दाङ, कार्तिक । गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट घोराहीका २२ वटा घरमा क्षति पुगेको छ । घोराही उपमहानगरपालिकाका विपत् व्यवस्थापन शाखा प्रमुख मदन वलीका अनुसार घोराही–१२ साइपुरका रामलाल चौधरीको घर पुर्णरुपमा क्षति भएको छ ।
यसैगरी घोराही–१८ फुर्सेखालीका नरबहादुर थापाको परिवार राति नै भैंसी गोठमा सरेको थियो । उहाँको घरको माथिल्लो तला बस्नै नमिल्ने भएको छ । चारै कुना फक्किएको छ र बाहिरैबाट चिरा–चिरा परेको देखिन्छ । यसैगरी बालाराम बस्नेतको घरमा पुक्क उक्सेको र ढिस्का खसेको छ । बस्नेतको परिवार नजिकै रहेको भाइको घरमा राति नै सरेको जानकारी दिनुभयो । भूकम्पले सन्तोष अधिकारीको घरको माथिल्लो तला पनि पूर्णरुपमा क्षति भएको छ ।
यसरी बस्नै नमिल्ने गरी घोराही उपमहानगरपालिकामा १० वटा घर भत्किएको शाखा प्रमुख वलीले जानकारी दिनुभयो । उहाँले दिनुभएको जानकारी अनुसार घोराही १२, १४ र १८ मा स्थलगत अनुगमन गरी विवरण संकलन गरिएको थियो । वडाध्यक्षसहितको टोलीले संकलन गरेको क्षतिको विवरण अनुसार ११ वटा घर चर्केर माथिल्लो तला बस्न नमिल्ने भएका छन् । उनीहरुलाई नबस्न सल्लाह दिइएको छ । घोराही–१८ मा ११ वटा, घोराही–१४ मा नौ र घोराही –१२ मा दुईवटा गरी जम्म २२ घरमा भुकम्पले क्षति पु¥याएको छ ।