जाजरकोट भूकम्प : प्रतिमृतक २ लाख राहत, घाइतेको उपचार निःशुल्क

काठमाडौं, कात्तिक १९ । सरकारले जाजरकोट भूकम्पबाट मृतकका परिवारलाई प्रतिमृतक दुई लाख रूपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।मन्त्री शर्माका अनुसार बैठकले भूकम्पमा परी निधन भएकाप्रति श्रद्धाञ्जलीसहित शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

यस्तै सरकारले भूकम्पमा परी घाइतेको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ । कन्त्री शर्माले बैठकले प्रभावित परिवारलाई अस्थायी आवास र सुरक्षा प्रबन्ध मिलाउने निर्णय गरेको जानकारी पनि दिनुभयो । यसैगरी छिमेकी देशसहित दातृ निकायबाट औपचारिकरूपमा प्राप्त हुने सहयोगलाई स्वीकार गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा १५७ जनाको मृत्यु भएको छ १ सय ९७ जना घाइते बिभिन्न अस्पतालमा उपचाररत रहेका छन ।