दाङ, असोज । तुलसीपुर उपमहानगरपालिका ९ की ६४ वर्षीया टिकादेवी ढकाल अहिले कक्षा ३ मा पढ्दै आएकी छन् । यस वर्ष मावि दोघरे तुलसीपुरमा उनी शुरुमा कक्षा १ मा भर्ना भइन् । जीवनमा पहिलो पटक विद्यालय पढ्न आएकी उनले पहिलो परीक्षामा राम्रो अङ्क ल्याएपछि अहिले कक्षा ३ मा पढ्दै आएकी छन् ।
सामान्य बाह्रखरी सम्म मात्र पढ्न जानेकी उनले अहिले राम्रोसँग किताब पढ्न सक्छिन् । घरमा केही काम नभएको र दिनभर मोबाइल वा छिमेकीहरूसँग गफ गरेर समय बिताउनु भन्दा समयको सदुपयोग गर्नको लागि विद्यालयमा पढ्न आएको उनको भनाइ छ । उनले भनिन्,‘ म एक दिन पनि विद्यालय जान पाएकी थिएन ।पढ्न रहर भएपनि हाम्रो समयमा छोरीलाई पढाउँदैन्थे। अलिअलि छोराछोरीसँग पढ्ने बेला हेरेर बाह्र खरीसम्म जान्ने भएकी थिए ।’
अहिले घरमा केही काम नभएको फुर्सदमा भएका कारण बालपनको पढ्न इच्छा पुरा गर्न विद्यालय आएको समेत उनले बताइन् । छिमेकीहरूले झोला बोकेर कता जान लागेको भनेर सोध्दा कहिँले माइत, कहिँले बजार जान लागेको भनेर विद्यालय आउने गरेको उनको भनाइ छ । नातिनातिना उमेरकासँग बसेर पढ्न पाउँदा राम्रो लाग्ने गरेको पनि उनले बताइन् ।
यस्तै तुलसीपुर ८ की ५२ वर्षीया डोमा भुसाल पनि कक्षा ३ मा भर्ना भइन् । उनी पनि यही विद्यालयमा यसै विद्यालयमा भर्ना भएकी हुन् । उनले पनि परीक्षामा राम्रो अङ्क ल्याएपछि उनलाई अहिले कक्षा ६ मा भर्ना गरिएको छ । आफू विद्यालय पढ्न आउँदा घरपरिवार र विद्यालयबाट पनि हौसला पाएको उनको भनाइ छ । उनले भनिन्,‘ अब पढेर मैले केही गर्न सक्दिनँ । तर, अरु केही नभएपनि शिक्षित बनौँ, भन्ने मेरो विचार हो ।’
ससाना बालबालिकासँग कक्षा पढ्दा रमाइलो हुने समेत उनको भनाइ छ । घरमा बसेर त्यतिकै समय गइरहेको अवस्थामा सबैले पढ्न जाने हौसला दिएपछि पढ्न आएको उनले बताइन् । उनले भनिन्,‘ छोराछोरी बाहिर छन् । घरमा श्रीमान र म मात्र छौँ । श्रीमानले मलाई पढ्नु पर्छ, भनेर हौसला दिनुभयो । अनि पढ्न थालेकी हुँ । ’
यस्तै बबई गाउँपालिका ५ सिमगैराका रिम बहादुर खड्का अहिले कक्षा ६ मा पढ्दै आएका छन् । उनले गत वर्षदेखि पढ्न शुरु गरेका थिए । सानोमा पढ्न नपाएको भएयता पनि पढाइलाई उमेरले नछेक्ने भन्दै यो उमेरमा पढ्न थालेको उनले बताए ।
९० वर्षीय कक्षा १ मा पढ्दै
तुलसीपुर उपमहानगरपालिका २ का प्रेम बहादुर डाँगी उमेरले ९० वर्ष पुग्न लागे । जीवनमा विद्यालयमा पाइला नटेकेका उनी चालु शैक्षिकसत्र सत्रदेखि विद्यालयमा भर्ना भएका छन् । तुलसीपुर १ भ्युडर सुनपुरमा रहेको विरेन्द्र माविमा कक्षा १ मा भर्ना भएका उनी अहिले नियमित विद्यालय आउने गरेका छन् ।
वरिपरि पनाति पनातिनी उमेरका सहपाठीसँगै बसेर दिनभर पढ्ने गरेका छन् । पहिलो पटक विद्यालयमा पढ्न आएका उनले नेपाली राम्रोसँग पढ्न सक्छन् । एउटा आँखाले मात्र देख्ने डाँगीले विना चस्मा अक्षर चिन्ने गरेका छन् । गाउँमा युवाहरू जति विदेश गएका र आफ्ना उमेरका दौतरी नभएपछि दिन बिताउन समस्या भएकाले विद्यालयमा पढ्न आएको उनले बताए ।
उनले भने,‘ मेरा दौतरी गाउँमा कोही छैन् । युवाहरू विदेश तिर गए । अलि तन्नेरी उमेरले मलाई पत्याउँदैनन् । दिनभर घरमा एक्लै बस्दा निन्द्रा लाग्छ । दिउँसो सुते राती निद्रा लाग्दैन । त्यो भएर पनि पढ्न आएको छु । विद्यालयमा आउँदा पनाति पनातिनी उमेरकासँग पढ्दा, खेल्दा रमाइलो लाग्छ । ’ उनका अनुसार आफ्नो बाल्यकालमा विद्यालय नहुँदा गाउँ मै जानेका व्यक्तिहरूसँग सामान्य पढ्ने लेख्ने पाइएको थियो ।
शिक्षकहरूलाई बुवा आमा सरहका विद्यार्थी पढाउन अप्ठेरो
