दाङको विकास गर्न नागरिक सरोकार समितिले अनसन, पैदल यात्रा देखि आमरण अनसनसम्म बस्ने

घोराही, ३० असोज । दाङलाई समृद्ध, व्यवस्थित, विकसित गराउनका लागि दबाब दिने, नागरिकको सबै खाले अधिकार सुनिश्चित गर्न दबाब दिने उद्देश्यले गठन गरिएको नागरिक सरोकार समितिले गठन भएको केही समयमा नै पहिलो चरणमा जिल्लाको समग्र विकासका लागि अनसन, पैदल यात्रा देखि आमरण अनसनसम्म बस्ने योजना अगाडी सारेको छ ।

समितिको तर्फबाट संयोजक सरिता देबकोटाले मंगलबार विज्ञप्ति जारी गरी दाङ सबै किसिमले सम्भावना बोकेको जिल्ला भएपनि विभिन्न कारणले पछि परेकाले आफूहरुले सरोकार समिति मार्फत राज्यका निकायहरुलाई सुझाबसहित खबरदारी गर्नका लागि अनसन, पैदल यात्रा देखि आमरण अनसनसम्मको कार्यक्रम तय गरेको जानकारी गराउनु भएको छ ।

सरोकार समितिकी संयोजक देबकोटाद्वारा जारी विज्ञप्तिमा तुलसीपुर–घोराही–लमही सडक मोटर बाटो तत्काल मर्मत गर्नुपर्ने, दाङलाई काठमाडौंलगायतका स्थानसँग सिधा जोड्नका लागि गुणस्तरिय विमानस्थल तत्काल व्यवस्था गर्नुपर्ने, दाङमा रहेका सबै अस्पतालमा दक्षजनशक्ति र उपकरणको व्यवस्था गरी दाङका अस्पताललाई रिफर अस्पतालबाट सुविधा सम्पन्न अस्पतालमा रुपान्तरण गर्नुपर्ने मख्य सुझाबहरु उल्लेख गरिएको छ ।

यी सबै कार्यलाई मूर्तरुप दिनका लागि सरोकारवाला निकायलाई दबाब दिनेउद्देश्यले नागरिक सरोकार समितिले कार्तिक ३ गते घोराहीस्थित तुलसीपुरचोकमा अनसन तथा अन्र्तक्रिया कार्यक्रम गर्ने, मंसिर ३० गते घोराही–तुलसीपुर– लमही पैदलयात्रा गर्ने, फागुण ३० गतेदेखि आमरण अनसन बस्ने कार्यक्रम तय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।