साइबर अपराध न्यूनीकरण गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण–मन्त्री शर्मा

दाङ, मंसिर  । प्रेस काउन्सिल नेपालले पत्रकार महिलालाई लक्षित गरी प्रविधिमैत्री पत्रकारिता तालिम आयोजना गरेको छ । सोमबारबाट दाङको भालुबाङमा सुरु ३ दिने तालिमको उद्घाटन सञ्चारमन्त्री रेखा शर्माले गर्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकारिता क्षेत्रमा महिलाको संख्या बढाउन सरकार र सञ्चार माध्यमहरू संवेदनशील बन्नुपर्ने बताउनुभयो । उहाँले पछिल्ला केही वर्षहरुमा नेपालमा समावेशीकरणको सवाल धेरै अगाडि बढेको भए पनि पत्रकारिता क्षेत्रमा महिलाको संख्या निकै कम रहेको भन्दै यसलाई बढाउन आवश्यक रहेको बताउनुभयो ।

शर्माले पत्रकार महिलाको क्षमता र दक्षता बढाउन प्रविधि लक्षित तालिम फलदायी हुने विश्वास आफूमा भएको बताउनुभयो । मन्त्री शर्माले पत्रकारिता क्षेत्रमा महिलाको संख्या बढाउन आवश्यक रहेको बताउनुभयो । ‘पछिल्ला केही वर्षयता नेपालमा समावेशीकरणको सवाल धेरै अगाडि बढेको छ, तर अन्य क्षेत्रमा जस्तो पत्रकारिता क्षेत्रमा महिलाको संख्या बढ्न सकेको छैन’, मन्त्री शर्माले भन्नुभयो, ‘पत्रकार महिलाको क्षमता र दक्षता बढाउन यस्ता खाले तालिम फलदायी हुन्छन् ।’

सूचना प्रविधिमा भएको तीब्र विकासले साइवर अपराधहरु बढाएको भन्दै त्यसबाट महिला हिंसा बढ्नु चिन्ताजनक विषय रहेकाले साइवर अपराध न्यूनीकरण गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने मन्त्री शर्माको भनाइ छ । महिला हिंसाको स्वरुप बदलिएको भन्दै ईन्टरनेटको माध्यमबाट हुने हिंसा न्यूनिकरण गर्न पत्रकार महिलाहरुले समेत भूमिका खेल्नुपर्ने धारणा राखिन् । प्रेस काउन्सिल नेपालका सदस्य एवम् तालिमका संयोजक शरद अधिकारीले प्रविधिको माध्यमबाट पोख्त पत्रकारिता गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो । प्रविधिमैत्री नहुँदा पत्रकारिताबाटै पलायन हुने र अवसरबाट वञ्चित हुने अवस्था हुन नदिने प्रयासमा काउन्सिल रहेको उहाँको भनाइ छ ।
तालिमको उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले प्रविधिसँग जोडिएर मात्रै समयानुकूल पत्रकारिताको अभ्यास हुने बताउनुभयो । उहाँले नयाँ पुस्तालाई पत्रकारितामा आकर्षण गर्न र पेसामा रहेकालाई टिकाउन यस्ता तालिम महत्वपूर्ण हुने बताउनुभयो ।

यस्तै सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले प्रविधिको उच्चतम प्रयोगबाट गरिने पत्रकारिताले पत्रकार महिलालाई गुणात्मक, सचेत र व्यावसायिक रूपमा अगाडि बढाउन सघाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्णायक तहमा पत्रकार महिलालाई पु¥याउन, पत्रकारितामा महिलाको उपस्थित वृद्धि गर्ने र पेसागत सुरक्षामा ध्यान दिनुपर्ने बताउनुभयो ।
यसैबीच नेकपा (माओवादी केन्द्र) सरुमारानी गाउँपालिका–२ मा आयोजित विशेष रूपान्तरण अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री शर्माले देशको रुपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव भएको बताउनुभयो । देशको समृद्धि र जनताको जीवन परिवर्तन गर्ने महान् अभियानबाट आएको पार्टी भएकाले माओवादी नेतृत्वबाटै देशको रुपान्तरण सम्भव हुने बताउनुभयो ।

देशको विकास निर्माण र समृद्धिका लागि माओवादी पार्टी जति अरु कसैले गर्न नसक्ने उल्लेख गर्नुहुँदै उहाँले माओवादीले जितेका सबै तहका सरकारले नमूना काम गरिरहेको बताउनुभयो । माओवादी नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मार्गदर्शनका रुपमा लिएको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले त्यसको प्रतिफल प्राप्त हुन थालेको पनि बताउनुभयो ।
विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पुग्नु, मल आपूर्ति सहज बन्दै जानु, सेवा प्रवाहका कार्यालयहरुमा लाइनमुक्त बन्दै जानुले सेवा प्रवाहको क्षेत्रमा आशा जगाएको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले नक्कली भूटानी शरणार्थी, सुनकाण्ड जस्ता ठूला भ्रष्टाचारका घटनामा सरकारले लिएको अडानले सुशासनको क्षेत्रमा नयाँ सन्देश दिएको स्पष्ट गर्नुभयो ।

सामाजिक न्याय सरकारले समातेको महत्वपूर्ण बाटो भएको उल्लेख गर्नुहुँदै उहाँले यो समाजमा पुग्ने पार्टीको योजनासित जोदिएको बताउनुभयो । जनयुद्धको बेलामा पनि तोड्न नसकिएको मिटरब्याजको जालो तोड्नेदेखि सामन्तवादका बाँकी अवशेष समाप्त पार्ने सवालमा सरकारले महत्वपूर्ण पाइला चालेको स्पष्ट पार्नुहुँदै मन्त्री शर्माले यसलाई पार्टीले जनतासम्म पु¥याउनुपर्ने बताउनुभयो ।