रुकुमपश्चिम, असोज । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । आइतबार प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बाँफिकोट गाउँपालिका–२ निवासी वीरबहादुर केसीलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरी औपचारिक रूपमा परिचय पत्र वितरण कार्यको सुरुवात गर्नुभएको हो ।
रुकुम पश्चिममा २०७७ साल कात्तिक महिनादेखि राष्ट्रिय परिचयपत्र प्रयोजनका लागि विवरण सङ्कलन सुरु गरिएको थियो । सोही विवरणको आधारमा तयार भएको डिजिटल परिचयपत्र आइतबारबाट वितरण गर्न थालिएको हो ।
सेवाग्राहीलाई परिचयपत्र वितरण गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी पन्तले राष्ट्रिय परिचयपत्रकै आधारमा भोलिका दिनमा सेवाग्राहीको काम सहज हुने बताउनुभयो । ‘‘अहिलेलाई जिल्लामा राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य छ,’’ प्रमुख जिल्ला अधिकारी पन्तले भन्नुभयो, ‘‘राज्यले यसलाई अब मालपोत, बैङ्किङ कारोबार, यातायात सेवा लगायतका कार्यमा बिस्तारै जोड्दै लैजाने नीति लिएको छ ।’’ नागरिकको सेवा सुविधा सहित अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्त्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो ।
अन्य विवरणहरू क्रमशः यसैमा समावेश गर्दै लैजाने र पछि सबै सेवा प्राप्त गर्न अनिवार्य हुने अवस्था बन्ने भएकाले सबैलाई राष्ट्रिय परिचयपत्र लिन प्रजिअ पन्तले अनुरोध गर्नुभयो । परिचयपत्रमा व्यक्तिगत विवरणसहित जैविक विवरणअन्तर्गतका औँठा छाप, दुई वटा आँखाको नानीको फोटो, अनुहारको डिजिटल फोटो, हस्ताक्षर समावेश गरिएको हुन्छ । राहदानी बनाउन आउनेले अनिवार्य रूपमा पहिला राष्ट्रिय परिचयपत्रको विवरण भरेको हुनुपर्ने नियम छ ।
जिल्लाका ७३ वटै वडामा शिविरमार्फत ६५ हजार विवरण सङ्कलन गरिएको थियो भने जिल्ला प्रशासन कार्यालयमा १८ हजार जनाको विवरण सङ्कलन भएको थियो । पहिलो चरणमा कार्यालयबाट सङ्कलन गरिएकाहरू मध्य १० हजार चार सय जनाको परिचय पत्र आइपुगेको जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र शाखाले जनाएको छ ।
परिचयपत्र जिल्लामा आइपुगेपछि कार्यालयले व्यक्तिलाई राष्ट्रिय परिचयपत्रको फोटो खिँचाउँदाका बेला उपलब्ध गराएको सम्पर्क नम्बरमा म्यासेज पठाउने गरेको छ । म्यासेज प्राप्त भएका सेवाग्राहीले आफ्नो नागरिकताको सक्कल प्रमाणपत्र र राष्ट्रिय परिचयपत्रको फोटो खिचाएपछि दिएको विवरण कागज लिई आउनुपर्ने प्रशासन कार्यालयले जनाइएको छ ।