दाङ, २३ असोज । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले वर्तमान सरकार जनताप्रति उत्तरदायी नभएको टिप्पणी गर्नु भएको छ । इजरायलमा भइरहेको हमलामा परेर घाइते भएकाहरूका विषयमा पनि सरकारले चासो नदिएको पोखरेलले बताउनु भयो ।
‘९ जना भन्दा बढि विद्यार्थी घाइते भएका छन् ।
२ जनाको अवस्था गम्भीर छ । आफ्ना नागरिकहरूको अवस्था के छ भन्ने बारे पनि जानकारी छैन । दूतावासमा मात्रै सम्पर्क गरेको भन्ने सरकारको जिम्मेवारी यत्ति हो’, उहाले भन्नुभयो, ‘यो सरकार जनता प्रति, नागरिक प्रति जिम्मेवारी छैन भन्ने कुरा यहि घटनाले पुष्टि गर्छ ।’
जनताको विकास र समृद्धिको आधार तय गरिरहेको बेला आफ्नै पार्टीको सरकारलाई एक्लाउन लागेकाहरूलाई जनताले राष्ट्रिय पार्टी समेत नबनाएको टिप्पणी गर्नुभयो । महासचिव पाखरेलले एमाले पहिलो पार्टी मात्रै भएर नहुने भन्दै अब एकल बहुमतको सरकार बनाउन सक्ने गरी अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।
नेकपा एमाले पहिलो पार्टी मात्रै भएर हुँदैन । हामी पहिलो पार्टी हुँदा हुँदै पनि हामीले केन्द्र र प्रदेशमा हामीले सरकार बनाउन सकेका छैनौँ । त्यसको अन्त्यको लागि कसैको सहारा विना एक्लै बहुमत प्राप्त पार्टीको लागि नेकपा एमाले बनाउनु पर्छ उहाले भन्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको विदेश भ्रमणबाट देशलाई कुनै फाइदा नहुने महासचिव पोख्रेलले बताउनु भयो ।
‘उहाँ भ्रमण गरेर स्वागत लिएर फर्किनु भयो देशको लागि केही गर्नु भएन । उहाँ देशको लागि होइन विदेशको लागि कन्फर्टेबल हुनुहुन्छ’, उहाँले भन्नुभयो, ‘देश र जनताको लागि एमाले बाहेक अरू कुनै पनि पार्टीले केही गर्न सक्दैनन् ।’
नेपाल लोकतान्त्रिक थारु संघको लुम्बिनी प्रदेशको प्रथम सम्मेलनलाई उद्घाटन गर्दै महासचिव पोख्रेलले थारु समुदायले मुलुकको समृद्धि र विकासको खेलेको भूमिकाको प्रशंशा गर्नुभयो । परिवर्तनकामी आन्दोलनमा थारु समुदायको ऐतिहासिक भूमिका रहेको बताउँदै नेपालका आदिबासी भूमीपुत्र थारु समुदायलाई राज्यको सबै क्षेत्रमा नेतृत्वदायि भूमिकामा पु¥याउनुपर्ने धारणा राख्नुभयो । नेकपा एमालेको अहिलेको मुख्य लक्ष्य पार्टी सुदृढिकरण, एकताबद्ध बनाएर आउँदो २०८४ सालमा हुने सबै निर्वाचनमा पहिलो शक्ति बन्ने तर्फ केन्द्रीत भएको पोख्रेललको टिप्पणी थियो । एमाले सांगठनिकरुपमा सबै तहका अधिवेशनहरु सम्पन्न गरेर नयाँ सिराहबाट जनतामाझ जाने चर्चा गर्दै पार्टी जीवनमा भएको लोकतान्त्रिक अभ्यासलाई गलत ढंगबाट व्याख्या गरी पार्टीमा तिकतता उत्पन्न गराउन चाहने शक्तिहरु यतिबेला चलखेलमा लागेको आरोप लगाउनुभयो । कुनै पनि हालतमा एमालेलाई कमजोर बनाउन वा फुटाउन कसैले नसक्ने बताउँदै एमालेको सबै तहको अधिवेशन लोकतान्त्रिक विधिबाटै हुने बताउनुभयो ।
सो अबसरमा नेकपा एमालेका पोलिटव्यूरो सदस्यहरु नरुलाल चौधरी, शान्ता चौधरी, लुम्बिनी प्रदेश सहसचिव पूर्णबहादुर पुन, एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत, भुवन चौधरीलगायतकाले बोल्नु भएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट आएका थारु समुदायका युवायुवतीले थारु गीतनृत्य समेत प्रस्तुत गरेका थिए ।