सेवाग्राहीलाई सहज बनाउन नाकामा वडाको शाखा स्थापना गरिदैँ

शिवु खनाल
देउखुरी,  मंसिर
दाङको राजपुर गाउँपालिका वडा नम्बर ६ र ७ को वडा कार्यालयले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अभियान थालेको छ । सार्वजनिक सेवाप्रवाहलाई प्रभावकारी बनाउन वडा कार्यालयको समेत शाखा विस्तार गरी सेवा प्रवाह गर्न थालेको राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष तथा प्रवक्ता श्यामबहादुर रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार अवको केही दिनभित्र राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित सामुदायिक स्वास्थ्य ईकाइ भैसाहीँनाका र राजपुर गाउँपालिका वडा नम्बर ६ स्थित एकीकृत सेवा केन्द्रमा वडा कार्यालयको शाखा कार्यालय स्थापना गरी सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने बताउनुभयो ।

त्यसको लागि तिब्र तयारी भइरहको छ भने वडामा चाहिने आवश्यक सामाग्रीहरुको खरिदको प्रक्रिया अगाडि बढाइएको छ । भारतसंग सिमा जोडिएको यस क्षेत्रका सेवाग्राहीलाई सेवा प्रवाहलाई सहजता बनाउन आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै सेवाग्राहीको माग बमोजिम शाखा कार्यालय स्थापना गरी सेवा सुचारु गर्न थालिएको राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलीले बताउनुभयो ।

उहाँले भन्नुभयो,–। ‘वडा कार्यालय पुग्न घण्टौंसम्म हिँड्न वाध्य स्थानीयलाई लक्षित गर्दै वडा कार्यालयको शाखा कार्यालय स्थापना गर्न थालिएको हो । नाकाबासी (सेवाग्राही)कै मागबमोजिम शाखा कार्यालय स्थापन गर्न लागिएको हो ।’ वडा कार्यालय ६ दिन नै खुल्ला हुने तर शाखा कार्यालय भने महिनाको तिनदिन अन्तरगत पहिलो हप्ताको बुधवार, बिहिवार र शुक्रवारका दिन खुल्ने गरी व्यवस्थापन गरिएको प्रवक्ता रोकाले बताउनुभयो । उहाँले सेवाग्राहीहरुलाई सहज सेवा प्रदान गर्नका लागि आफुहरु तदारुक्ताका साथ लागि परेको बताउनुभयो ।

अव तत्कालै दुईवटा वडाका शाखा कार्यालय उद्घाटन हुनेछ । वडा कार्यालयबाट दिने सम्पूर्ण सेवाको सरकारी कार्यालय समय १०–५ मात्र नभएर अत्याअवश्यक काम परेको बेलामा समेत सेवा प्रदान गर्ने योजना बनाएको राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलीले बताउनुभयो । वडा कार्यालयबाट पञ्जिका अन्तरगत जन्मदर्ता, विवहा दर्ता, बसाइँसराइ, सम्बन्धबिछेच, मृत्यु दर्ता, नागरिताको सिफारिस शाखा कार्यालयबाट सेवा प्रवाह हुनेछ ।

शाखा कार्यालय स्थापना भएपछि सामान्य सेवाका लागि घण्टौं हिँड्नुपर्ने नाकाबासीहरु लाभान्वित भएका छन् । वडा कार्यालयमा सेवाग्राही जाँदा सामान्य काममा धेरै दुःख पाएका उदाहरण छन् । तर, नाकामै वडा कार्यालयको शाखा कार्यालय स्थापना भएपछि ती समस्या सदाका लागि अन्त्य हुने विश्वास गरिएको स्थानिय समाजसेवी चक्रबहादुर खड्का (शिखर)ले बताउनुभयो । सेवाग्राहीकै सहजताका लागि नाकामा शाखा कार्यालय स्थापना गरि सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,–। ‘वडाले दिनुपर्ने न्यूनतम सुविधा वडावासीलाई दिनुपर्छ । वडावासीबाट कर मात्रै उठाउने, तर सेवा नदिने गर्नु त भएन नि ?’ यसरी सेवाग्राहीलाई नाकामै शाखा कार्यालय स्थापना गरि सुविधा दिने दुई नमुना वडा कार्यालय र ती वडाका वडाध्यक्ष जनताकै जनप्रतिनिधि हुनुहुन्छ  ।’ भारतसंग सीमा जोडिएका राजपुर गाउँपालिकामा तीन वटा वडा पर्दछन् । जसमध्य १ नं. वडाले शाखा कार्यालय स्थापना गर्ने विषयमा कुनै टुङ्गो लागेको छैन ।।