा भर्ती भएका हुन् । ‘यता साहुले ऋण कहिले तिर्छौ भनेका छन्,’ आमा तिलकुमारीले भनिन्, ‘उता, एक्लो छोरो मलाई उद्धार गर, म दुस्मनको कब्जामा छु भन्छ, हे भगवान १ मेरो छोरोलाई दुस्मनहरूको कब्जाबाट उन्मुक्ति देऊ ।’ प्रतीकको फोन प्रतीक्षा गर्दै परिवार सदस्यहरू भगवानसँग प्रार्थना गरेर बसेका छन् ।

सरकारले पहल गरेर छोरो छुटाइदिन्छ कि भन्ने झिनो आशा तिलकुमारीलाई छ ।
युक्रेनी सेनाले नियन्त्रणमा लिएको पाँच दिन बितिसक्दा समेत नेपाल सरकारका तर्फबाट भने पुन परिवारलाई सामान्य आश्वासन समेत आएको छैन । यो बीचमा प्रतीकले उद्धारको याचना गरेको २ वटा भिडियो सार्वजनिक भइसकेको छ । परिवारका अनुसार प्रतीक ३ महिनाअघि रसियामा १५ दिनको तालिम लिएर युद्धमा होमिएका थिए । त्यसैक्रममा उनी युक्रेनी सेनाको कब्जामा परेका हुन् । प्रतीक गत शनिबार देखि घरपरिवारको सम्पर्कमा थिएनन् । उनको भिडियो परिवारले आइतबार मात्र देखेको प्रतीककी कान्छी बहिनी बिपना पुनले बताइन् । होटलको कामभन्दा सेनामा धेरै पैसा कमाइ हुने देखेकाले आफू सेनामा प्रवेश गरेको दाजुले बताएको बिपनाले बताइन ।

रुसी सेना बनेपछि पनि प्रतीक परिवारको सम्पर्कमै थिए । तर, गत साता प्रतीकले बहिनी विपनालाई फोन गरेर अब आफू अनलाइन आउन नपाउने बताएका थिए । प्रतीकको परिवारलाई छोरा युक्रेनी सेनाको कब्जामा परेको मलेसियामा रहेका एक आफन्तले थाहा दिएका थिए । सामाजिक सञ्जालमा भिडियो देखेपछि ती आफन्तले प्रतीकको घरमा पठाइदिएका थिए । एक्लो छोरा युक्रेनी सेनाको नियन्त्रणमा पुगेपछि तिलकुमारी छोरा फर्केर आउन नपाउने पो हो कि भनेर विचलित छिन् । प्रतीका ३ दिदीबहिनीमध्ये कान्छी विपना अहिले ९ कक्षामा पढ्दैछिन् । दुई छोरीको विवाह भइसकेको छ । रुस पुगे यता प्रतीकले दुईपटक गरेर १ लाख २५ हजार रुपैयाँ मात्र घरमा पठाएका थिए । एक साताअघिको कुराकानीमा उनले केही दिनमै तलब आउने र घरमा पठाउने बताएका थिए ।