मठाई पसलमा अनुगमन ः सरसफाई मुख्य समस्या

यमकला भुसाल,तुलसीपुर,कात्तिक  ।

तिहार पर्वमा अत्याधिक बिक्रि वितरण हुने तुलसीपुरका मिठाई पसलहरुमा अनुगमन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले नजिकिदैँ गरेको तिहार पर्वलाई लक्षित गर्दै मिठाई पसल र खाद्यन्न पसलहरु अनुगमन कार्यलाई तिब्रता दिएको छ । बिहिवार तुलसीपुर बजारका ६ वटा मिठाई पसलहरुमा अनुगमन गरिएको छ । त्यसक्रममा अधिकांश मिठाई उत्पादन हुने ठाउँहरु भने व्यवस्थित नभएको र मिठाई उत्पादनका लागि आवश्यक न्यूनतम मापदण्ड पनि पालना नगरेको र सरसफाईमा चरम लापरवाही देखिएको तुलसीपुर उपमहानगपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले जानकारी दिइन । बिहिवार गरिएको अनुगमनमा सबैभन्दा बढी तुलसीपुर बसपार्कमा रहेको न्यु प्रसान्त नास्ता तथा मिठाई पसलमा समस्या देखिएको थियो ।

त्यस पसलमा अनुगमन गर्दा भान्साको संरचना व्यवस्थित नदेखिएको,स–साना किराहरु भित्र रहेको, मिठाइहरु रङको जथाभावी प्रयोग गरेको पाइएको हुदाँ तयारी कक्षको व्यवस्थापन गरि कार्य गर्न,ढोका,झ्यालमा जाली लगाई फिक्स गर्न,नियमित सरसफाई गरि सफा राख्न,भण्डारण कक्षलाई व्यवस्थित गरि कच्चा सामग्री राख्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरिक्षक राजेश चौधरीले जानकारी दिए । अनुगमनको क्रममा तुलसीपुरको शुभकामना होटल,सुन्गाभा मिठाई पसल लगाएतका पसलहरुमा भान्सा र मिठाई उत्पादन हुने ठाउँमा सरसफाईको कमी देखिएको भएपनि एकपटकलाई सुधार गर्न निर्देशन दिइएको उपभोक्ता हित संरइाण शाखा प्रमुख शर्माले बताइन । त्यसक्रममा खानेकुरामा पत्रिकाको प्रयोग नगर्न, लेबल नलागेको सामग्री प्रयोग बिक्रि वितरण नगर्न,रङको प्रयोग नगरि उपभोक्तालाई गुणस्तरयुक्त खानेकुराहरु खुवाई असल व्यवसाय गर्न आग्रह गरिएको शर्माले बताइन । उनले अटेर गरेमा कारबाही गर्ने चेतावनी समेत दिएको बताइन ।

अनुगमनका क्रममा केही खाद्यन्न पसल र होटहरुबाट म्याद नाघेका डिउ,फेन्टा,जथाभावी रङ मिसावट गरेका पकौडा लगाएतका सामग्रीहरु बरामद समेत गरिएको थियो ।

बिहिवार तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरिक्षक राजेश चौधरी, पत्रकार लगायतको उपस्थितिमा अनुगमन गरिएको हो ।