शिवु खनाल
देउखुरी, १४ कात्तिक
हिन्दू धर्मावलम्बीहरुको दोश्रो ठूलो पर्व तिहार (दिपावली) सुरु भइसकेको छ । तिहार नजिकिएसँगै बजार होस् या खेत, फूलमय माहोल छ । तिहारका लागि तयार गर्नेगरी केही महिनाअघि देखि नै देउखरीका किसान, विभिन्न समूह व्यवसायिक रुपमै फूलखेतीमा व्यस्त छन् । व्यावसायिक फूल खेतीमा आकर्षण बढेसँगै भारतबाट फूल आयतमा पनि कमी आएको व्यवसायीहरु बताउँछन् । नेपालमा सबैभन्दा बढी फूलको खपत हुने समय भनेको तिहार हो । दाङको गढवामा पुष्पाञ्जली महिला समूहले सयपत्री फूलको व्यावसायिक खेती सुरु गरेका छन् ।
सामान्य कार्यक्रमदेखि पूजामा समेत प्रयोग हुने सयपत्री फूल र माला भारतबाट आयात गर्नुपर्ने बाध्यताको अन्त्य गर्न गढवा गाउँपालिका वडा नम्बर ५ बाँकी स्थित पन्ध्रजना महिलाले सयपत्री फूलको व्यावसायिक खेती सुरु गरेका हुन् । गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा समूहले दुइ कठ्ठा भन्दा बढी जग्गामा सयपत्रि फूलको व्यवसायिक खेती सुरु गरेको समूहका अध्यक्ष सिलासिंह ठकूरीले बताउनुभयो
। ‘सामान्य कार्यक्रममा अतिथिलाई लगाउने मालादेखि पूजापाठमा प्रयोग गरिने फूलमा समेतमा भारतको भर पर्नुपर्ने भएकाले अभियान स्वरुप हामीले खेती सुरु गरेका हौं, उहाँले भन्नुभयो,–। ‘पुष्पाञ्जली महिला समूह समूह गठन गरेर व्यवसायिक रुपमा सयपत्रि फूल खेती गरेका हौँ ।’
अहिले उहाँहरूले रोपेको फूल ढकमक फूलेको छ । अध्यक्ष ठकूरीका अनुसार देउखुरी क्षेत्रका विभिन्न बजारमा माग पनि उच्च रहेको बताउनुभयो । यसवर्ष सामान्य उत्पादन भएको फूललेनै बजार राम्रो पाएपछि आउने वर्ष एकबिघा जमिनमा फूलखेती गर्ने योजना रहेको उहाँले बताउनुभयो । तिहारमा दैनिक दुई सयदेखि तीन सय हाराहारीमा सयपत्री फूलका माला बिक्री गर्ने लक्ष्य रहेको छ । उहाँले कुनै विषादीको प्रयोग नगरी शुद्ध अर्गानिकखेती पद्धतिमार्फत फूलखेती गरेकाले पनी भारतबाट आयात गरिएभन्दा आफूहरूले उत्पादन गरेको फूलको माग बढिरहेको अध्यक्ष ठकूरीले बताउनुभयो ।
‘समूहको लक्ष्य नै भारतबाट माला र फूलआयात घटाउनु हो, यसमा हामीलाई गढवा गाउँपालिकाबाट सहयोग भएको छ, उहाँले भन्नुभयो,–। ‘पहिले गढवा बजार क्षेत्रमा भारतको आयत घटाउँछौ, त्यसपछि बिस्तारै देउखुरी क्षेत्रका विभिन्न बजारमा पनि यहाँकै फूल र माला पु¥याउने लक्ष छ ।’ फूलखेती गर्न महिलालाई गढवा गाउँपालिकाले तालिम दिएर सहयोग गरेको थियो । स्थानिय जातको पहिलोपटक सयपत्री फूलको बीउ ल्याएर रोप्न सुरु गरेका महिलाले अहिले आफै बीउ पनि उत्पादन गर्दै आएका छन् ।
उहाँलेउत्पादन गरेको सयपत्री फूलको प्रति माला दुईसय, मिडियम साइजको प्रति माला एकसय ५० रुपैया, प्रति किलो चारसय देखि लिएर विस किलोभन्दा बढी फूल खरिद गर्ने जोकोहीलाई तिनसय ५० रुपैया किलोका दरले बिक्री हुँदै आएको बताउनुभयो । सयपत्री फूललाई बाह्रै महिना फूलाउन सकिने भएकाले सिजन–सिजनमा यसलाई रोप्ने गरिएको छ । बीउ रोपेको दुई महिनामा यसले उत्पादन दिन सुरु गर्ने जनाइएको छ । आगामी वर्ष यसलाई अझ बढाएर ४–५ बिघा बनाउने लक्ष्य राखेको अध्यक्ष ठकूरीको भनाइ छ । गढवा गाउँपालिकाले फूलमा आफ्नो पालिकालाई आत्मनिर्भर बनाउने अभियाननै सञ्चालन गर्न लागिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेल (विश्वास) ले बताउनुभयो । उहाँले अझै पनि गढवामा आर्गानिक फूलका माला पाइनछ भन्ने थाहा नपाउँदा मानिस भारततर्फ जाने गरेको बताउनुभयो ।
महिला समूहले उत्पादन गरेको सयपत्रि फूललाई बजारीकरणमा सहयोग पालिकाले गर्ने उहाँले बताउनुभयो । यसपटक मौसमले पनि साथ दिएकाले सयपत्री ढकमक्क फूलिरहेको छ । यस्तै गढवा गाउँपालिका वडा नम्बर ३ खैरेनी निवासी डिल्लीबहादुर रावतले तिन कठ्ठा जग्गामा पहिलो पटक व्यवसायिक रुपमा सयपत्रि फूलको खेती सुरु गर्नु भएको छ । उहाँले लगाएको पन्ध्रसय स्थानिय जातको सयपत्रि फूल ढकमक्क फूलेका छन् । उहाँले परम्परागत रुपमा तरकारी खेती गर्दै आएको जग्गामा पहिलो पटक फूलको खेती सुरु गरेको बताउनुभयो । त्यसैगरी लमही नगरपालिका र गढवा गाउँपालिकाले विज्ञाप्ती जारी गर्दै प्लाष्टिकजन्य माला विक्री गर्न रोक लगाएको छ ।।