स–साना बालबालिका पढाउने शिक्षकहरूलाई भने बुवा आमा सरहका विद्यार्थी पढाउन शुरुमा अप्ठेरा लागेको भएयता पनि विस्तारै बानी पर्दै गएको बताउँछन् । साना विद्यार्थीहरू भन्दा उनलाई छुट्टै व्यवहार गर्नु पर्ने भएकाले उप्ठेरो लाग्ने विरेन्द्र माविका शिक्षक मञ्जित वलीले बताए ।
उनले भने,‘ हाम्रो लागि उहाँ बुवा नै हो । साना बालबालिकाहरूलाई कुनै कुरामा हप्काउनु पर्ने हुन्छ । तर, उहाँलाई हप्काउन पनि सकिदैन । तर, उहाँले पढाएको छिट्टो बुझ्नु हुन्छ । त्यसले गर्दा पनि सहज भएको छ । शुरु शुरुमा केही अप्ठेरै लागेको भएयता पनि अहिले अलि सहज भइरहेको भन्दै उनले आफूहरूले उहाँलाई नेपाली भन्दा अंग्रेजी सिकाउने गरेको समेत बताए ।
उनका अनुसार डाँगीले नेपाली र गणित पढ्न सक्ने भएकाले पनि कक्षामा पढाउन आउने शिक्षकहरूले अंग्रेजी सिकाउँदै आएका छन् । यस्तै उनका अनुसार समाजले उहाँलाई नराम्रो दृष्टिले हेरेको भएयता पनि ९० वर्षको उमेरमा नियमित रुपमा विद्यालय आउँदा एक उदाहरणीय बन्नु भएको छ । शिक्षा भनेको एउटा अमूल्य चिज भएको भन्दै उनले डाँगीले यो उमेर हुँदा पनि शिक्षा लिन खोज्नु नै सकारात्मक कुरा भएको समेत बताए ।
यस्तै मावि दोघरेकी शिक्षिका रिता शर्माले पनि आमा सरहका विद्यालय पढ्न आएपछि शुरुमा पढाउन अप्ठेरो लागेको भएयता पनि अहिले विस्तारै सहज हुँदै गएको बताइन् । आमाहरूलाई नेपाली भन्दा अङ्ग्रेजीमा समस्या हुने गरेको उनको भनाइ छ । यस्तै उनले पढ्न इच्छा भएपछि उमेरले नछेक्ने समेत बताइन् ।
शुरुमा विश्वास लागेन ः प्रअ घर्ती
विरेन्द्र माविका प्रधानाध्यापक टोप बहादुर घर्तीले डाँगी शुरुमा भर्ना हुन आउँदा आफूहरूलाई विश्वास नलागेको समेत बताए । उनले भने,‘ उहाँ लौरो टेकेर विद्यालय आउनु भएको थियो । हामीलाई पनि उहाँ आफ्ना कसैलाई भर्ना गर्न आउनु भएको जस्तो लागेको थियो । तर, उहाँले आफू नै भर्ना हुन आएको भनेपछि हामी चकित भयौँ । हामीले हाँसो मजाक गर्नु भएको होला, जस्तो लागेको थियो । तर, उहाँ वास्तव मै भर्ना हुन आउनु भएको रहेछ ।’
उनका अनुसार नेपाल सरकारले शिशु कक्षाको लागि ४ वर्ष उमेर तोकेको र त्यो भन्दामाथि जति वर्षको भएपनि भर्ना लिन मिल्ने भएकाले उनलाई कक्षा १ मा भर्ना गरेर किताब दिएको हो । शुरुमा नाम कमाउनको लागि भर्ना भएको हो की ? जस्तो आफूहरूलाई लागेको भएयता पनि विद्यालय सञ्चालन भएदेखि इमर्जेन्सी काम बाहेक अन्य दिन नियमित रुपमा विद्यालय आउँदा आफूहरूले सोचे जस्तो नभएको समेत उनको भनाइ छ ।
भव्य रुपमा स्वागत गरेका थियौँ ः प्रअ यादव
मावि दोघरेकी प्रधानाध्यापक सुनिता यादव विद्यालयमा शुरुमा ढकाल आमा भर्न हुन आउँदा भव्य रुपमा स्वागत गरेको बताइन् । यो उमेरमा आएर पढ्न लाग्दा पढाइबाट बञ्चित भएकाहरूलाई पनि उहाँहरूको कारणले प्रेरणा मिलेको उनको भनाइ छ । यस्तै उनले विद्यालयले आमाहरूलाई पढाउन पाएकोमा खुशी भएको समेत बताइन् ।
उनका अनुसार ढकाललाई शुरुमा कक्षा १ मा भर्ना गरिएको थियो, भने भुसाललाई ३ मा भर्ना गरिएको थियो । दुबै जनाले पहिलो परीक्षामा राम्रो अङ्क ल्याएपछि पछि कक्षा बढाइएको हो । यस्तै ढकाल आमा विद्यार्थी मात्र नभई योग प्रशिक्षक भएको हुँदा पनि आफूहरूलाई थप फाइदा भएको समेत उनले बताइन् ।
उनले भनिन्,‘ अहिले स्थानीय पाठ्यक्रममा योगको बारमा पनि राखिएको छ । योगका बारेमा उहाँले कहिँले काहीँ कक्षा लिनु हुन्छ । यो हाम्रो लागि गर्वको कुरा हो । ’ यस्तै उनले पाका उमेरका पढ्न चाहने ब्यक्तिहरूलाई अतिरिक्त कक्षा दिन तयार रहेको पनि उल्लेख गरिन् ।