देशको अर्थतन्त्र आत्मनिर्भर बनाउनेतर्फ सवै केन्द्रित हुनुपर्छ : केपी ओली

काठमाडौं, कात्तिक  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र आत्मनिर्भर बनाउनेतर्फ सवै केन्द्रित हुनुपर्ने बताउनु भएको छ ।

भृकुटीमण्डपमा आजबाट सुरु भएको पुष्प मेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । ‘हामी सवै देशको अर्थतन्त्र आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित हुनुपर्छ, हरेकले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्छ,’ ओलीले भन्नुभयो । उहाँले बिगतमा देशको अर्थतन्त्र आत्मनिर्भर रहेको स्मरण पनि गर्नुभयो ।

‘फूल र फलफूलहरु हिजो हामी आफ्नै बारीमा लगाउँथ्यौं । जसले गर्दा ठाउँ र हावापानी अनुसारको खेतीले हामीलाई पुरानो जमानामा आत्मनिर्भर नै बनाएको थियो । हाम्रो अर्थतन्त्र नै एउटा आत्मनिर्भर अर्थतन्त्रमा थियो हिजो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘आज हामी आत्मनिर्भर अर्थतन्त्रमा छैनौं । फेरि हामी बढेका आवश्यकतालाई ध्यान दिएर आत्मनिर्भर हुन सक्नुपर्छ ।’

उहाँले पुष्प व्यवसायबाट पनि देशलाई छोटो समयमा आत्मनिर्भर बनाउन सकिने बताउनु भयो । आत्मनिर्भर बन्न सरकारले प्रोत्साहन गर्न नसकेको भन्दै ओलीले निजी क्षेत्रबाट आफ्नै प्रयासमा आत्मनिर्भर अर्थतन्त्रका लागि अग्रसर हुनुपर्ने सुझाव दिनुभयो ।