७ वैशाख, दाङ । नेकपा माओवादी केन्द्रले घोराही उपमहानगरको मेयर उम्मेदवारमा हेमराज शर्मा पोख्रेल ‘डायमण्ड’लाई सिफारिस गरेको छ ।
सत्ता गठबन्धनबाट घोराही उपमहानगरपालिका माओवादीको भागमा परेपछि शर्मालाई उठाउने तयारी गरिएको घोराही नगर कमिटीका इन्चार्ज निर्मल महारा एटमले जानकारी दिए । बुधवार माओवादी केन्द्रले घोराही उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवारमा ‘डायमण्ड’को नाम सिफारिस गरिएको उनले बताए ।
बुधवार केन्द्रबाट ढिलो परिपत्र आएकाले गठबन्धनको बैठक भोली बस्ने पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्यले बताए । भोली बस्ने बैठकले घोराहीमा गठबन्धनबाट शर्मालाई साँझा उम्मेदवार घोषणा गर्ने उनले बताए ।
यसअघि माओवादी केन्द्रबाट जीवन गौतमको नाम चर्चामा थियो । पार्टीका जिल्ला इन्चार्ज समेत रहेका गौतम ०७४ सालको चुनावमा मेयरमा उठेर पराजित भएका थिए ।
उनी यसपटक पनि घोराही उपमहानगरको प्रमुख पदको आकांक्षी र बलियो दाबेदार मानिन्थे । तर गौतमले माओवादीले कम्युनिस्ट आदर्श गुमाइसकेको भन्दै पार्टी परित्याग गरेको घोषणा गरिसकेका छन् ।
माओवादी केन्द्रमा गौतमपछि शर्मा दोस्रो आकांक्षी थिए । नेता शर्मा माओवादी विभाजन हुँदा मोहन वैद्य किरणको साथमा थिए । पछि नेता बादलसँगै उनी माओवादीमा फर्केका थिए । उनी नेता कृष्णबहादुर महरा निकट मानिन्छन् ।
यता, कांग्रेसबाट घोराहीमा भुपबहादुर डाँगी आकांक्षी थिए । केन्द्रमा भएको सत्ता गठबन्धनको निर्णय अनुसार घोराहीमा कांग्रेसले उपप्रमुख पाएको छ ।स्रोत :अनलाइन खबर