लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

घोराही उपमहानगरपालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखा र लैंगिक हिंसा निवारण समितिको अगुवाईमा घोराहीमा प्रभातफेरी गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट सुरुभएको प्रभातफेरी बजारको परिक्रमा गर्दै जिल्ला समन्वय समितिको कार्यालयमा पुगेको हो ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले व्यक्ति र परिवारबाटै लैंगिक समानता हुन आबस्यक रहेको बताउनुभयो । कसैले पनि जो कोहीलाई हिंसा हैन सम्मान र इज्जत गर्नुपर्छ भन्ने सन्देश दिन घोराही उपमहानगरपालिकाले हरेक क्षेत्रमा सामाजिक विकास र सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । हिंसाको कारण पहिचान गरेर मात्रै उपचार थालिए त्यसको निदान गर्न सजिलो हुने बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख हुमाकुमारी डिसीले हिंसा नै परिवार र सामाजिक विकासको बाधक भएको बताउनुभयो ।

घर परिवारबाट हुने हिंसा निकै खतरनाक हुने गरेको भन्दै परिवारमा मेलमिलाप र एकताको वाताबरण सृजना गर्नुपर्ने र त्यसका लागि न्यायिक समितिले अब वडा तहमा पनि सचेतनामूलक कार्यक्रम गर्दै आएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले नागरिक सचेतना र कानुनी न्यायका विषयमा सचेतना फैलाउन सबै सरोकारवालाहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो ।