शिवु खनाल
देउखुरी, १५ असोज
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को तीनमहिने ‘जनतासँग विशेष रूपान्तरण अभियान’ अन्तर्गत गाउँ–गाउँमा पुगेर पार्टी सदस्यता नवीकरण र वितरण गर्ने कार्य भइरहेको छ ।
‘घर घरमा माओवादी, जनजनमा माओवादी’ नारा बोकेर नेकपा (माओवादी केन्द्र)का नेता तथा कार्यकर्ता भदौ १६ देखि गाउँ पसेका हुन् । अभियानले रूपान्तरण सहितको माओवादी बनाउने लक्ष्य लिएको नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सदस्य अमर कवर (नविन)ले बताउनुभयो । सोमबार मात्रै अभियान लिएर भारतसंग सीमा जोडिएको दाङको राजपुर गाउँपालिका अन्तरगत रहेका विभिन्न सीमावर्ती क्षेत्रमा पुगेको उहाँले बताउनुभयो ।
सबैभन्दा पहिला पार्टीको आन्तरिक शक्ति समस्या, समाधानमा नेता केन्द्रित भएको देखिन्छ । उहाँका अनुसार माओवादीबाट निर्वाचित जनप्रतिनिधि र जनवर्गीय संगठनका पदाधिकारी र कार्यकर्तालाई प्रशिक्षण र चलायमान गर्ने योजना माओवादी केन्द्रको रहेको बताउनुभयो । उहाँले जनतासँग टुटेको पार्टी सम्बन्धलाई जोड्ने, सुधार्ने गतिविधि सीमावर्ती क्षेत्रमा भइरहेको बताउनुभयो ।
पछिल्लो समय यता सीमावर्ती क्षेमा माओवादी नेता, कार्यकर्ताको सक्रियता बढेको छ । नेकपा (माओवादी केन्द्र)का लुम्बिनी प्रदेश कमिटी सदस्य बसन्त शर्मा (विक्रान्त)ले युवा वर्गलाई समेट्ने गरी नयाँ नयाँ कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । राजनीतिक दलसँग अन्तक्रिया, जनसंगठन तथा मोर्चा प्रशिक्षण, वडादेखि पालिकासम्मका विस्तारित बैठक सम्पन्न भइसकेका छन् । उहाँले भन्नुभयो,–। ‘पार्टी सदस्यता, नवीकरण, वितरण, विवरण संकलन लगायतका काम गरिरहेका छौँ ।’ नेकपा (माओवादी केन्द्र) सबैभन्दा कमजोर देखिएका गाउँमासमेत अभियानले गति लिँदै गएको छ । युवाहरुको कमान्डमा माओवादीले जिल्लामा अभियान सशक्त बनाइएको छ । अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहनुका साथै, टोल कमिटीका बैठक सञ्चालन भइरहेका छन् ।
अभियानले जनता र कार्यकर्तामा एउटा तागत पैदा गरेको छ, उत्साह बढेको छ ।
त्यसैगरी गढवा र राजपुर गाउँपालिका अन्तरगत विभिन्न गाउँ, टोल, बस्तीमा रहेका जनसमुदायहरुलाई पार्टीले गरेका राम्रा कामका सकारात्मक सुझावहरु दिने गरिएको छ भने पार्टीको नकारात्मक सुझावहरु जनताबाट लिने गरिएको नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सदस्य अमर कवर (नविन)ले बताउनुभयो ।।