दाङका दुई उपमहानगरमा ११ करोड राजस्व

दाङ, मंसिर । दाङका दुई उपमहानगरले तीन महिनाको अवधिमा ११ करोड बढी राजस्व संकलन गरेका छन् । चालु अर्थिक वर्षको साउन महिनादेखि असोजसम्म दुई उपमहानगरले ११ करोड ९७ हजार ३ सय ५० रूपैयाँ राजस्व संकलन गरेका हुन् ।

तुलसीपुर उपमहानगरपालिका राजस्व शाखा प्रमुख ललित बहादुर घर्तीका अनुसार उपमहानगरले तीन महिनामा ४ करोड २५ लाख ९७ हजार ३ सय ५० रूपैयाँ राजस्व संकलन गरेको छ । वार्षिक ३६ करोड १५ लाख राजस्व उठाउने लक्ष्य रहेको उनले बताए ।

गत आर्थिक वर्ष ०७९÷०८० मा यहि अवधिमा ४ करोड ३ लाख रकम संकलन भएको थियो । उपमहानगरले गत वर्ष ४० करोड लक्ष्य राखेको थियो । अहिले सम्पत्ति कर, मालपोत कर, घरजग्गा बहाल कर, बहाल बिटौरी कर, व्यवसाय रजिष्ट्रेशन कर, नवीकरण, अन्य सिफारिस र विभिन्न दस्तुरबाट राजस्व संकलन गरिएको राजस्व शाखा प्रमुख घर्तीले बताए ।

यस्तै घोराही उपमहानगरले तीन महिनाको अवधिमा ६ करोड ७५ लाख रूपैयाँ राजस्व संकलन गरेको छ । वार्षिक १९ करोड ५० लाख लक्ष्य राखेको उपमहानगरले चालु वर्षकोे साउनदेखि असोजसम्म ६ करोड ७५ लाख रूपैयाँ राजस्व संकलन गरेको छ ।

उपमहानगरले गतवर्ष यहि अवधिमा ४ करोड ५० लाख राजस्व संकलन गरेको राजस्व शाखा प्रमुख कृष्ण केसीले जानकारी दिए । गतवर्षको तुलनामा यस वर्ष डेढ करोड बढी राजस्व संकलन भएको उनको भनाइ छ । घोराही उपमहानगरले गतवर्ष १६ करोड ५० लाख राजस्व उठाउने लक्ष्य राखेको थियो । उपमहानगरले मालपोत कर, भूमि कर, सम्पत्ति, व्यवसाय, घरजग्गा बहाल करलगायतका शीर्षकबाट सो रकमको राजस्व संकलन गरेको हो ।