आइटी तर्फ मावि तुलसीपुर सेन्टर, देशमै प्रथम

दाङ,  साउन । सूचना प्रविधि इन्जिनियरिङ (आइटी) तर्फ ११ वटा कलेजलाई पछि पार्दै माध्यामिक विद्यालय तुलसीपुर सेन्टर देशकै उत्कृष्ट भएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदले २०८० साउन १० गते प्रकाशित गरेको सूचना प्रविधि इन्जिनियरिङ तीन वर्षे डिप्लोमा तहको नतिजा अनुसार मावि सेन्टरले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै प्रथम स्थान हासिल गरेको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिनुभयो । शिक्षकहरूको मेहनत र विद्यार्थीको पढाई प्रतिको लगनशीलताका कारण विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएको प्रअ पौडेलले बताउनुभयो ।

आइटीमा अध्ययनरत २६ जना विद्यार्थी मध्य २६ जना विद्यार्थी नै उत्तीर्ण भएका छन् । देशभर आइटी विषय पढाउने विद्यालयहरू ११ वटा मात्रै छन् । दाङको सन्दर्भमा दाङको राप्ती गाउँपालिकामा रहेको आदर्श मोडेल सेकेन्डरी स्कुलमा अध्ययनरत ११ जना विद्यार्थी मध्य ७ जना उत्तीर्ण भएका छन् भने घोराहीको सरस्वती सेकेन्डरी स्कुल भरतपुरमा अध्ययनरत १५ जना विद्यार्थी मध्य ९ जना उत्तीर्ण भएका छन् ।

मावि सेन्टरमा सर्भे इन्जिनियरिङ ३ वर्षे डिप्लोमा, सूचना प्रविधि इन्जिनियरिङ, ३ वर्षे डिप्लोमा, इलेक्ट्रिकल इन्जिनियरिङ ४ वर्षे कक्षा ९ देखि १२ सम्म पढाई भइरहेको छ । त्यसैगरी प्रि डिप्लोमा २४ महिने आइटी र इलेक्ट्रिकल निशुल्क रुपमा पढाइभइरहेको छ ।

यो पढ्ने विद्यार्थीलाई उल्टै विद्यालयले पोशाक वापत ५ हजार र वार्षिक ४० देखि ५० हजार रुपैयाँ खाजा वापत उपलब्ध गराउँदछ । विद्यार्थीको संख्या, उत्तीर्ण प्रतिशत लगायतका विभिन्न क्षेत्रमा अब्बल भएका कारण मावि सेन्टर मेघा विद्यालयको सूचीमा समेत परेको छ ।